१८ असार, काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।
नेपालले लाओससँग खेलेको खेलबाट एक परिवर्तन गरिएको छ । सरु लिम्बुको ठाउँमा प्रीति राई टिममा आएकी छन्।
गोलकिपरमा अन्जना रानामगर छन् । डिफेन्समा समीक्षा घिमिरे, गिता राना र निशा थोकर छन् ।
मिडमा प्रीतिसँगै रेनुका नगरकोटे, सरस्वती हमाल, सबिता रानामगर, अनिता बस्नेत छन् भने फरवार्डमा साबित्रा भण्डारी र रश्मी घिसिङ छन् । रेखा पौडेल र एन्जिला सुब्बा फेरि पनि पहिलो रोजाइमा नै परेनन् ।
खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा लाओसमाथि ९-० को फराकिलो जित निकालेको थियो । नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत रहेको उक्त खेलमा नेपालको नयाँ कप्तानको रूपमा सावित्रा भण्डारी साम्बाले जिम्मेवारी सम्हालेकी थिइन् र एक्लैले ४ गोल पनि गरिन् ।
यस्तै लाओस विरुद्धको खेलबाटै मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले पनि सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन् । पहिलो खेलकै लयलाई दोस्रो खेलमा कायम राख्ने लक्ष्यमा नेपाल छ ।
समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ भने त्यसले अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ ।
प्रतिक्रिया 4