
१८ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा २ सय नयाँ झोलुङ्गे पुल निर्माण गर्ने भएको छ ।
शहरी विकास मन्त्रालयले सो योजना रहेको सार्वजनिक गरेको हो । यस आवमा १ सय वटा पुलको भने मर्मत गरिने भएको छ । ४० वटा नयाँ सडक पुल यस मन्त्रालयको बजेटमा बनाउने लक्ष्य राखिएको छ । ३० सडक पुल मर्मत गरिने भएको छ ।
यस आवमा २४९ सिँञ्चाइ आयोजना सम्पन्न गरी ३ हजार ७ सय हेक्टर जमिन सिञ्चित गर्ने लक्ष्य सार्वजनिक गरिएको छ ।
यो वर्ष १ सय किलोमिटर सडक निर्माण गरिने भएको छ । ३ सय किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको छ । ६० वटा स्थानीय तहका प्रशासकीय भवन निर्माण भएको हुने समेत मन्त्रालयले वनाएको छ ।
उपत्यकाका नदी, खोला करिडोरमा १० किलोमिटर सडक स्तरोन्नतिको लक्ष्य राखिएको छ । काठमाडौंमा २६ स्थानका सार्वजनिक जग्गा संरक्षण र पार्क निर्माणको लक्ष्य छ ।
उपत्यकाको चार स्थान जितपुर फेदी, डुकछाप, इशान नयाँ शहर र ताथवी चलाबुमा जग्गा एकीकरणको भौतिक विकास योजना स्वीकृत गराई जग्गा विकासको काम सुरु गरिने मन्त्रालयले जनाएको छ ।
बागमती नदीमा सौन्दर्यकरण, टुकुचा फोहोरपानी प्रशोधन केन्द्र डिजाइन र निर्माण ५० प्रतिशत सक्ने लक्ष्य राखिएको छ । बागमती र यसका सहायक नदीमा २.५ किलोमिटर नदी तटबन्द बनाइने भएको छ ।
प्रतिक्रिया 4