
News Summary
Generated by OK AI. Editorially reviewed.- उद्योगीहरूले सिमेन्ट र डन्डीको मूल्य घटाएका छन्।
- वाणिज्य विभागका अनुसार माग कम र उत्पादन लागत घटेका कारण मूल्य घटेको हो ।
- निर्माण सामग्रीको मूल्य बर्खा र निर्माण कार्यको गतिविधि अनुसार परिवर्तन हुँदै आएको छ।
१५ असार, काठमाडौं । उद्योगीले सिमेन्ट र डन्डीको भाउ घटाएका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीले सिमेन्टको भाउ प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म र डन्डीको भाउ किलोको ५ रुपैयाँसम्म घटाएका हुन् ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पछिल्लो समय सिमेन्ट र डन्डीको माग घटेको र उद्योगमा लोडसेडिङ पनि घटेका कारण भाउ घटेको बताए ।
‘उद्योगीले सिमेन्टमा प्रतिबोरा ५० देखि १ सय रुपैयाँसम्म घटाए भन्ने आएको छ,’ उनले भने, ‘अहिले उद्योगमा लोडसेडिङ घटेको हुनाले उत्पादन लागत पनि घट्यो । त्यसैले भाउ घटाएका छन् ।’
यसअघि उद्योगमा १२ घण्टासम्म लोडसेडिङ भएको र उत्पादन लागत बढ्न गई सिमेन्टको मूल्य बढाउनुपरेको उद्योगीले बताउँदै आएका थिए । ।
अन्य समयको तुलनामा बर्खाका बेला निर्माण कार्य कम हुन्छ । निर्माण कार्य कम हुने हुँदा सिमेन्ट र डन्डीको माग पनि कम हुन्छ । माग कम भएपछि बर्खाको समयमा निर्माण सामग्रीको भाउ घट्ने गर्छ ।
बर्खा सकिएसँगै निर्माण कार्य सुरु हुने हुँदा त्यस समय यी सामग्रीको मूल्य बढ्दै जान्छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टमा १ सय रुपैयाँसम्म भाउ घटाइएको र डन्डीमा पनि प्रतिकिलो ५ रुपैयाँसम्म घटाइएको बताए ।
‘माग घटेको भएर भाउ घटेको हो, अहिले ओपीसी सिमेन्टको भाउ ६ सयदेखि ७ सय रुपैयाँको हाराहारी प्याकेट–प्याकेटको रेट छ,’ उनले भने, ‘डन्डीको भाउ पहिले प्रतिकिलो ९६ रुपैयाँ थियो । अहिले ८२ देखि ८५ रुपैयाँ भएको छ । यो मूल्य क्रमश: घट्दै आएको हो ।’
यस्तै उद्योगीले यसअघि भाउ बढाएर ओपीसी सिमेन्ट प्रतिबोरा ६ सय ७५ रुपैयाँदेखि ८ सय रुपैयाँसम्म र पीपीसी सिमेन्ट प्रतिबोरा ५ सय ५० रुपैयाँदेखि ६ सय ७५ रुपैयाँसम्म पुर्याएका थिए ।
प्रतिक्रिया 4