
१३ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेले अध्यक्ष माधव नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा कानुनी नभई राजनीतिक रहेको निष्कर्षमा पार्टी पुगेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अध्यक्ष नेपालविरुद्ध लगाइएको मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरित रहेको ठहर गरेको उनले जानकारी दिए ।
नेता पाण्डेका अनुसार बैठकले पतञ्जलि प्रकरणमा अध्यक्ष नेपालमाथि नभई पतञ्जलिमाथि छानबिन हुन आवश्यक रहेको पनि निष्कर्ष निकालेको बताए ।
‘अख्तियारले अध्यक्ष नेपालले आफूमाथि लागेको मुद्दा र त्यसको प्रतिरक्षा कसरी भइरहेको छ भन्ने विषयमा नेताहरूलाई जानकारी गराउनुभयो,’ उनले भने, ‘यसपछि के गर्ने विषयमा पनि हामीले छलफल गर्यौं । हामी यो कानुनीभन्दा पनि राजनीतिक मुद्दा हो भन्ने निष्कर्षमा पुगेका छौं ।’
पाण्डेले अध्यक्ष नेपालमाथिको मुद्दा समग्र कम्युनिस्ट आन्दोलनमाथिकै प्रहार रहेको समेत बताए । ‘अख्तियारले नै २०६९ सालमा यो मुद्दालाई तामेलीमा राखेको छ । बरु के भनेको छ भने मन्त्रिपरिषद्ले जुन पतञ्जलिलाई जग्गा किनबेच दियो, त्यसको लागि पाँच वर्षको समय तोकेको रहेछ । त्यो विषयमा पतञ्जलीले कार्यान्वयन गरोस् भनेर मालपोत कार्यालय काभ्रेलाई जिम्मा दिएको रहेछ,’ उनले भने ।
प्रतिक्रिया 4