+
+
Shares

एसईईको नतिजा आयो, अब के गर्ने ?

जेमा रहर लाग्छ, त्यो पढ । त्यसबाटै भविष्य बनाउने उपाय खोज । किनकि, ठूला नामको विषय, धेरै पैसा तिरेर पढ्ने पढाइ, अनि अरूले भनेको बाटो पछ्याउनु मात्रै समाधान होइन ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ असार १३ गते २२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसईई परिणाम सार्वजनिक भएपछि विद्यार्थी र अभिभावकलाई विषय छनोट र भविष्य योजना गर्न सल्लाह दिइएको छ।
  • शिक्षाविद् र विज्ञहरूले रुचिअनुसार पढ्न, सिप सिक्न र सकारात्मक सोच्न जोड दिएका छन्।
  • मनोवैज्ञानिक र सामाजिक समर्थनले विद्यार्थीलाई सही निर्णय गर्न मद्दत गर्न आवश्यक छ।

१३ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । नतिजाअनुसार ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ ।

नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।

नतिजा सार्वजनिक भएसँगै विद्यार्थीलाई ‘अब के पढ्ने ?’ भन्ने कौतुहल हुनसक्छ । विद्यार्थी र अभिभावकलाई कहाँ, पढ्ने, कुन विषय छान्ने, अलमल पनि हुनसक्छ । यिनै विषयमा हामीले शिक्षाविद्-शिक्षाकर्मीलाई सोधेका छौँ ।

बालचन्द्र लुइँटेल, शिक्षाविद्

अहिले केटाकेटीले आफ्नो रुचि के हो, भविष्य कहाँ जोडिन्छ भनेर खोज्ने समय हो । जुन बाटो रोजे पनि, त्यो बाटो जिन्दगीसँग र भविष्यसँग कसरी जोडिन्छ भन्ने बुझ्न सके राम्रो हुन्छ ।

पछिल्लो समय ब्रिज कोर्सजस्ता कुराले अलिकति दबाब पनि थपिरहेको देखिन्छन् । तर खासै रुचि नभएको विषयमा विद्यार्थी अड्किनु हुँदैन । बरु आफूलाई मन पर्ने सिप- जस्तै: आईटी, म्युजिक, स्पोट्र्स वा रिडिङ क्लबजस्ता क्षेत्रमा सक्रिय हुँदै अघि बढे राम्रो हुन्छ ।

विषय छान्ने कुरा पनि यही हो- अरूले भनिदिएको विषय रोज्ने होइन, आफूलाई साँच्चै मन लागेको विषय पढ्नुपर्छ । अभिभावकलाई पनि बालबालिकालाई दबाब दिनुको साटो उनीहरुको रुचिअनुसार नै अघि बढाउन सल्लाह दिन्छु ।

विद्यानाथ कोइराला, शिक्षाविद्

विद्यार्थीलाई एसईईपछिको छुट्टीमा के गर्ने भन्ने त छँदै थियो, त्यो भन्दा पनि धेरै, अब कुन विषय पढ्ने भन्ने टाउको दुखाइ सुरु हुन्छ । यतिबेला उनीहरूले छोटो समयमै उपयोगी सिप सिकेर जीवनलाई अर्थपूर्ण बनाउनेतर्फ सोच्नुपर्छ ।

सिक्ने माध्यम थुप्रै छन् । जस्तै, अनलाइन प्लेटफर्म, इन्टर्नसिप कार्यक्रम या आफैंले नयाँ कुरा एक्सप्लोर गर्ने अवसरहरूको सदुपयोग गर्नुपर्छ ।

विषय चयनको कुरा गर्दा, ‘साइन्स पढ्न नम्बर पुगेन’ वा ‘म्यानेजमेन्ट सजिलो छ’ भन्ने बजारको भाषाबाट बाहिर निस्किनुपर्छ ।

सरकारले बनाएको कोर्स संरचनाअनुसार ११ र १२ कक्षामा आफूलाई रुचि लागेको र पढ्न मन भएको विषय छनोट गर्दा नै भविष्य उज्वल हुन्छ । यही पढ्दा मात्र राम्रो भन्ने जमाना अब रहेन, जे पढ्न इच्छा छ त्यही पढ्नु राम्रो हुन्छ ।

त्यसैले मैले भन्ने नै जसमा रहर लाग्छ, त्यो पढ । त्यसबाटै भविष्य बनाउने उपाय खोज । किनकि, ठूला नामको विषय, धेरै पैसा तिरेर पढ्ने पढाइ, अनि अरूले भनेको बाटो पछ्याउनु मात्रै समाधान होइन ।

रेशु अर्याल, शिक्षाविद्

नतिजा आएपछि स्वाभाविक खुसीसँगै अब के गर्ने भन्ने तनाव विद्यार्थीमा हुन्छ । यसपछिको ग्यापलाई छुट्टीको रूपमा हेर्नेभन्दा पनि अवसरको रूपमा हेर्नुपर्छ । अब पढ्ने मात्रै होइन, केही गरिखाने कुरा सिक्नुपर्छ ।

एसईईपछिको बिदामा पनि यस्तो कुरा गर्न सकिन्थ्यो । अनलाइनमा खोजेर सिक्ने, इन्टर्नसिप गर्ने, सामुदायिक संस्थामा गएर काम गर्न सकिन्थ्यो । साना उद्यमीकहाँ गएर सघाएपछि सिक्ने कुरा थुप्रै हुन्छन्- पसल चलाउने, फार्मको काम, सेवा दिने सिप आदि ।

यसरी इन्टर्नको रूपमा सिक्न जान सकिन्छ, जुन कुरा अब पनि गर्न सकिन्छ । विद्यार्थीले सधैँ यसरी सिक्ने कुरामा जोड दिनुपर्छ ।

नतिजा आएपछि स्वाभाविक खुसीसँगै अब के गर्ने भन्ने तनाव विद्यार्थीमा हुन्छ । यसपछिको ग्यापलाई छुट्टीको रूपमा हेर्नेभन्दा पनि अवसरको रूपमा हेर्नुपर्छ । अब पढ्ने मात्रै होइन, केही गरिखाने कुरा सिक्नुपर्छ ।

कतिपयले चाहिँ अब ११ मा ब्रिज कोर्स नगरी हुन्न भन्ने भाष्य बनाइरहेका हुन्छन् । त्यो त्यति उपयुक्त होला जस्तो मलाई लाग्दैन । रुचि भएकाले गरिहाल्नुभयो होला, नगरेकाले ‘गरिनँ भनेर’ आत्तिनु जरुरी छैन । खाली पढाइ मात्र भनेर रटान लगाइरहन आवश्यक छैन । बरु यो समयमा घुमघाम पनि चाहिन्छ । नेपाल चिन्ने, आफूलाई रिल्याक्स गराउने । खेलकुद, सिर्जनात्मक कामले मानसिक सन्तुलन दिन्छ ।

विषय छनोटको कुरा गर्दा ‘नम्बर धेरै आयो साइन्स पढ, कम आयो म्यानेजमेन्ट’ भन्ने शैली त्यति काम लाग्दैन । बरु आफैँलाई कुन विषय मन पर्छ, त्यो खोज्नुपर्छ । रहर लागेको विषय पढ, अनि त्यो विषयबाट के बन्छ, भविष्यमा कहाँ जान सकिन्छ, त्यो सोच्न आवश्यक छ ।

मुख्य कुरा, अब मोबाइलमा मात्र नबिताउन सल्लाह दिन्छु । बरु टेक्नोलोजी प्रयोग गरेर के सिक्न सकिन्छ भन्ने सोच । यस्ता कुराको सही सदुपयोग गर्न सिक्नुपर्छ । त्यसैले धेरै नआत्तिकन आफूलाई रुचि भएका कुरा गर्न, विषय रोज्न सल्लाह दिन्छु ।

नानुमाया पराजुली, सहअध्यक्ष, शिक्षक महासंघ

केहीले उत्कृष्ट नतिजा हासिल गर्दा केहीले सोचे जस्तो अंक नल्याएको पनि हुनसक्छ । तर याद राख्नुस्, यो अन्तिम मौका होइन । एनजी लागेकालाई मौका परीक्षा आउँछ । मौका परीक्षा विद्यार्थीको लागि अर्को अवसर हो, त्यसको तयारीमा लाग्नुस्, हरेस नखानुस् ।

अब नतिजा आएपछि विषय छान्ने समय आयो । आफूलाई मनपर्ने विषय छान्नुस् । दबाबमा भन्दा रहरले पढ्नुस् । अनि, जुन विषय रोज्नुहुन्छ, त्यसमा तपाईंको रुचि मात्र होइन, अभिभावकको चाहना, सल्लाहको पनि सम्मान गर्नुहोला । कन्भिन्स गरेर पढ्दा सबै पक्षलाई फाइदा हुन्छ । समारात्मक माहोल बन्छ ।

मिनाक्षी दाहाल, शिक्षाविद्

विद्यार्थीमा अब के गर्ने, विषय के पढ्ने भन्ने हुन्छ । अर्कोतर्फ एसईई दिने यो उमेर समूहका बालबालिकाका लागि मनोवैज्ञानिक हिसाबले अत्यन्तै संवेदनशील समय हो । यस्तो उमेरमा उनीहरू छिटो प्रभावमा पर्छन्, आत्मविश्वास कमजोर हुनसक्छ र सही निर्णय लिन गाह्रो पर्छ ।

यदि हामीले उनीहरूलाई गाइड नगरी खाली छाड्यौँ भने, ११ कक्षामा जोडिनुअघिको ग्यापले उल्टै तनाव सिर्जना गर्नसक्छ । कति विद्यार्थीले परीक्षा दिन नभ्याउँदै सोचेजस्तो परीक्षा नभएको भन्दै गलत निर्णय गरिसकेको समाचार आइरहेका छन् । त्यसैले, यो समयमा अभिभावक, शिक्षक, विद्यालय र सरकार सबैको समन्वयमा सही गाइडेन्स दिन जरुरी हुन्छ ।

बालबालिका हुन् भनेपछि उनीहरूलाई १८ वर्ष पुग्दासम्म सही बाटो देखाउने जिम्मेवारी हाम्रो हो । आजको निर्णयले उनीहरूको भविष्य निर्धारण गर्छ ।

अनि, म मिडियालाई पनि आग्रह गर्छु, ‘नतिजा आएको दिन र विषय छान्ने निर्णय’ भन्दै यसलाई अनावश्यक नउचालौं नगरौँ । यो त १ कक्षा पार गरेर अर्को कक्षामा जाने सामान्य प्रक्रिया हो, यसलाई सामान्य रूपमा लिउँ । यस्ता कुराले धेरै प्रेसर दिन्छ विद्यार्थीलाई । बाँकी कुरा त विद्यार्थीले के गर्ने भन्ने आफ्नो रुचिअनुसार तय गर्नुपर्छ ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?