
१८ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले काठमाडौंमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा आईसीयू सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद रिजालले ट्रमा सेन्टरमा आईसीयू सेवा विस्तार तथा एमआरआई सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार ट्रमा अस्पतालमा बेड क्षमताको कम्तीमा ३० प्रतिशत आईसीयू सेवा उपलब्ध हुनुपर्नेमा ट्रमा सेन्टरमा उक्त मापदण्डको पालना नगरिएको बताए ।
‘ट्रमा अस्पतालको प्रोटोकलअनुसार अस्पतालको बेड क्षमताको ३० प्रतिशत आईसीयू सेवा उपलब्ध हुनुपर्छ । नेपाल सरकारको एकमात्र विशिष्टकृत ट्रमा सेन्टरमा दुई सय बेडको क्षमता भए पनि जम्मा १० बेडमात्र आईसीयू सेवा रहेको छ । यो अस्पतालमा अति आवश्यक पर्ने एमआरआई सेवा समेत नरहेको अवस्था छ,’ उनले भने ।
उनले ट्रमा सेन्टरमा अहिले कार्यरत जनशक्तिले नै थप ५० आईसीयू सेवा दिनसक्ने सम्भावना रहेको भन्दै तत्काल सेवा विस्तार र एमआरआई जडानका लागि सरकारसँग माग गरे ।
चिकित्सककाअनुसार ट्रमा बिरामीलाई चार घण्टाभित्र उपचार सेवा दिनुपर्ने हुन्छ ।
उनले भने, ‘तर त्यहाँ आईसीयू सेवा नहुँदा बिरामीलाई अन्यत्र निजी अस्पतालमा लैजानुपर्ने बाध्यता छ । कतिपय अवस्थामा बिरामीको मृत्यु समेत हुने गरेको छ ।’
उनले थपे, ‘अस्पताल प्रशासनका अनुसार राष्ट्रिय ट्रमा अस्पतालमा अहिले भएको जनशक्तिले नै प्रोटोकलअनुसारको थप ५० आईसीयू दिनसक्ने भएकाले त्यहाँ तत्काल आईसीयू सेवा विस्तार गर्न र एमआरआई सेवा समेत तत्काल व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’
सांसद रिजालले ट्रमा बिरामीहरुले आईसीयूको अभावमा अन्यत्र जानुपर्ने तथा अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया 4