
News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य विभागले १२ फर्म र उद्योगलाई अनुगमन गरी ४ लाख ४५ हजार रुपैयाँ जरिबाना तिराएको छ।
- दुई कम्पनीले एमआरपी नराख्नु, रिलेबलिङ र हेरफेर गरेको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ।
- अनुगमन क्रममा थप ६ कम्पनीलाई कागजात ल्याउन र २ उद्योगलाई व्यावसायिक मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ।
११ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार २ उद्योग तथा फर्मलाई ४ लाख ४५ हजार रुपैयाँ जरिबाना तिराएको छ । बुधबार विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत १२ वटा फर्म तथा उद्योग अनुगमन गरेको थियो ।
अनुगमन क्रममा काठमाडौं महानगरपालिका–४ को रायन राजिल इन्टरनेसनललाई २ लाख ४० हजार रुपैयाँ र ललितपुर महानगरपालिका–४ को जय बालाजी टायर सेन्टर प्रालिलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जानकारी दिएको छ ।
ती दुई कम्पनीले आफ्ना उत्पादनमा एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको विभागको भनाइ छ ।
यस्तै विभागले काठमाडौं महानगरपालिका–१४ को निर्जरा ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर प्रालिको कारोबार रोक्का गरी ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
अनुगमन क्रममा ६ वटा कम्पनी, उद्योग तथा फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
यस्तै विभागले एक उद्योग तथा फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम व्यावसायिक मापदण्ड पूरा गरी व्यापार व्यवसाय सञ्चालन गर्न र २ उद्योग तथा फर्मलाई सामान्य निर्देशन दिएको छ ।
पछिल्लो समय विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपी सहित लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ ।
प्रतिक्रिया 4