+
+
Shares

प्रस्तावित न्यायाधीश पोखरेललाई प्रश्न : राजनीतिक पक्षधरता कसरी छाड्नुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते ११:१७

१५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले प्रस्तावित न्यायाधीश मेघराज पोखरेलसँग निष्पक्षतापूर्वक काम गर्ने प्रतिबद्धताको आधार खोजेका छन् ।

आइतबार पोखरेलको सुनुवाइका क्रममा सांसद शर्माले भने, ‘बारमा रहेर पनि काम गर्नुभयो । बार भनेको राजनीतिक पक्षधरता हुने ठाउँ हो, यहाँको भूमिका साँच्चै निश्पक्ष होला त ?’

सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्ष भएर काम गरेका बरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिसमा परेपछि संसदीय सुनुवाइ भइरहेको छ ।

पोखरेलले संसदीय सुनुवाइको क्रममा आइतबारको बैठकमा आफ्ना कार्ययोजना प्रस्तुत गरे । यस्ता कार्ययोजना कार्यान्वयन कमजोर रहेको विगतको अनुभव रहेको उल्लेख गर्दै शर्माले ती कार्ययोजना अनुसार काम गर्ने आधार पनि खोजे ।

प्रमाण र तथ्य एकातिर हुँदा हुँदै अर्कोतिर अदालतबाट फैसला आउने गरेको नागरिकको कतिपय मुद्दामा गुनासो रहेको भनेर पनि पोखरेलको जवाफ खोजे ।

नेपाली कांग्रेसका जीवन परियारले न्यायमा विलम्ब हुने गरेको गूनासो नागरिक स्तरमा रहेको बताए ।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले अदालतमा मुद्दाको संख्या रहेको स्मरण गरे ।

नेकपा एमालेकी सांसद इश्वरी घर्तीले न्यायलयमा बिचौलिया हुन्छ कि हुँदैन भनेर सोधिन् । ‘म यहाँकै मुखबाट सुन्न चाहन्छु, ‘साँच्चै न्यायलयमा बिचौलिया हुन्छन् कि हुँदैनन् ? न्यायलयमा बिचौलिया को हुन्छन् ? त्यहाँ मध्यमवर्गको समेत पहुँच हुँदैन । यसो हुँदा त्यहाँ बिचौलिया को हुन्छन् होला ?’ न्यायालय महंगो समेत रहेको उनले बताइन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कार्ययोजना राम्रो रहेको बताए । न्याय प्रणाली असाध्यै ढिलो भएको पनि उनले बताए । सर्वोच्च अदालतमा वर्षौंसम्म मुद्दा अड्किने अवस्था तोड्न आवश्यक रहेको बताए ।

शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थालेको पनि उनले बताए । एकले अर्कोको क्षेत्राधिकारमा प्रवेश गर्न थालेका उदाहरूसमेत रहेको बताए । यसलाई कसरी नियन्त्रण गर्ने भन्ने उनको प्रश्न छ ।

तथ्यका आधारमा भन्दा को न्यायाधीशको इजलासमा पर्यो भन्ने आधारमा फैसला आउने प्रवृत्ति रहेको भन्दै उनले यस्तो हो भने कसरी सुधार गर्ने भनेर उनले प्रश्न गरे ।

००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?