
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्यहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री बहादुर सिंह लामा र मन्त्री कुन्दनराज काफ्लेलाई आलोचना गरे।
- संसदीय दलको बैठकमा सांसदहरूले बजेटमा बिचौलिया हाबी र स्वार्थअनुसार वितरण भएको आरोप लगाए, र छानबिनको माग गरे।
- मन्त्री काफ्लेले बजेटमा गलत नभएको दाबी गरे भने मुख्यमन्त्री लामा सबै योजनाहरू समावेश भएको बताउनुभयो।
१२ असार, हेटौंडा । नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्यहरुले बजेटप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको चर्को आलोचना गरेका छन् ।
बुधबार राति अबेरसम्म बसेको संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले मुख्यमन्त्री लामा र आर्थिक मामिलामन्त्री काफ्लेले आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको भन्दै आलोचना गरेका हुन् ।
उनीहरुले बजेटमा बिचौलिया हाबी भएको र बिचौलियाको स्वार्थअनुसार बजेट बिनियोजन भएको आरोपसमेत लगाएको एक सहभागीले बताए । ‘बजेटमा बिचौलिया छिरेर स्वार्थअनुसारको बजेट पारे, बजेटमा उनीहरु हाबी भए । तर हाम्रा योजनामा बजेट परेन भनेर माननीयज्यूहरुले कुरा उठाउनु भएको थियो,’ एक सांसदले अनलाइनखबरसँग भने ।
सांसदहरु छिरिङ दोर्जे लामा, प्रभात तामाङ, श्रीराम लामिछानेलगायतका सांसदहरुले संसदीय दलको बैठकमा कडा प्रतिक्रिया राखेको स्रोतले बतायो ।
गण्डकी प्रदेशको जिल्लामा पनि बागमतीको बजेट
बागमती प्रदेशको बजेटमा गण्डकी प्रदेशको पूर्वी नवलपरासीको कावासोती क्षेत्रमा पनि बजेट विनियोजन गरिएको भन्दै सांसदहरुले विरोध जनाएका थिए । बजेटको रातो किताबमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ स्थित शिव मावि परिसर र आसपासका क्षेत्रमा पूर्वाधार निर्माण गर्ने उल्लेख छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिकामा १९ वटा वडा मात्रै भए पनि वडा नम्बर २० र २२ उल्लेख गरेर बजेट विनियोजन भएकोमा पनि सांसदहरुले विरोध जनाएका थिए ।
आफूहरुले दिएको योजनामा बजेट नपरेको तर नदिएको योजनामा बजेट परेको भन्दै उनीहरुले कसको स्वार्थले त्यस्तो भयो भनेर प्रश्न गरेका थिए । यस विषयमा छानबिन गर्नुपर्ने माग पनि उनीहरुले गरेका थिए । टुक्रे योजना समावेश नगर्ने नीति लिँदा पनि धेरै टुक्रे योजना कसरी आयो ? भन्दै सांसदहरुले प्रश्न गरेका थिए ।
बजेटमा एउटै योजना दोर्याएर समावेश भएको, कार्यक्षेत्र नभएका मन्त्रालयमा बाहिरका योजना पनि परेकाले सांसदहरुले बजेट निर्माणको प्रक्रिया, बजेटको विश्वसनीयता र कार्यान्वयन पक्षमाथि प्रश्न उठाएका थिए ।
सांसदहरु छिरिङ दोर्जे लामा, प्रभात तामाङ, श्रीराम लामिछानेलगायतका सांसदहरुले संसदीय दलको बैठकमा कडा प्रतिक्रिया राखेको स्रोतले बतायो ।
बजेटमाथि सांसदहरुले मात्रै गुनासो राखेनन्, मन्त्रीहरुले पनि आरोपसहितको गुनासो पोखेका थिए । आर्थिक मामिला मन्त्रालयले समयमै सिलिङ नदिएको, कम सिलिङ दिइएको, मन्त्रालयहरुको बजेटमा आर्थिक मामिला मन्त्रालयले खेलेको आरोप लगाएका थिए ।
बुधबार रातिको संसदीय दलको बैठकमा चर्काचर्की परेपछि विहीबार बिहान पुन: बस्ने गरी बैठक स्थगित गरिएको थियो । कांग्रेस संसदीय दलको बैठक लम्बिन सक्ने भएकाले ११ बजे बस्ने तय भएको प्रदेश सभा बैठक पनि केही समय पछि सर्ने सम्भावना रहेको स्रोतले बतायो ।
मन्त्री काफ्लेलाई र्याखर्याख्ती
सांसदहरुका अनुसार दलको बैठकमा मुख्यमन्त्री लामालाई भन्दा पनि आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेप्रति सांसदहरु रुष्ट बनेका थिए । उनले आफ्नो गृहजिल्ला दोलखामा बढी बजेट पारेको आरोप असन्तुष्ट सांसदहरुको छ ।
मन्त्री काफ्लेलाई ‘बागमती प्रदेशमा दोलखा मात्रै जिल्ला छ ?’ भन्दै सांसदहरुले प्रश्न गरेका थिए । उनीहरुको प्रश्न थियो, ‘अर्थमन्त्री भएर अलिअलि बजेट लैजाने स्वभाविक हो । यो त अस्वाभाविक तरिकाले बजेट गएको छ । यो कस्तो बजेट हो ?’
काफ्लेलाई लक्षित गर्दै बजेटमा बिचौलिया हाबी भएको आरोप सांसदहरुले लगाएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री काफ्लेले बजेटमा गलत नगरेको दाबी गरेका थिए । सांसदहरुले आशंका गरे जस्तो बजेटमा कुनै कमजोरी नभएको उनको भनाइ थियो ।
मुख्यमन्त्री लामाले के भने ?
मुख्यमन्त्री लामाले सबै सांसदहरुको योजना समावेश भएको बताएका छन् । ‘माननीयज्यूहरुले बजेट किताब पूरै अध्ययन नगरेको हो की ?’ भन्दै लामाले प्रश्न गरेका थिए ।
बजेट निर्माणको समय तलमाथि परेको हुनाले केही सांसदहरुको योजना नपरेको हुन सक्ने बताउँदै उनले सांसदहरुका सकेसम्म धेरै योजना समेटिएको लामाको भनाइ थियो । योजनामा डुप्लिकेसन भए सुधार गर्ने प्रतिबद्धता पनि उनले जनाएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।
प्रतिक्रिया 4