+
+
Shares

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रानीमहल दुर्लभमध्येको एक महत्त्वपूर्ण ठाउँ भएकाले पुरानो शैली र आकारसँग सम्बन्धित सामग्री संकलन गरी गुरुयोजना बनाएर कार्यान्वयन विधि तयार पार्न पुरातत्व विभागलाई निर्देशन दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रानीमहललाई पुरानै स्वरूपमा फर्काउन र संरक्षण गर्न योजना बनाइएको छ।
  • बैठकले गुरुयोजना बनाएर पुरातत्व विभागलाई निर्देशन दिएको हो।
  • रानीमहलको संरक्षणका लागि नदी तथा पहिरो व्यवस्थापन र समन्वय आवश्यक रहेको उल्लेख भयो।

१२ असार, काठमाडौं । पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोग उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभाग महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरूपमा ल्याएर संरक्षण गर्ने र त्यसका लागि गुरुयोजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रानीमहल दुर्लभमध्येको एक महत्त्वपूर्ण ठाउँ रहेको उल्लेख गर्दै पुरानो शैली र आकारसँग सम्बन्धित सामग्री संकलन गरी अध्ययन गर्न, गुरुयोजना बनाउन र सोही अनुसार कार्यान्वयन विधि तयार पार्न पुरातत्व विभागलाई निर्देशन दिए ।

उनले ऐतिहासिक र पुरातात्विक महत्त्वलाई विशेष ध्यान दिएर नदी तथा पहिरो व्यवस्थापन र निर्माणका अरू कार्य अघि बढाउन जोड दिए ।

योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले दीर्घकालीन व्यवस्थित योजनासाथ रानीमहल र त्यस वरपरका क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताए ।

प्रतिनिधिसभा सांसद ठाकुर गैरेले कालीगण्डकी नदीले रानीमहलको जग कटान गर्नबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताए ।

सांसद नारायण आचार्यले रानीमहललाई व्यवस्थित गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न जरुरी रहेको धारणा व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले रानीमहल संरक्षणका लागि सबै क्षेत्रसँग समन्वय गरेर अघि बढ्ने बताए ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले पुरातत्व विभागले रानीमहलको पुरातात्विक र ऐतिहासिक महत्त्व जोगाएर पुनर्निर्माण गर्न सक्ने बताए ।

अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले रानीमहल संरक्षणका लागि स्रोत अभाव नहुने जानकारी दिए ।

कालीगण्डकी करिडोरका परियोजना प्रबन्धक कल्पना अधिकारीले प्रारम्भिक अध्ययनले रानीमहललाई रेट्रोफिटिङ गर्ने, नदी कटानबाट जोगाउने, पहिरो व्यवस्थापन, पुल निर्माण, पार्किङ क्षेत्र व्यवस्थित लगायत काम गर्न आवश्यक रहेको देखाएको जानकारी दिइन् ।

राणाकालीन समयमा खड्ग शम्शेरले रानी तेजकुमारी देवीको स्मृतिमा रानीमहल निर्माण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?