
News Summary
Generated by OK AI. Editorially reviewed.- म्याङ्गो फेस्ट २०२५ काठमाडौंमा असार १३ देखि १५ सम्म आयोजना भयो र ९ मेट्रिकटनभन्दा बढी आँप बिक्री भयो।
- आयोजकले २० भन्दा बढी प्रजातिका आँप प्रदर्शनीमा राखेका थिए र जापानको मियाजाकी आँप समेत समावेश थियो।
- कृषि मन्त्री रामनाथ अधिकारीले महोत्सवले किसान र बजारबीचको दूरी घटाउने र उत्पादन प्रवर्द्धन गर्न मद्दत गर्ने बताए।
१६ असार, काठमाडौं । म्याङ्गो फेस्ट २०२५ मा ९ मेट्रिकटन भन्दा बढी आँप बिक्री भएको छ । काठमाडौंमा असार १३ देखि १५ गतेसम्म चलेको फेस्टमा ८ हजार भन्दा बढी आगन्तुकहरू आएको आयोजकले जानकारी दिएका छन् ।
काठमाडौँ अर्ग्यानिक्स, एग्रीनेपाल, अर्थियर एप, यूबी होल्डिङ्स र वाल्नट बिस्ट्रोको सहकार्यमा मेला आयोजना गरिएको थियो ।
आयोजकका अनुसार मधेसका बगैंचाबाट ल्याइएका माल्दाहा, दशहरी, जर्दा, किशनभोग र कुलकटिया आँप विक्रीका लागि राखिएको थियो । प्रदर्शनीमा २० भन्दा बढी प्रजातिका आँपहरू राखिएको थियो ।
यसमा विश्वकै सबैभन्दा महँगो मानिने जापानको मियाजाकी आँप पनि समावेश थियो । प्रदर्शन गरिएका सबै प्रजातिका बिरुवा ट्रपिकल होर्टिकल्चर सेन्टर, नवलपुर, सर्लाहीमा उपलब्ध हुने आयोजकले जनाएका छन् ।
कृषि मन्त्री रामनाथ अधिकारीले फेस्टको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा मन्त्री अधिकारीले यस्तो खालको महोत्सवले किसान र बजारबीचको दूरी घटाउन सहयोग गर्ने बताएका थिए ।
आँपबाट उत्पादन हुने क्यान्डी, अचार, पाककलासम्बन्धी परिकारहरूजस्ता उत्पादनहरू विकास गर्न जरुरी रहेको उनले बताए । यसले आन्तरिक खपत बढाउन र आर्थिक अवसर सिर्जना गर्न मद्दत गर्ने उल्लेख गरे ।
यो सबैका लागि खुला र समावेशी उत्सव रहेको काठमाडौँ अर्ग्यानिक्स का संस्थापक तथा नेपाल म्याङ्गो फेस्टका निर्देशक भुवन केसीले बताए ।
यो स्थानीय किसानहरूलाई सहयोग पुर्याउने र नेपालमै उत्पादन भएका सुरक्षित, कीटनाशकमुक्त आँपहरूको प्रवर्द्धन गर्ने प्लेटफर्म रहेको केसीले बताए ।
‘सुरक्षित र स्वस्थ आँप सबै उपभोक्ताको पहुँचमा हुनुपर्छ’ केसीले भने, ‘सरकार आफैंले दिगो कृषि प्रणालीका आँपहरूबारे जनचेतना बढाउने काम अघि बढाउनुपर्छ।’
प्रदर्शनीमा तीन रेस्टुरेन्टहरूले विशेष आँप मिश्रित परिकारहरू राखेका थिए ।
प्रतिक्रिया 4