+
+
Shares
अन्तर्वार्ता :

‘नो कम्प्रमाइज’ वाचा सजिलो हुँदैन, तर जसले गर्छ शिर सधैं ठाडो हुन्छ

शिवम्ले निरन्तर प्रवद्र्धनात्मक अभियान चलाइरहेको छ । यस दौरान हामीले सिधै ब्रान्डलाई प्राथिमकता दिएर प्रचार गर्दैनौं । बरु, हाम्रो प्रवद्र्धनात्मक अभियानलाई सामाजिक उत्तरदायित्वसँग जोड्छौं । असल नागरिक भने जस्तै हामी असल कम्पनी हौं ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिवम् सिमेन्टले ‘नो कम्प्रमाइज’ ब्रान्डको दोस्रो संस्करण सार्वजनिक गरी गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
  • नेपालमा सिमेन्ट उद्योगको वर्तमान अवस्था सुधार हुँदै गएको र सरकारको नीति अनुकूल भएमा भविष्य उज्ज्वल हुने कम्पनीले बताए।
  • कम्पनीले सामाजिक जागरुकता र गुणस्तरलाई मुख्य प्राथमिकता दिएर बजारमा आफ्नो स्थान मजबुत बनाएको छ।

शिवम् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड क्याम्पेन ‘नो कम्प्रमाइज’ को दोस्रो संस्करण सार्वजनिक गरेको छ । ‘नो कम्प्रमाइजको वाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सधैं ठाडो हुन्छ’ भन्ने जनचेतनामूलक सन्देश सहित आएको यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिबद्धता अझ मजबुत रूपमा प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।

शिवम्को नयाँ क्याम्पेन, सिमेन्ट उद्योगको वर्तमान अवस्था, अवसर र चुनौतीबारे अनलाइनखबरले शिवम् सिमेन्टका नायबमहाप्रबन्धक अशोक निरौलासँग गरेको कुराकानी :

नेपालमा सिमेन्ट उद्योगको वर्तमान अवस्था कस्तो छ ?

नेपालमा अहिलेसम्म १ सय २४ कम्पनी दर्ता भएका छन् । त्यसमध्ये ५५ कम्पनीमात्र सञ्चालनमा छन् । केही पहिला सिमेन्ट उद्योग कच्चापदार्थमा भारतमा निर्भर रहनुपर्ने अवस्था थियो । सिमेन्टका लागि मुख्य कच्चापदार्थ चुनढुंगा हो ।

त्यो अहिले नेपालमै पर्याप्त उत्पादन हुन थालेसँगै क्लिंकर आयात गर्नुपर्ने बाध्यता हटेको छ । क्लिंकरको नाममा भारत गइरहेको ठूलो रकम आज स्वदेशमै रोकिने अवस्था बनेको छ । यो सकारात्मक पक्ष हो ।

कोभिडपछि समस्यामा परेका उद्योग अब जुर्मुराउन थालेका हुन् ?

कोभिड महामारीले विश्वव्यापी अर्थतन्त्रमा असर गर्‍यो । त्यसबाट नेपाल पनि अछुतो रहेन । सिमेन्ट उद्योगमा पनि यसको असर देखियो । यो अवधिमा सिमेन्ट कम्पनीलाई अस्तित्व जोगाउनै समस्या देखियो ।

उद्योगहरूले यो समयमा आफ्नो उत्पादन घाटामा बेच्नुपरेको अवस्था थियो । भोलि सुधार होला, आज त बच्नुपर्‍यो भन्ने मान्यता थियो । ब्यालेन्स सिट हेर्दा पनि सिमेन्ट उद्योगको अवस्था कस्तो थियो भन्ने स्पष्ट हुन्छ ।

ठ्याक्कै आजको दिनमा भने सुधार भएको हो ?

पछिल्लो ६÷७ महिनायता भने अवस्थामा केही सुधार आएको देखिन्छ । विगतमा गरेको घाटा बिस्तारै परिपूर्ति हुने सकारात्मक संकेत देखिएको छ । आजको दिनमा नाफामा त छैनौं, तर उद्योगहरू टिक्न सक्ने अवस्थामा पुगेका छन् । आउने दिन आशालाग्दा हुने छन् भन्नेमा हामी विश्वस्त छौं ।

यसको आधार के हो ?

नेपाल विकासशील मुलुक हो । हामीले धेरै पूर्वाधारमा काम गर्नुपर्छ । त्यो प्रक्रियामा लम्किरहेको अवस्थामा पनि सिमेन्ट उद्योगको भविष्य उज्ज्वल छ । यसमा सरकारका नीति पनि उद्योगमैत्री चाहिन्छ । सबै वातावरणले साथ दियो भने नेपालको समृद्धिमा सिमेन्ट उद्योगले ठूलो योगदान दिने छ ।

शिवम्ले अहिले नयाँ क्याम्पेन थालेको छ, त्यसको अवधारणा के हो ?

शिवम्ले निरन्तर प्रवद्र्धनात्मक अभियान चलाइरहेको छ । यस दौरान हामीले सिधै ब्रान्डलाई प्राथिमकता दिएर प्रचार गर्दैनौं । बरु, हाम्रो प्रवद्र्धनात्मक अभियानलाई सामाजिक उत्तरदायित्वसँग जोड्छौं । असल नागरिक भने जस्तै हामी असल कम्पनी हौं । सोहीकारण सामाजिक जागरुकतालाई मुख्य प्राथमिकता दिन्छौं । त्यही दौरान हामी ब्रान्ड प्रमोसन पनि गर्छौं ।

यसअघि हामीले ‘नो कम्प्रमाइज’ नाममा सचेतनामूलक प्रवर्द्धनात्मक अभियान चलाएका थियौं । त्यसको सन्देश आफ्नो हक अधिकारका लागि सबै नागरिक जागरुक हुनुपर्छ, लड्नुपर्छ भन्ने थियो । मठमन्दिर, बिजुलीको बिल तिर्ने स्थान वा पासपोर्टको लाइनमा बस्दा लाइन मिच्नु हुँदैन है भन्ने सन्देश हामीले दिने कोसिस गर्‍यौं ।

जेब्राक्रसमा पैदल यात्रुको अधिकारदेखि सडकमा लेन मिच्नु हुँदैन भन्ने सन्देश समेत हामीले विज्ञापनका अभियानका माध्यमबाट दिने प्रयास गर्‍यौं । सार्वजनिक यातायात चढ्दा महिला सिटमा पुरुष बस्न नहुने, खुद्रा पैसा फिर्ता माग्न हिच्किचाउनु हुँदैन भन्ने विषयलाई समेत क्याम्पेनको मुख्य विषयवस्तु बनाएका थियौं ।

त्यसकारण हाम्रा विज्ञापनहरु केवल ब्रान्ड प्रचारलाई मात्र नभई सामाजिक सचेतनामूलक बनुन् भन्ने प्रयास हामीले गरेका छौं । आगामी दिनमा समेत हामी यसैतर्फ केन्द्रित छौं । हिजो नो कम्प्रमाइज क्याम्पेन अत्यधिक सफल भयो । मान्छेले शिवम्को पर्यावाचीका रूपमा यस क्याम्पेनलाई लिए । विज्ञापनभन्दा पनि त्यसमा केही न केही सामाजिक सन्देश छ । त्यसैको दोस्रो संस्करणका रूपमा नयाँ क्याम्पेन लन्च गरिएको छ ।

नो कम्प्रमाइज अभियानको दोस्रो संस्करणको विशेषता के हो ?

गुणस्तरका मामलामा कहिल्यै सम्झौता नगर्ने दृढ अडानसाथ नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाइसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड क्याम्पेन ‘नो कम्प्रमाइज’ को दोस्रो संस्करण सार्वजनिक गरेको हो ।

‘नो कम्प्रमाइजको वाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सधैं ठाडो हुन्छ’ भन्ने जनचेतनामूलक सन्देश यो अभियानको मुख्य विशेष हो । यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिबद्धता अझ मजबुत रूपमा प्रस्तुत गरेको छ । शिवम् सिमेन्टले स्थापनाकालदेखि नै ओपीसी सिमेन्टमात्र उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ । गुणस्तरप्रति कहिल्यै सम्झौता नगर्ने नीति हाम्रो छ ।

सुरुको अभियानमा हामीले जनचेतना जगाउने काम गर्‍यौं । अब हामी जनचेतनामा उठाएका विषयको कार्यान्वयन जाने विषयको सिरिज थालेका छौं । जो सुकै होस्, कानुनको दृष्टिमा समान हो । गल्ती गर्दा सबै कारबाहीको दायरामा आउनुपर्छ भन्ने सन्देश दिन खोजेका छौं । अहिलेको क्याम्पेनमा सडकमा सवारी हाँकिरहेको एक जना सेलिब्रेटीले नियम मिच्छन् ।

उनलाई ट्राफिक प्रहरीले कारबाही गर्छन् । जोसँग कारबाही गर्न सक्ने अधिकार छ, उसले कसैको प्रलोभन, डर, धम्कीको प्रभावमा नपरी निर्णय गर्न पाउनुपर्छ भन्ने सन्देश यस क्याम्पेनले दिन खोजेको हो । हामी मुलुकमा पनि यस्तै व्यवस्थित प्रणालीको अपेक्षा गर्छौं । आगामी दिनमा अरू विषयमा पनि सिरिज आउनेछन् । पहिलो सिरिज यातायात व्यवस्थापनमा आधारित भएर बनाइएको छ ।

प्रवर्द्धनात्मक अभियानलाई जनताको दैनिकीसँग जोड्नुको उद्देश्य के हो ?

जुन कुरा व्यक्तिले दैनिक जीवनमा भोगिरहेको छ, त्यसलाई विज्ञापनको माध्यम बनाउँदा त्यसले दिने सन्देश अझ प्रभावकारी हुने रहेछ । दैनिक जीवनमा अरूका धेरै गल्तीलाई हामीले ‘होस् न त’ भनेर छाडिदिने गर्छौं । तर, त्यो तपाईंको अधिकार हो । तपाईंले नै त्यसको दाबी गर्नुपर्छ भन्ने विषय हामी विज्ञापनका माध्यमबाट जनतालाई जागरुक बनाउन खोजिरहेका छौं ।

स–साना कुराबाटै सुधार गर्ने हो, स–साना कुरामै कम्प्रमाइज गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो । यो शिवम् सिमेन्टका हकमा नै लागु हुन्छ । हामी उत्पादनका दौरान स–साना कुरामा सम्झौता गर्दैनौं । त्यसकारण हामी आज नम्बर १ कम्पनीका रूपमा स्थापित छौं । कम्प्रमाइज गर्दै कतिपय कुरामा हात छाडिदिएको भए आज यो ताज प्राप्त हुने थिएन ।

यसबीच ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’ जस्ता सशक्त नाराले शिवम् ब्रान्डको मूल पहिचान निर्माण गरेको हो । आफ्नो गुणस्तरका कारण नै शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक ‘एनएस क्वालिटी अवार्ड–२०१९’ प्रथम पुरस्कारबाट सम्मानित समेत भएको थियो ।

यस्तो अभियानबाट कम्पनीले पाएको फाइदा के हो ?

हामीले अरूलाई कम्प्रमाइज नगर भन्दै गर्दा हामीले पनि गुणस्तरमा कम्प्रमाइज गरेनौं । बिक्रीपछिको सेवामा गरेनौं । त्यसकै परिणाम हामीले जनताबाट अटुट माया पाएका छौं । भूकम्पका बेला हामीले साबिककै मूल्यमा ५ किलो अतिरिक्त सिमेन्ट दिएका थियौं ।

कोभिड महामारीका बेला अरूले उत्पादन ठप्प बनाउँदा हामीले जोखिम लिएरै उत्पादन निरन्तरता दियौं । मोबाइल एप बनाएर घर बसीबसी अर्डर गर्न सक्ने सुविधा ल्यायौं । त्यसकारण हामीले क्याम्पेनमा देखाए जस्तै जसरी नियम मिच्ने सेलिब्रेटीलाई कारबाही गर्दा ट्राफिकको शिर ठाडो छ, हाम्रो पनि शिर ठाडो छ भन्न खोजिएको हो ।

वर्षायाम निर्माणको अफ सिजन हो, यस्तो बेला नै किन यो अभियान ल्याउनुभयो ?

हामी वर्षभरि नै यस्ता अभियान जारी राख्छौं । सिजनमा यसै पनि चलिरहेको हुन्छ । अफ सिजनमा प्रवद्र्धन गर्दा एक त ब्रान्डबारे उपभोक्तामा सकारात्मक सन्देश प्रवाह भइराख्छ । थोरै पनि प्रयास गरियो भने त्यसले ठूलो सुधार ल्याउँछ ।

सुनसान वातावरणमा एउटा पिन झार्दा पनि ठूलो आवाज आउँछ । भिडभाडमा त्यस आवाजको कुनै मूल्य हुँदैन । त्यसकारण अफ सिजनमा पनि हामी सिमेन्टको प्रवद्र्धनलाई भने निरन्तर अगाडि बढाउने गर्छौं । हामी उपभोक्तासँग निरन्तर जोडिन समेत यस्ता क्याम्पेन गरिरहेका हुन्छौं ।

शिवम्को  समग्र यात्रा कस्तो रहेको छ ?

शिवम् सिमेन्टले सन् २००३ देखि उत्पादन थालेको हो । अहिले हामी नेपालको नम्बर १ कम्पनी बन्न सफल भएका छौं । छोटो समयमा यति लोकप्रिय हुनुमा गुणस्तर नै मुख्य कारण हो । दोस्रो कारण निरन्तरता हो । हामीले हरेक कणमा निरन्तर गुणस्तर दिएका छौं, त्यसलाई जुनसुकै कठिन परिस्थितिमा पनि खस्कन दिएनौं ।

एकनासको गुणस्तर दिन्छौं । हाम्रो नरोकिने वितरण प्रणालीले समेत उपभोक्ताको विश्वास जित्न सफल भएका हौं। भूकम्प, नाकाबन्दी, कोभिडजस्ता विपद्मा अरू कसैले दिन नसक्दा पनि हामीले सेवा रोकेनौं । दरमा पनि तलमाथि गरेनौं । आजका दिनमा सिमेन्ट अत्यावश्यक भइसक्यो ।

सडक, जलविद्युत्, विमानस्थल, होटलसहित जति पनि मेगा परियोजना छन्, त्यसमा हाम्रो दरिलो उपस्थिति छ । पहिलो प्राथमिकतामा शिवम् सिमेन्ट पर्छ । हामी ओपीसी सिमेन्टमात्र उत्पादन गर्छौं । किनकि, गाई र बाच्छा सँगै राख्यो भने बाच्छाले गाईको दूध चोर्छ चोर्छ भन्ने मान्यता हाम्रो छ । सरकारी बाहेक हामी एकमात्र कम्पनी हौं, जसले ओपीसी ब्रान्डमात्र उत्पादन गर्छ । यो हाम्रा लागि गर्वको विषय हो । ओपीसी मात्र उत्पादन गरेका कारण हामी गुणस्तरमा सधैं सफल भएका हौं ।

बजारमा प्रतिस्पर्धा कस्तो छ ?

बजारमा स्वस्थ प्रतिस्पर्धालाई हामी सधै स्वागत गर्छौं । हुनु पनि पर्छ । त्यसले एकातर्फ मूल्य नियन्त्रणमा रहन्छ भने दोस्रो गुणस्तरमा कम्प्रमाइज गर्ने छुट हुँदैन । त्यसकारण हामी जहिले पनि प्रतिस्पर्धा नै चाहन्छौं । यति हो, त्यो स्वस्थ होस् । अस्वस्थ प्रतिस्पर्धा कुनै पनि उद्योगमा राम्रो हुँदैन ।

सिमेन्ट निर्यातको तयारी के छ ?

अहिले हामीले स्वदेशकै माग पूरा गर्नेतर्फ नै ध्यान दिइरहेका छौं । नेपालमा सिमेन्टको माग निरन्तर बढ्दो छ । विकास निर्माणका कामले गति लिने र निजी आवासमा समेत यसको माग बढ्दा केही वर्ष हाम्रो उत्पादन स्वदेशमै केन्द्रित हुन्छ । भविष्यमा निर्यातको सम्भावनाको ढोका त खुलै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?