+
एएफसी महिला एसियन कप छनोट :

एक सयौं खेलमा फराकिलो जित र कप्तान सावित्राको ह्याट्रिक

२०८२ असार  १५ गते २२:४४ २०८२ असार १५ गते २२:४४

छनोटको समूह एफको पहिलो खेलमा नेपालले सानदार जितसहित १००औं अन्तर्राष्ट्रिय खेललाई पनि ऐतिहासिक बनाएको छ । यसै खेलबाट गोलमेसिन सावित्राले नेपालका लागि कप्तानी डेब्यु गरिन् ।

एक सयौं खेलमा फराकिलो जित र कप्तान सावित्राको ह्याट्रिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा आफ्नो १००औं खेलमा लाओसलाई ९-० ले पराजित गर्‍यो।
  • सावित्रा भण्डारीले कप्तानी डेब्युमा ह्याट्रिक गरिन्।
  • मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले फरक रणनीति अपनाउँदै टोलीलाई सफलतामा पुर्‍याए।

१५ असार, काठमाडौं । सावित्रा भण्डारीको कप्तानी डेब्युमा ह्याट्रिक अनि १००औं अन्तर्राष्ट्रिय खेलमा नेपालको सानदार जित ।

नयाँ प्रतिद्वन्दी लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित गर्दै उज्वेकिस्तानमा नेपालले एएफसी महिला एसियन कप छनोटमा आइतबार विजयी सुरुवात गरेको छ ।

छनोटको समूह एफको पहिलो खेलमा सानदार जितसहित १००औं अन्तर्राष्ट्रिय खेललाई पनि ऐतिहासिक बनाएको छ । यसै खेलबाट गोलमेसिन सावित्राले नेपालका लागि कप्तानी डेब्यु गरिन् । उनले उज्वेकिस्तानको गर्मीमा कप्तानी डेब्युमै ४ गोल ठोकिन् ।

यस्तै नेपालको बेल्जियन मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पनि राष्ट्रिय टिम डेब्युमा जितको स्वाद चाखे । तास्केन्तमा नेपालका लागि सावित्राले ४ गोल गर्दा अनिता बस्नेत, सरु लिम्बु, रश्मिकुमारी घिसिङ र अनिता केसीले १-१ गोल गरे । लाओसले एक आत्मघाती गोल नेपाललाई उपहार दिएको थियो ।

यसै खेलमार्फत मिडपिल्डर सरस्वती हमालले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरिन् ।

मुख्य प्रशिक्षक वाइल्डले फराकिलो जितले खुशी बनाएको बताए । उनले हरेक खेललाई स्टेप बाई स्टेप लिने बताए । यस्तै मैदानमा उत्रेका र बाहिरका सबै खेलाडीहरूबाट आफू प्राउड रहेको पनि बताए ।

अट्याकिङ फुटबल खेल्ने कोचको रणनीति अनुसार खेलेको र ९-० स्कोर आएको रेनुका नगरकोटेले बताइन् । उनले समग्रमा खेल राम्रो भएपनि स्कोरिङमा अझ कमजोरी रहेको बताइन् ।

मुख्य खेल उज्वेकिस्तानसँग भएपनि एक पटकमा एक खेललाई सोचेर अघि बढ्ने उनले बताइन् । रेनुकाले मुख्य लक्ष्य एसियन कपमा छनोट हुने रहेकोले सबैजना मोटिभेट भएर खेलिरहेको बताइन् ।

पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । अनिता बस्नेतले १२औं मिनेटमा सविता रना मगरको हेडर पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्राले ४४औं मिनेटमा अनिता बस्नतेकै क्रसमा गोल गर्दै अग्रता दोब्बर पारिन् ।

दोस्रो हाफको दोस्रो मिनेटदेखि नै नेपालले गोल गर्न थाल्यो । आफ्नो ५०औं अन्तर्राष्ट्रिय खेल खेलेकी सरुले ४७औं मिनेटमा गोल गर्दै नेपालको अग्रता तेब्बर पारिन् ।
सावित्राले ५५औं मिनेटमा आफ्नो दोस्रो गोल गरिन् । उनले ७५औं मिनेटमा ह्याट्रिक पूरा गरिन् भने त्यसको एक मिनेटपछि व्यक्तिगत चौथो गोल गरिन् ।

रश्मीले ५६औं र अनिता केसीले ८३औं मिनेटमा गोल गरिन् । नेपालले ८८औं मिनेटमा नवौं गोल गर्‍यो । सावित्राले हानेको प्रहार लाओसका खेलाडीलाई डिफ्लेक्ट हुँदै गोल भएको थियो ।

प्रशिक्षकको फरक रणनीति

प्रो लाइसेन्स प्राप्त वाइल्ड मुख्य प्रशिक्षक बनेयता नै चर्चा थिए । उनको दुई दशक लामो कोचिङ अनुभवलाई नेपाली टिममा बाँड्ने र सफलता दिलाउन प्रयास गर्ने बताएका थिए ।

आफ्नो पहिलो खेलमै उनले फरक रणनीतिमा नेपाललाई मैदान उतारे । डिफेन्समा तीन खेलाडी खेलाएका वाइल्डले प्रीति राईलाई बेन्चमा राख्दै अनिता बस्नेतलाई पहिलो रोजाइमा खेलाएका थिए भने सरस्वती हमाललाई डेब्यु गराउँदै सरु लिम्बु र सरस्वतीलाई डिफेन्सिभ मिडफिल्डमा खेलाएका थिए ।

नेपालबाट उज्वेकिस्तान प्रस्थान गर्दा नेपालको कप्तान नतोकेकाले कप्तान को होला भन्ने पनि धेरैको चासो थियो । यस पटक कप्तान फेरिन सक्ने संकेत थियो ।

नेपालको पहिलो रोजाइ घोषणा हुँदा मिडफिल्डर तथा पूर्व कप्तान रेनुका नगरकोटेलाई कप्तानको जिम्मा दिइएको थियो । एन्फाले पनि रेनुकाले कप्तान गर्ने पोष्ट गरेको थियो ।

तर खेल सुरु हुने बेला भने सावित्रा भण्डारी कप्तानको आर्मब्याण्ड लगाएर मैदान प्रवेश गरिन् । एकैछिनमा कप्तानको निर्णय परिवर्तन भयो । लाइनअपमा गल्ती थियो वा किन र कसरी एकै छिनमा कप्तान परिवर्तन गरियो त्यो अर्को बहसको विषय होला । मुख्य प्रशिक्षक र टिम म्यानेजमेन्ट नै यो विषयमा बढी जानकार होलान् । यदि कप्तान चुन्ने विषयमा पनि कसैको दबाब र प्रभाव भएको हो भने त्यो नेपाली फुटबलका लागि पक्कै राम्रो संकेत भने होइन ।

जे होस् नेपालका लागि सर्वाधिक गोलकर्ता देखि युरोपमा खेल्ने कीर्तिमान सम्म बनाएकी सावित्राले नेपालका लागि नेतृत्व समेत गरिन् । ऐतिहासिक खेलमा कप्तानको आर्मब्याण्ड लगाएर ह्याट्रिक गर्दै उनले यस खेललाई यादगार भने बनाइन् । सावित्रा नेपालको महिला टिमलाई नेतृत्व गर्ने ११औं कप्तान समेत बनिन् ।

सावित्राको कप्तानी डेब्यु, प्रशिक्षकको सिनियर नेसनल टिम डेब्यु, सरस्वती हमालको डेब्यु, महिला एसियन कप छनोटमा पहिलो जित जस्ता विषय भने सम्झनलायक रहे ।

१००औं खेलको तथ्यांक

नेपाली महिला फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको चार दशकमा १००औं खेल पूरा गरेको छ । त्यसमा करिब आधा खेलमा नेपाल विजयी भएको छ ।

नेपालले लाओसलाई हराएपछि ४७ खेलमा जित हात पार्‍यो । यस्तै १६ खेलमा बराबरी नतिजा निकालेको छ भने ३७ खेलमा पराजित भएको छ । नेपालको महिला टोलीले अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उपाधि भने जित्न सकेको छैन ।

यस्तै यो अवधिमा नेपालले तीन पटक एसियन कप पनि खेलिसकेको छ भने अन्य विभिन्न क्षेत्रिय प्रतियोगिता पनि खेलेको छ । सन् १९८६ मा पहिलो पटक एसियन कप खेलेको नेपालले सन् १९८९ र १९९९ मा पनि एसियन गेम खेलेको थियो । सन् २०१० यता भने नेपाली महिला फुटबल टोलीले धेरै खेल खेल्यो, विभिन्न प्रतियोगितामा पनि खेल्यो ।

नेपाली महिला टोली साफमा ६ पटक उपविजेता (२०१०, २०१२, २०१४, २०१९, २०२२, २०२४) बनेको छ । सुरुमा चार फाइनलमा भारतसँग पराजित भएको नेपाल पछिल्लो दुई फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

सन् २०१६ मा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो । यस्तै तीन पटक दक्षिण एसियाली खेलकुद (साग)मा मा उपविजेता बन्दै रजत जितेको थियो । सन् २०१०, २०१६ र २०१९ को सागमा नेपाल उपविजेता बनेको थियो । तीनै पटक भारतसँग पराजित भएको थियो ।

यस्तै सन् २०१८ को हिरो गोल्डकप, सन् २०१९ को नादेज्दा गोल्डकप र सन् २०२४ को वाफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । हिरो गोल्डकपमा म्यानमार, नादेज्दामा उज्वेकिस्तान र वाफमा जोर्डनसँग फाइनलमा पराजित भएको थियो ।

नेपाली महिला टोलीले सन् २०२३ मा चीनमा भएको १९औं एसियन गेम्समा समेत प्रतिस्पर्धा गरेको थियो । यसबाहेक नेपालले ओलम्पिक महिला फुटबल छनोट प्रतियोगिताहरू समेत खेलेको छ ।

नेपाली महिला टिमले खेलेको सबैभन्दा बलियो टिम जापान हो । यस्तै नेपालले भियतनाम, थाइल्याण्ड, उज्वेकिस्तान, म्यानमार, फिलिपिन्स, हङकङ, इन्डोनेसिया, जोर्डन, भारत जस्ता आफूभन्दा माथिको वरियताको बलियो टिमसँग पनि खेलेको छ ।

नेपाली महिला फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय