
News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको धुर्कोट गाउँपालिका–७ वग्लाद्वनेटामा करेन्ट लागेर ४० वर्षीय झविन्द्र घिमिरेको मृत्यु भएको थियो।
- प्रहरी र स्थानीय निकायबीच छलफलपछि पीडित परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति र मृतककी श्रीमतीलाई रोजगारी दिने सहमति भयो।
- घटनापछि मृतकका छोराछोरीलाई मासिक १ हजार ४ सय रुपैयाँ छात्रवृत्ति र कक्षा १२ सम्म अध्ययनको व्यवस्था गरिएको छ।
१६ असार, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–७ वग्लाद्वनेटास्थित विद्युतीय पोलमा मर्मत गर्ने क्रममा करेन्ट लागेर ज्यान गुमाएका झविन्द्र घिमिरेको शव ३६ घण्टापछि परिवारले बुझेका छन् ।
शनिबार बिहान करेन्ट लागेर ४० वर्षीय घिमिरेको उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनापछि पीडित परिवारले प्राधिकरणबाट भएको कम्जोरीका कारणले मृत्यु भएको भन्दै क्षतिपूर्तिको माग राख्दै शव बुझ्न अस्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले जानकारी दिए ।
समस्या समधानका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा पीडित पक्ष, नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र र अन्य सरोकारवाला निकायबीच विस्तृत छलफल गरिएको थियो ।
छलफलपछि पीडित परिवारलाई तत्कालका लागि ५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने, मृतककी श्रीमतीलाई विद्युत प्राधिकरणमा अस्थायी रूपमा रोजगारी दिने र घटनामा संलग्न दोषी कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताए ।
गुल्मी वितरण केन्द्रका प्रमुख पोखरेलले सहमति अनुसार आवश्यक प्रक्रिया अघि बढाइने र मृतक परिवारलाई न्याय दिलाउने प्रतिबद्धता जनाए ।
त्यस्तै धुर्कोट गाउँपालिकाले मृतक घिमिरेका छोराछोरीलाई पढाइ खर्च स्वरुप मासिक १ हजार ४ सयका दरले ृपलब्ध गराउने समती भएको छ ।
उनीहरुले कक्षा १२ सम्म अध्ययन गर्नका लागि छात्रवृत्ति स्वरुप दिने सहमती भएको छ । स्थानियले यस्ता दुर्घटनाप्रति गम्भीरता देखाउन विद्युत प्राधिकरणलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया 4