+
+
Shares

बागमतीको बजेट संशोधन गर्न सत्तारुढ सांसदको दबाब

सत्ता साझेदार दल नेकपा एमालेभित्र पनि बजेटको विषयलाई असन्तुष्टि देखिएको छ । कांग्रेसभित्रको विवादले प्रदेशसभा बैठक धकेलिएपछि एमाले पनि आन्तरिक छलफलमा जुटेको छ ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८२ असार १२ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेश सरकारको बजेट विवादपछि बैठक १६ असारमा सारिएको छ।
  • सांसदहरूले बजेटमा संशोधनको माग गरे र विवाद बढेपछि बैठक स्थगित भयो।
  • सरकारले बजेटमा त्रुटि देखिएको र छलफल आवश्यक भएकाले बैठक सारिएको बताएको छ।

१२ असार, हेटौंडा । बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र बजेटको विषयमा विवाद चर्किएपछि संशोधन गर्नुपर्ने दबाब परेको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको बुधवार साँझ र आज बिहीवार बिहान ९ बजेदेखि बसेको बैठकमा सांसदहरुले बजेटप्रति असन्तुष्टि राख्दै संशोधनको माग गरेका थिए ।

दलको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेसँग सांसदहरुको नोकझोक नै परेको एक सांसदले अनलाइनखबरलाई जानकारी दिए ।

१ असारमा आर्थिक मामिला मन्त्री काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए । बजेटमाथि छलफलका लागि आज बिहीवार बिहान ११ बजे बागमती प्रदेशसभा बैठक बोलाइएको थियो । तर विवाद बढेपछि प्रदेशसभा बैठक १६ असार गतेलाई सारिएको छ ।

सभामुख भुवनकुमार पाठकले असार १६ गते दिउँसो एक बजेका लागि बैठक निर्धारण गरेको प्रदेश सभा सचिव रामकुमार पौडेलले जानकारी दिए ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा ‘विशेष कारणबश’ लेखिएको छ । तर सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका नेता एवं सांसदहरुले भने बजेटमाथिको असन्तुष्टिका कारण प्रदेशसभा बैठक सारिएको बताएका छन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले बजेटमा केही ‘मिलाउनुपर्ने’ भएकाले प्रदेशसभा बैठक सारिएको अनलाइनखबरलाई बताएए । ‘बजेटमा केही समस्याहरु आएका छन् । केही मिलाउनुपर्ने भएको छ । छलफल गर्नुपर्ने भएकाले प्रदेशसभा सारिएको हो,’ उनले भने । कानुनअनुसार बजेट संशोधनसमेत हुन सक्ने चित्रकारले संकेत गरे ।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् कांग्रेसका युवा नेता सुरजचन्द्र लामिछानेले बजेटमा त्रुटि देखिएको, सांसदहरुको गुनासो प्राप्त भएको र त्यसमाथि सत्तारुढ दलभित्र थप छलफल गरेर अगाडि बढ्नुपर्ने भएकाले बैठक चार दिनपछि सारिएको जानकारी दिए ।

‘बजेटभित्र केही त्रुटि देखिएका छन् । सांसदहरुका पनि गुनासा र असन्तुष्टि देखिएको छ । त्यसलाई कसरी सुधार गरेर जान सकिन्छ भनेर आवश्यक छलफलका लागि समय लिन प्रदेशसभा सारिएको हो,’ उनले भने ।

संघ सरकारको जस्तै बागमती प्रदेशको पनि बजेट संशोधन गर्न खोजिएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘बजेट संशोधन नै गर्ने भन्ने कुरा होइन । केही समस्याहरु आएको भएर छलफल गर्न खोजिएको हो । अब सरकारका दुई दल कांग्रेस र एमालेको साझा धारणा जे आउँछ त्यही अनुसार अगाडि बढ्ने सम्भावना छ ।’

सत्ता साझेदार दल नेकपा एमालेभित्र पनि बजेटको विषयलाई असन्तुष्टि देखिएको छ । कांग्रेसभित्रको विवादले प्रदेशसभा बैठक धकेलिएपछि एमाले पनि आन्तरिक छलफलमा जुटेको छ ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?