
१५ असार, बुटवल । सर्भियाका राष्ट्रपति अलेक्जेन्डर बुचिचको राजीनामा माग्दै राजधानी बेलग्रेडमा प्रदर्शन चर्किएको छ ।
विद्यार्थीहरुको नेतृत्वमा प्रदर्शनमा उत्रिएकाहरुले राष्ट्रपति अलेक्जेण्डरको शासन समाप्त गर्ने र समय अगावै चुनाव गराउनुपर्ने माग गरिरहेका छन् ।
करिब १ लाख ४० हजार जना प्रदर्शनमा उत्रिएको र यो हालैको महिनामा भएको सबैभन्दा ठूलो प्रदर्शन भएको बीबीसीले जनाएको छ ।
प्रदर्शनको क्रममा प्रहरीसँग झडप समेत भएको छ । स्थिति नियन्क्रणमा लिने त्रममा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ भने केहीलाई नियन्त्रणमा लिएको छ ।
राष्ट्रपति अलेक्जेण्डरले भने प्रदर्शनकारीहरुले देशलाई अस्थिर बनाउन खोजेको र विदेशीको इशारामा चलेको आरोप लगाएका छन् ।
राष्ट्रपति अलेकजेण्डर १२ वर्षदेखि सर्भियाको शासन सत्तामा छन् । उनी सन् २०१७ मे ३१ देखि राष्ट्रपति पदमा नियुक्त छन् । हालै दोस्रो कार्यकाल चलिरहेको छ । भुचिचले सन् २०१४ देखि २०१७ सम्म प्रधानमन्त्रीको रूपमा पनि काम गरेका थिए ।

अहिले किन भइरहेको छ आन्दोलन ?
अहिले सर्भियामा अहिले भइरहेका आन्दोलनको मुख्य कारण हो– गत नोभेम्बर २०२४ मा नोवी साद रेल स्टेसनमा भएको दुर्घटना । रेल स्टेसनको छानोजस्तो भाग भत्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको थियो । यो दुर्घटना भ्रष्टाचार र सरकारको लापरबाहीको कारण भएको भन्दै समुदायमा व्यापक आक्रोश बढेको थियो ।
दुर्घटनापछि मुलुकभरका विद्यार्थीहरु सडकमा उत्रिएर आन्दोलन सुरु गरेका थिए । पछि विद्यार्थीहरुलाई शिक्षक, कानुन व्यवसायी, यातायात क्षेत्रका कर्मचारी, कृषि मजदुर र नागरिक समाजका समूहहरूले पनि समर्थन गरेका थिए ।
यही कारण अहिले सर्भियामा आन्दोलनको ठूलो रुप लिएको छ । त्यसैले अहिलेको आन्दोलन सर्भियाका लागि लोकतन्त्र र नियमको शासन फर्काउने महत्वपूर्ण मोड हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया 4