
१६ असार, काठमाडौं । २७ जनवरी, २०२१ । अमेरिकी स्टकमा एकाएक हलचल मच्चिन्छ । त्यसको पछाडि कुनै नीतिगत परिवर्तन थिएन, न कुनै ठूला लगानी कम्पनीहरूको रणनीति । यसका कारक थिए, सामाजिक सञ्जाल रेडिटका प्रयोगकर्ता ।
रेडिटको r/wallstreetbets नामक च्याट रुममा रहेका प्रयोगकर्ताले मिलेर उनीहरूले गेमस्टप, एएमसी, नोकिया, ब्याकबेरी जस्ता ‘संकटग्रस्त’ कम्पनीका सेयर किन्ने रणनीति बनाए । जबकि, यी कम्पनीहरूमा ‘हेज फन्ड’हरूले घाटा हुने अनुमान गर्दै ‘सर्ट पोजिसन’ लिएका थिए ।
तर, रेडिटमा रहेका रिटेल लगानीकर्ताले ती सेयर किन्न थालेपछि बजार उल्टो दिशातर्फ मोडियो । गमेस्टपको मूल्य मात्र दुई सातामै हजार प्रतिशतभन्दा बढीले उकालो लाग्यो ।
उक्त च्याट रुममा त्यसबेला ४.८ मिलियन प्रयोगकर्ता थिए, जुन बढेर अहिले १९ मिलियन हाराहारी पुगेका छन् । रेडिट प्रयोगकर्ताका अनुसार त्यसबेला लिएको यो रणनीति केवल नाफा कमाउनको लागि मात्र थिएन । यो हेज फन्डहरू विरुद्धको आर्थिक विद्रोह थियो, वालस्ट्रिटको मनोमानी चलखेलविरुद्ध थियो ।
यो त प्रतिनिधि उदाहरण मात्र हो, विश्वव्यापी प्रभाव परेका यस्ता थुप्रै घटना छन्, जसमा सामाजिक सञ्जाल रेडिट प्रयोगकर्ताको ठूलो भूमिका थियो । सामाजिक सञ्जाल रेडिटबाट समाजमा तरंग ल्याउने अनेक गतिविधि भएका प्रशस्त उदाहरण छन् । कतिपय घटना यसबाटै सार्वजनिक भएर चर्चामा आएका पनि छन् ।
यो भन्दै गर्दा तपाईंलाई ‘रेडिट भनेको के हो ?’ भन्ने लागिरहेको होला । सरल तरिकाले बुझाउँदा यो फेसबुक/ट्विटरजस्तै सामाजिक सञ्जाल प्ल्याटफर्म हो । विशेषगरी तन्नेरी पुस्ता सक्रिय रहने यो सञ्जालमा विभिन्न विषयमा विचार, समाचार र अनुभव साटासाट हुन्छ ।
यसका फोरमहरूमा प्रयोगकर्ताले लेख पोस्ट गर्न, प्रतिक्रिया जनाउन मिल्छ । रेडिटमा हजारौं साना–छोटा समूह हुन्छन्, जसलाई सब–रेडिट भनिन्छ । प्रत्येक सबरेडिट कुनै विशेष विषयमा केन्द्रित हुन्छ । जस्तैः राजनीति, खेलकुद, प्रविधि, मनोरञ्जन, स्वास्थ्य, वा कुनै विशेष रुचिअनुसारका सब–रेडिट बन्छन् । सोहीअनुसार च्याटग्रुपहरू पनि हुन्छन् ।
प्रयोगकर्ताले आफूलाई मन परेको वा चासो लाग्ने सब–रेडिटमा जोडिन (जोइन हुन) पाउँछन् । त्यहाँ भएका पोस्ट र कमेन्टमा प्रयोगकर्ताले भोट दिन सक्छन् । त्यसको लागि अपभोट (सहमत) वा डाउनभोट (असहमत) गर्न पाउँछन् । धेरै अपभोट पाउने पोस्टहरू रेडिटको मुख्य पृष्ठमा माथि देखिन्छन् । यसले समुदायमा लोकप्रिय र उपयोगी सामग्रीलाई प्राथमिकताका साथ ‘बुस्ट’ गर्छ ।
तर, रेडिटमा अधिकांश प्रयोगकर्ता छद्म नाममा हुन्छन् । पहिचान खुलाउन चाहँदैनन् । ‘गुमनाम’ रहेरै पनि तन्नेरी पुस्ता मस्त खुलिरहेका हुन्छन् । कसैले केही जानिरहेको छैन भने निर्धक्क सिक्ने÷सिकाउने क्रम पनि त्यहाँ देखिन्छ ।
नेपालमा पनि त्यस्ता केही सब-रेडिट छन्, जसमा सामाजिक विषयमा छलफल हुन्छ । रेडिटमा प्रयोगकर्ताले आईडी बनाएपछि पोस्ट गर्न, इन्गेज हुन त्यहाँ रहेका यस्ता कम्युनिटीमा जोडिनैपर्ने हुन्छ ।
उदाहरणका लागि, राजनीतिक-सामाजिक विषयमा r/Nepal, r/NepalSocial जस्ता सब-रेडिट (ग्रुप) एकदमै चर्चित छन्, नेपालमा । r/Nepal भित्र करिब २ लाख प्रयोगकर्ता छन् भने r/NepalSocial मा ५६ हजार प्रयोगकर्ता रहेको देखिन्छ ।
त्यस्तै, सेयर बजार सम्बन्धित r/NepalStock सब-रेडिट छ, जसमा २७ हजार प्रयोगकर्ता छन् । यसरी विषय/क्षेत्रअनुसार फरकफरक सब-रेडिट रहेका छन् । सबै हिसाब गर्दा करिब दुईदेखि तीन लाख नेपाली प्रयोगकर्ता रेडिटमा सक्रिय रहेको अनुमान गर्न सकिन्छ ।
रेडिटको सबैभन्दा बलियो पक्ष भनेको पहिचान लुकाएर आफूलाई पोख्न पाउनु हो । फेसबुक, ट्विटर, इन्स्टामा खोल्न नसकेको कुरा रेडिटमा सहजै खोल्न सकिन्छ ।
जस्तो, यो रिपोर्ट तयार गर्दा सब-रेडिट r/Nepal मा iLuvv8008s नामको प्रयोगकर्ताले आफूले काम गरेको संस्थाको अध्यक्षको पोल खोलेका छन् । उनका अनुसार संस्थाले विदेशी अनुदानमा काम गर्दै आएको भए पनि अध्यक्षले महिनामा २५०-३०० डलर लिएर कर्मचारीलाई १५-१६ हजार मात्र दिने गरिएको छ ।
त्यस्तै, अध्यक्षले पारिवारिक घुमघाम, खानपिन लगायतका निजी खर्चहरू संस्थाको नाममा बिल (त्यो पनि बढाएर) बनाई ‘खाने गरेको’ पनि उल्लेख गरेका छन् । सँगसँगै भनेका छन्, ‘यदि मेरो सुरक्षाको सुनिश्चितता भए यो कुरा नामसहित बाहिर ल्याइदिन्छु ।’ यसमा अन्य प्रयोगकर्ताले विभिन्न सुझाव दिएका देखिन्छन् ।
यसरी आफूले अन्यत्र भन्न नसकेको कुरा रेडिटमा भन्ने युवाको संख्या धेरै छ । यसबाहेक आफ्नो पढाइदेखि अन्य नजानेको विषयमा खुलेर सोध्ने र सिकाउने चलन पनि यहाँ देखिन्छ । राजनीतिक विषयमा पनि आफूले नजानेको कुरा निर्धक्क सोधिरहेका हुन्छन् ।
जस्तो, संसद्मा भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा विरोध गरिरहेको छ । यही सिलसिलामा संसद् अवरोध गर्दा रास्वपा नेताहरु पँलेटी कसेर रोष्ट्रम अगाडि बसेको तस्वीर भाइरल भयो । यसबारे Inevitable_Arm_5662 भएका रेडिट प्रयोगकर्ताले बुझेनछन् ।
ती प्रयोगकर्ताले तस्वीर राख्दै रेडिटमा सोधिहाले, ‘यहाँ के भइरहेको छ ? यसबारे कसैले केही बुझाउन सक्छ ?’ त्यसपछि सबैले यसबारे बुझाउन खोजिरहेका देखिन्छन् । यसरी यो प्ल्याटफर्ममा आफूलाई लागेको कुरा निर्धक्क सोध्न र सिक्नको लागि उपयोग गर्न सकिने प्र्रयोगकर्ता बताउँछन् ।
मानसिक स्वास्थ्यको विषयलाई लिएर पनि युवाहरू रेडिटमा खुलिरहेका देखिन्छन् । जस्तो, zubin_b12 ले आफूलाई मानसिक समस्या परेकोले राम्रो थेरापिस्ट सिफारिस गर्न अनुरोध गरेका छन् । उनले लेखेका छन्, ‘म एउटा राम्रो थेरापिस्ट खोजिरहेको छु । यसको मतलब मलाई त्यस्तो मानसिक समस्या भएको भन्ने होइन, तर विगत दुई वर्षयता जीवनमा विभिन्न उतारचढाव आइरहेका छन् । त्यसैले मलाई केही गाइडेन्स चाहिएको छ ।’
यसरी करिब दुई लाख नेपाली तन्नेरी अन्य सामाजिक सञ्जालको तुलनामा रेडिटमा किन रमाइरहेका छन् ? छद्म नाममा खुल्नुको मज्जा के हो ? यसभित्र अरु के-के हुन्छ ?
सन् २०१६ देखि रेडिटमा सक्रिय _LEDGIS समाचारको स्रोतको लागि यो प्लेटफर्म प्रयोग गर्छन् । उनले हेर्ने अधिकांश समाचार ट्विटर वा रेडिटबाटै हुन्छन् । फेसबुक नचलाउने उनी रेडिटमा दिनको दुई घण्टाभन्दा धेरै दिन्छन् । उनका अनुसार रेडिटमा छिरेपछि विभिन्न ‘कम्युनिटी’ छ । सुरुवातमा विदेशी कम्युनिटीमा छिरेर (जोइन) भएर चलाउन थालेपनि विस्तारै नेपाली कम्युनिटीमा पनि चाख राख्न थाले ।
‘अहिले धेरैजसो युवा रेडिटमा सक्रिय छ । फेसबुकमा अभिभावकदेखि सबै हुने भएकोले यता आएको हुनसक्छ । अर्को त यसको प्राइभेसी पनि हो । त्यहाँ राम्रा कुरादेखि पछिल्लो समय छाडा विषयमा जिस्किने पनि भइरहेको पाउँछु । पहिलाभन्दा यता पनि बिग्रँदै गएको हो कि भन्ने डर पनि लाग्छ,’ _LEDGIS ले अनलाइनखबरसँग भने ।
विशेषगरी उनले सेयर बजारको लागि पनि रेडिट प्रयोग गर्छन् । त्यहाँ यससम्बन्धी आउने पोस्टले धेरै आइडिया मिल्ने उनले बताए । उनले भने, ‘अर्को चाहिँ मैले धेरै युवा अति ज्ञान भरिएका कारण पोख्नलाई रेडिटमा आउँछ जस्तो लाग्छ । अनलाइनबाट चाहिने–नचाहिने कुरा थाहा पाएको छ । अरु सञ्जालमा पोस्ट गर्दा, मान्छेले ‘जज’ गर्छन् । त्यही भएर बिन्दास तरिकाले आफ्नो ज्ञान पोख्न यसमा आउँछन् जस्तो लाग्छ ।’
त्यस्तै, रेडिट प्रयोगकर्ता ObjectiveFit9197 का अनुसार अहिलेको इन्टरनेटको सबभन्दा ठूलो समस्या अनावश्यक सूचनाको भिड हो । फेसबुक खोल्नेबित्तिकै त्यहाँ राजनीतिक बहसदेखि खाना खाएको फोटो, सेलिब्रिटीको पोस्ट, रमाइला भिडियो, आफन्तको अपडेट सबै मिसिन्छन् । यस्तो गन्जागोल सूचना आफैँमा भार पर्छ ।
यस्तै भिडभाडबाट बाँच्न उनले रेडिट रोजेका हुन् । रेडिटमा विभिन्न क्षेत्र लक्षित सब–रेडिट हुने, जसले छुट्टाछुट्टै विषयका लागि अलग कम्युनिटी बनाउँछ । जस्तै, r/Nepal मा नेपालसम्बन्धी समसामयिक कुरा, r/tech मा प्रविधि, r/finance मा आर्थिक विषय, आदि । यसरी आफूलाई चासो भएको कुरा मात्रै पढ्न मिल्ने भएकाले ध्यान केन्द्रित गर्न सजिलो हुने उनको भनाइ छ ।
‘रेडिटको अर्को विशेषता यसको गोपनीयता हो । त्यहाँ म को हुँ भन्ने कसैले जान्दैन । त्यसैले म ढुक्कले जे मनमा छ लेख्न सक्छु,’ ObjectiveFit9197 ले अनलाइनखबरसँग भने, ‘यो प्लेटफर्ममा देखावटी शैली, भाइरल बन्ने लहड वा चिनजानको डर हुँदैन । बरु, कसैले सल्लाह माग्दा वा गुनासो राख्दा, प्रयोगकर्ताहरू सच्चा भावले सुझाव दिन्छन् । केही नकारात्मक पाटो भए पनि मैले चाहिँ अधिकांश सकारात्मक कुरा पाउँछु । आफूले कस्ता ग्रुप जोइन गरेको छु भन्नेले पनि अर्थ राख्छ ।’
अर्का एक प्रयोगकर्ता भने यसमा कतिपय नकारात्मक उद्देश्यले पनि आउने गरेको सुनाए । ‘कन्टेन्ट फिल्टर’ नहुँदा पोर्नोग्राफीदेखि अन्य गलत क्रियाकलाप पनि हुने बताए । आपराधिक उद्देश्यले पनि रेडिटमा प्रयोगकर्ता आउने गरेको आफूले पाएको उनले सुनाए ।
उनका अनुसार रेडिटमा कुनै रोकतोक हुँदैन । कम्युनिटी स्वयंले बनाएका नियमबाहेक रेडिट आफैंले कन्टेन्ट फिल्टर गर्दैन । यहाँ कन्टेन्ट सही हो या गलत भन्ने वास्तविकता पनि थाहा हुँदैन । सबै कुरा प्रयोगकर्ताको स्वविवेकमा भर पर्छ ।
‘कसैलाई गालीगलोज गरेर लेख्दा पनि रेडिट जवाफदेही हुँदैन । फेसबुक, ट्विटरजस्ता प्ल्याटफर्ममा युजर निष्फिक्री भएर जे गर्न सक्दैनन्, त्यो रेडिटमा गर्छन् । त्यसैले सही तरिकाले प्रयोग गरेन भने यसले डुबाउन पनि सक्छ । पोर्नोग्राफीदेखि आपराधिक गतिविधिका काम पनि हुन्छन् । सचेत भएन भने यसको जालमा जो पनि पर्न सक्छ,’ युजरनेम समेत नखुलाउने सर्तमा ती प्रयोगकर्ताले भने, ‘त्यसैले कुन कम्युनिटीमा रहेर के फाइदा लिने आफूमा भर पर्छ ।’
यसरी पछिल्लो समय शहरी भेगका नयाँ पुस्ता (जेनजी) रेडिटमा सक्रिय देखिन्छ । विभिन्न कम्युनिटी बनाएर यसमा विभिन्न विषयमा छलफल गर्ने, आफ्ना ज्ञान सेयर गर्ने माध्यम रेडिटलाई बनाएका पाइन्छन् । कतिपय यौनदेखि अन्य विषयमा अन्यत्र खुल्न नसकेकाहरू पनि रेडिटमा आएर निष्फिक्री खुल्ने गरेको देखिन्छ । ‘डेटिङदेखि हुकअपसम्मका गतिविधि यही माध्यमबाट भएका प्रशस्त उदाहरण मैले देखेको छु । जस्तै, अन्तरमुखी पनि रेडिटमा आएर मस्त खुलिरहेको हुन्छ । मेरै साथीहरू त्यस्ता छन्,’ एक प्रयोगकर्ताले भने ।
स्प्राउट सोसलको २०२५ को रिपोर्टअनुसार रेडिटको लगभग ४४ प्रतिशत प्रयोगकर्ता १८ देखि २९ वर्ष उमेर समूहमा पर्छन्, जसमा पुरुष ५९.८ प्रतिशत र महिला ३९.१ प्रतिशत रहेको अनौपचारिक तथ्यांक छ । यद्यपि, यसबारे नेपाललाई लक्षित गरेर भने कुनै अध्ययन भएको पाइएन ।
प्रतिक्रिया 4