+
+
Shares

बजेट विवादले बागमती प्रदेशसभा बैठक स्थगित, अब असार १६ गते बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १३:२९

१२ असार, हेटौंडा । बागमती प्रदेश सभाको बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।

संसद सचिवालयले बैठक स्थगित हुनुमा ‘विशेष कारण’ भनेको छ । तर बजेटमा सत्तापक्षकै सांसदको तीव्र विरोधका कारण बैठक सरेको स्रोतले बतायो ।

बुधबार बेलुका बसेको कांग्रेस संसदीय दलको बैठकमा नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्यहरुले बजेटप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको चर्को आलोचना गर्दै गरेका थिए ।

बुधबार राति अबेरसम्म बसेको संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले मुख्यमन्त्री लामा र आर्थिक मामिलामन्त्री काफ्लेले आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको भन्दै आलोचना गरेका हुन् । उनीहरुले बजेटमा बिचौलिया हाबी भएको र बिचौलियाको स्वार्थअनुसार बजेट विनियोजन भएको आरोपसमेत लगाएका थिए ।

साथै बागमती प्रदेशको बजेटमा गण्डकी प्रदेशको पूर्वी नवलपरासीको कावासोती क्षेत्रमा पनि बजेट विनियोजन गरिएकोमा पनि सांसदहरुले विरोध जनाएका थिए । बजेटको रातो किताबमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ स्थित शिव मावि परिसर र आसपासका क्षेत्रमा पूर्वाधार निर्माण गर्ने उल्लेख छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिकामा १९ वटा वडा मात्रै भए पनि वडा नम्बर २० र २२ उल्लेख गरेर बजेट विनियोजन भएकोमा पनि सांसदहरुले विरोध जनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?