News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला फुटबल टोली उज्वेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेल्न गएको हो।
- कप्तानको विषयमा टोली घोषणा र बिदाइ कार्यक्रममा स्पष्ट निर्णय नभएको र चर्चाको विषय बनेको छ।
- एन्फाले कप्तान तोक्ने अधिकार प्रशिक्षकको भएको बताएको भए पनि खेलाडीहरूबीच सम्बन्ध र नेतृत्वको विषयमा अनिश्चितता देखिएको छ।
१३ असार, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली यतिखेलर एएफसी महिला एसियन कप छनोट खेल्न उज्वेकिस्तानमा छ । यही जुन २९ देखि उज्वेकिस्तानमा सुरु हुने छनोटअन्तर्गत समूह एफको खेल खेल्न नेपाली महिला टोली चार दिन अघि नै उज्वेकिस्तान पुगेको हो ।
एकातिर महिला टोली छनोट पार गर्दै अर्को वर्ष मार्चमा अष्ट्रेलियामा हुने महिला एसियन कपमा पुग्ने लक्ष्यमा छ । अर्कोतिर छनोट खेलमा नेपाली महिला टोलीको कप्तानी कसले गर्ला भन्ने अर्को चर्चाको विषय बनेको छ ।
यस पटक महिला टोलीको कप्तान फेरिने हो कि भन्ने चर्चा निकै चलेको छ । त्यसको संकेत उज्वेकिस्तानमा जाने टोली घोषणा हुँदा र जानुअघिको बिदाइ कार्यक्रममा पनि देखियो ।
किनभने कुनै पनि ठूलो प्रतियोगिता खेल्न जाँदा होस् या विदेशमा खेलहरू खेल्न जाँदा एक खेलाडी कप्तान तोकेरै जाने चल्न छ । अझ कतिले त कप्तान र उपकप्तान पनि तोक्छन् ।
यस पटक नेपाली टोली उज्वेकिस्तान पुगिसक्दा समेत कप्तान को हो भनेर तोकिएको छैन । यसअघि नेपालको कप्तानी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले गर्दै आएकी थिइन् । उज्वेकिस्तानमा खेल्ने टोलीको कप्तान पनि एन्जिला नै हो भन्ने धेरैको बुझाई छ ।
तर टिम घोषणा हुँदा र बिदाई गर्दा समेत कप्तान भनेर नतोकिनुले नेपाली महिला टिमको कप्तान फेरिँदैछ भन्ने संकेत देखाएको छ । किनभने बिदाई कार्यक्रम नेपालको राष्ट्रिय झण्डा हस्तानतरण गर्ने क्रममा पनि नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड, टिम म्यानेजर बिन्द्रा देवान, हेड अफ डेलेगेट्स तथा एन्फा कार्यसमित सदस्य सरिला श्रेष्ठ मलेखुलाई अगाडि बोलाइएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्सालले प्रशिक्षक म्यानेजर र हेड अफ डेलेगेट्सलाई झण्डा हस्तानतरण गर्दा त्यहाँ कुनै खेलाडीलाई बोलाइएको थिएन । पछि सामूहिक तस्बिर खिचाउने बेलामा भने गोलकिपर एन्जिला टिम म्यानेजर देवानसँगै अगाडि बसेकी थिइन् ।
हुन त यसअघि घरेलु मैदानमा भएको विभिन्न प्रतियोगितामा पनि मुख्य प्रशिक्षकले अन्तिम समयमा (प्रि म्याच कन्फेरेन्स) मा कप्तान तोकेर उपस्थित गराउने चलन रहिआएको छ । तर यस पटक विदेशमा खेल्न गएकोले सुरुमै कप्तान तोक्दा उपयुक्त हुन सक्थ्यो ।
अब आइतबारदेखि नेपालले छनोटको पहिलो खेल लाओससँग खेल्दैछ । त्यसअघि शनिवार प्रि म्याच कन्फेरेन्स हुनेछ र त्यसमा नेपाली टिमको कप्तानको रूपमा कुनै खेलाडी उपस्थित हुन सक्छन् वा मुख्य प्रशिक्षकले यसअघि नै कुनै एक खेलाडीलाई कप्तानका रूपमा रोजिसकेका हुन सक्नेछन् ।
त्यसको निर्णय बाहिर आउन बाँकी हुन सक्छ । तर कप्तान चनय नगर्दा भने अब नेपाली टिमको नेतृत्व कसले गर्ला भन्ने चासो र चर्चा सबैतिर छ ।
यस विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) सँग बुझ्न खोज्दा प्रष्ट जवाफ भने आएन । अरुले देखे/सोचे जस्तै एन्फाको भनाई पनि एन्जिला नै कप्तान भन्ने छ ।
एन्फा प्रवक्ता सुरेश शाहले कप्तान तोक्ने अधिकार प्रशिक्षकको नै भएको र उनैले कप्तान तोक्ने बताए । पछिल्लो समय नेपालको महिला टिमभित्र आन्तरिक रूपमै खेलाडीहरूबीच राम्रो सम्बन्ध नरहेको भन्ने पनि सुनिदैँ आएको छ । त्यसले गर्दा पनि कप्तानी गर्ने विषयमा पनि असर परेको हुन सक्छ ।
अर्कोतर्फ एन्फा स्रोतकै अनुसार खेलका क्रममा कप्तानले मात्र रेफ्रीसँग कुनै निर्णयविरुद्ध अपिल गर्न पाउने भएकोले गोलकिपर भन्दा अन्य पोजिसनका खेलाडी (आउटफिल्ड प्लेअर)लाई कप्तान बनाउन खोजेको हुन सक्छ । ‘अहिले कप्तान बाहेक अरुले रेफ्रीसँग अपिल गर्न नपाउने भन्ने छ । त्यसैले गोलकिपर कप्तान हुँदा रेफ्रीसँग अपिल गर्न जाँदा समय लाग्छ’ स्रोतले भन्यो ।
बिदाइका क्रममा पनि नेपाली टिमको कप्तानी कसले गर्ने भन्ने विषयमा खेलाडीहरू नै अनभिज्ञ रहेको समेत देखिएको थियो । टिमभित्रको धेरै कुरा मुख्य प्रशिक्षक, म्यानेजरहरूमा निहित हुने हुँदा धेरै कुरा बाहिर सार्वजनिक नगरिएको पनि हुन सक्छ । तर मैदानमा कसले कप्तानी गर्ने भन्ने कुरा दुई दिन अघिसम्म थाहा नहुँदा भने टिमभित्र पक्कै केही हुँदैछ भन्ने शंका गर्न कुनै कठिनाई हुँदैन ।
उज्वेकिस्तान गएको २३ सदस्य नेपाली टिममा नेतृत्व गर्न सक्ने खेलाडीको अभाव भने छैन । किनभने राष्ट्रिय टिमलाई नै कप्तानी गरेका देखि घरेलु फुटबलमा समेत कप्तानी गरिसकेका खेलाडीहरू अहिले टिममा छन् ।
गोलकिपर एन्जिला नेपाली महिला टिममा सबैभन्दा लामो समय कप्तानी गर्दै आएका खेलाडी हुन् । यस्तै पूर्वकप्तान तथा मिडफिल्डर रेनुका नगरकोटी पनि हाल टिममा छन् ।
यस बाहेक घरेलु फुटबलमा एपीएफ क्लबको कप्तानी गरिसकेका विंगर अनिता बस्नेत पनि हाल टिममा छन् । यस बाहेक उमेर समूहको राष्ट्रिय टिममा कप्तानी गरिसकेका अन्जना राना मगर र प्रीति राई पनि टिममा छन् । भलै अन्जना भने दोस्रो रोजाइको गोलकिपरको रूपमा छन्, यदि एन्जिला बाहेक अन्य खेलाडीलाई कप्तान बनाएमा अन्जनाले नै पहिलो रोजाईमा गोलपोष्ट सम्हाल्न सक्ने अवस्था समेत आउनेछ ।
यस्तै उमेर समूहकै कप्तानी गरिसकेकी डिफेण्डर पुजा राना पनि टिममा छन् । यसबाहेक हाल नेपाली टिमको सबैभन्दा चर्चित, सर्वाधिक गोलकर्ता र युरोपमा खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएकी सावित्रा भण्डारी साम्बा पनि कप्तानको दाबेदारको रूपमा छिन् । उनले अहिलेसम्म कप्तानी भने गरेको छैनन् ।
सावित्राले बिदाइका क्रममा भनेको एउटा लाइनले पनि नेपाली टिममा कप्तान परिवर्तन हुन सक्ने संकेत मिलेको थियो । ‘यही नै खेल्छ, यसले नै प्लेअइङ ११ मा स्थान बनाउँछ भन्ने फिक्स छैन । त्यसले गर्दा सबै खेलाडीहरू उत्साहित छौं टुर्नामेन्टको लागि । सबै जना पोजेटिभ छौं’ साम्बाले भनेकी थिइन् ।
उनले प्रशिक्षकले सकारात्मक रूपमा ट्रेनिङ गराएको र कतिबेला को खेल्छ भन्ने थाहा नहुने तरिकाले प्रशिक्षण भएको बताएकी थिइन् । यस्तै उनले टिममा सबैजना एकजुट भएर अघि बढेको समेत बताएकी थिइन् ।
एन्जिलादेखि सावित्रा सम्म अनि पूर्व कप्तान रेनुकालगायत माथि चर्चा भएका मध्ये नै एक खेलाडीले नेपालको कप्तानी सम्हाल्ने पक्का छ ।
सन् १९८६ मा नेपालले एएफसी महिला एसियन कपमा डेब्यु गर्दा रमा सिंहले कप्तानी गरेकी थिइन् । त्यसबेला नेपाल टेलिभिजनको समाचारवाचक समेत रहेकी रमा सिंह नेपाली महिला टिमको पहिलो कप्तान हुन् । एन्जिलासम्म आइपुग्दा नेपाली महिला टिमलाई अहिलेसम्म १० खेलाडीले नेतृत्व दिइसकेका छन् ।
अब उज्वेकिस्तानमा एन्जिला र रेनुका मध्ये एकले कप्तानी गरेमा कप्तानको संख्या बढ्ने छैन । यी दुई बाहेक अरु कप्तान बनेमा भने महिला टिमले ११औं कप्तान पाउने पक्का हुनेछ । त्यो ११औं कप्तान को होला भन्ने थाहा पाउँदा केही समय प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया 4