
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्माता संघले कलाकारको पारिश्रमिक र लगानीबारे आगामी कार्यसमिति बैठकमा छलफल गर्ने घोषणा गरेको छ।
- अध्यक्ष नवल खड्काले कलाकारको पारिश्रमिकबारे अफवाह फैलाएको र बजारले यसलाई सहन नसक्ने बताए।
- उहाँले कन्टेन्टमा विश्वास गर्न र गलत प्रचारबाट बच्न सुझाव दिए।
काठमाडौं । कलाकारले लाखौं रुपैयाँ रकम पारिश्रमिक लिएको भन्ने चर्चाले लगानीको वातावरण बिगारेको बताउँदै चलचित्र निर्माता संघले आगामी कार्यसमिति बैठकमा यसबारे छलफल गर्ने भएको छ ।
गतसाता आयोजित साधारण सभामा पनि आफूले यो कुरालाई गम्भीरतासहित उठाएको र अब बस्ने कार्यसमिति बैठकमा छलफल हुने अध्यक्ष नवल खड्काले बताए ।
साधारण सभामै खड्काले कलाकारको पारिश्रमिकबारे अफवाह नफैलाउन सदस्यहरूलाई आग्रह गरेका थिए । उक्त सभामा पनि कलाकारले पारिश्रमिक वृद्धि गरेको र यसो हुनुमा निर्माता स्वयम पनि जिम्मेवार रहेको चर्चा चलेको थियो ।
कलाकार र प्राविधिकलाई पारिश्रमिक वृद्धि गर्दा अहिलेको बजारले थेग्न नसक्ने अध्यक्ष खड्काले बताए । ‘कि कलाकार पार्टनरसिपमा बस्नुपर्छ, नत्र बजारले थेग्दैन’ उनले भने, ‘निर्माता साथीहरुले पनि जे कुरा हो, त्यो कुरा सहि भन्नुपर्यो ।’
निर्माताले ब्यापारको लागि यतिउति पारिश्रमिक दिएको भन्ने गलत हल्ला फैलाएको र यसले अन्ततः निर्मातालाई नै असर गर्ने उनले बताए । ‘विषयवस्तु र कन्टेन्टमा लगानी गर्छु भन्नु एउटा कुरा हो । गलत प्रचार भयो’ उनले भने ।
निर्माताले गलत तरिकाले पारिश्रमिकबारे भन्दा कर कार्यालयले एक्सन लिन सक्ने उनले बताए । ‘अब पारिश्रमिक भन्दा कन्टेन्टमा विश्वास गरौं ।
स्टारडममा होइन, कन्टेन्टमा विश्वास गरौं’ उनले भने, ‘एकदुईजनाले बम्पर हान्यो भने सबैले गर्छन् भन्ने हुँदैन । अब सर्वपक्षीय निष्कर्ष निकाल्नुपर्छ ।’
अब हुने कार्यसमितिको बैठकमा यसबारे घनीभूत छलफल हुने अध्यक्ष खड्काले बताए । पछिल्लो समय केही निर्माता खुलेरै कलाकारलाई यति रकम पारिश्रमिक दिएका छौं भनेर अभिव्यक्ति दिएका थिए । केहीले भने हल्ला मात्र भएको बताउन थालेका छन् ।
प्रतिक्रिया 4