
ब्लाकबेरी क्लासिक फोनसँग धेरै मानिसका पुराना स्मृतिहरू जोडिएका छन्। एक समय यस्तो थियो जब स्मार्टफोन बजारमा ब्लाकबेरी क्लासिक अहिलेको एप्पलजस्तै लोकप्रिय थियो। तर, एन्ड्रोइड र आइओएस फोनको आँधीबेहेरी बीच ब्लाकबेरीको यो फोन टिक्न सकेन र आफै लोप भयो। तर जमानाको लोकप्रिय फोन पुनः नयाँ अवतारमा बजारमा आउने भएको छ ।
कहिलेकाहीँ प्रविधि केवल नविनता होइन, स्मृतिको विषय पनि बन्छ। त्यही स्मृतिको पुनर्जन्मका रूपमा ब्ल्याकबेरी क्लासिक फेरि बजारमा फर्किंदैछ जुन मोबाइल फोन प्रविधिमा पुरानो प्रविधिलाई आधुनिकतासँग गाभिएको नयाँ स्वरुपका रुपमा रहनेछ।
जिन्वा टेक्नोलोजिज नामक चिनियाँ कम्पनीले क्यू २० को नामबाट लोकप्रिय बनेको ब्लाकबेरी क्लासिकलाई नयाँ ब्रान्ड नाम Zinwa Q25 का रूपमा पुनः प्रस्तुत गर्न लागेको हो । यो फोन एन्ड्रोइड अपरेटिङ सिस्टमसँगै, शक्तिशाली प्रोसेसर, आधुनिक क्यामेरा प्रणाली र पुरानो ब्ल्याकबेरीको विशेष शैलीको संगमका रुपमा रहनेछ ।
पुरानो शैली, नयाँ प्रविधि
कुनै समय व्यापारिक तथा पेसागत वर्गका बीचमा अत्यन्तै लोकप्रिय रहेको र सुरक्षाका दृष्टिले पनि निकै अब्बल मानिएको ब्ल्याकबेरी क्लासिक फोनलाई कम्पनीले नयाँ पुस्ताका प्रयोगकर्ताहरूका लागि लक्षित गरी नयाँ ब्राण्डिङका साथमा बजारमा ल्याउन लागेको हो।
मुख्य विशेषताहरू
- रेट्रो डिजाइन: ७२० गुणा ७२० पिक्सेलको टच स्क्रीन, क्लासिक क्वेर्टी कीबोर्ड, एलइडी नोटिफिकेसन लाइट अनि ब्ल्याकबेरीको परिचयको रुपमा रहेको ट्रयाक प्याड ।
- अपरेटिङ सिस्टम : एन्ड्रोइड १३ मा आधारित, आधुनिक एपहरु चलाउन सक्षम। तर, यसमा एन्ड्रोइड १४ को अपडेट उपलब्ध हुनेछैन।
- प्रोसेसर : मेडियाटेक हेलियो जी ९९-यो प्रोसेसर गेमिङ र मल्टी टास्किङका लागि पर्याप्त हुनेछ।
- र्याम / स्टोरेज: यो फोनमा १२ गिगाबाइटको र्याम र २५६ गिगाबाइटको स्टोरेज उपलब्ध हुनेछ।
- क्यामेरा : ब्लाकबेरीको यो स्मार्टफोनमा ५० मेगापिक्सेलको मुख्य र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहनेछ।
- कनेक्टिविटी : एनएफसी, युएसबी टाइप सी, ३.५ एमएम हेडफोन ज्याक, माइक्रो एसडी कार्ड सपोर्ट र एउटा मात्रै सिमकार्ड लाग्ने।
- ब्याट्री : यो फोनमा ३००० मिलिएम्पियर आवर क्षमताको ब्याट्री हुनेछ जुन सामान्य प्रयोगका लागि पर्याप्त हो ।
समाचार अनुसार Zinwa Q25 स्मार्टफोनको अनुमानित मूल्य ४०० अमेरिको डलर हुने बताइएको छ । कम्पनीले विशेष अफरअन्तर्गत पुराना ब्ल्याकबेरी प्रयोगकर्तालाई ३०० अमेरिकी डलरमा प्रयोगकर्ताले आफैं अद्यावधिक गर्नसक्ने डीआईवाई अपग्रेड किट पनि उपलब्ध गराउने योजना बनाएको छ । आगामी अगष्टमा यो फोन संसारभर उपलब्ध हुने अपेक्षा गरिएको छ ।
यो फोनसँगै कम्पनीले निकट भविष्यमै BlackBerry KEYone लाई Zinwa K25 र Passport लाई Zinwa P26 को नयाँ अवतारमा बजारमा ल्याउने तयारी गरिरहेको बताइएको छ ।
प्रतिक्रिया 4