
२० असार, काठमाडौं । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरूले उद्यमशीलतामा नै आफ्नो सुनौलो भविष्य देख्नुपर्ने बताएका छन् । आजका युवाले जागिरमा भन्दा उद्यमशीलतामा राम्रो गर्न सक्ने जिकिर उनको थियो ।
पोखरा विश्वविद्यालय अन्तर्गत सिनामंगल स्थित सेन्ट्रल कलेजद्वारा आयोजित ’युवा नेतृत्व तथा उद्यमशीलता विकास’ सम्वन्धि कार्यशालामा वस्नेतले सो धारणा राखेका हुन् । ‘राज्यले सबैलाई जागिर दिन सक्दैन, त्यसैले आम युवाहरूका लागि उद्यममैत्री वातवरण बनाउनुपर्दछ,’ उनले भने ।
बस्नेतले अध्ययनलाई उद्यमसँग जोड्नुपर्ने पनि बताए । ‘हामीले शिक्षालाई श्रमसित, श्रमलाई सिपसित, सिपलाई उत्पादन र रोजगारीसित, त्यसलाई समृद्धिसित जोड्नुपर्दछ,’ उनले भने ।
युवाहरू भविष्यको कर्णधारमात्र नभएर वर्तमानका अंशियार भएको उनको भनाइ थियो ।
सेन्ट्रल कलेजका प्रिन्सिपल पारस श्रेष्ठले आफुहरुले केबल सैध्दान्तिक शिक्षा मात्र नभएर उद्यमशीलतामैत्री शिक्षामा जोड दिएको उनले बताए । श्रेष्ठले युवाहरूलाई हातमा सिप र काँधमा जिम्मेवारी वोक्न सक्ने वनाउन आफुहरु समर्पित भएको बताए ।
१५० जना युवा सहभागी कार्यक्रममा ब्यवस्थापनका विद्यार्थीका फरक फरक समुहले विषयगत प्रस्तुतिकरण समेत गरेको सहायक प्रिन्सिपल गणेश बुढाथोकीले जानकारी दिए ।
कार्यक्रममा खेलकुद सप्ताहका विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरिएको बुढाथोकीले जनाए ।
प्रतिक्रिया 4