+
एएफसी महिला एसियन कप छनोट :

महिला फुटबलमा फेरि निराशा, गुम्यो अवसर

२०८२ असार  २१ गते २३:५७ २०८२ असार २१ गते २३:५७
महिला फुटबलमा फेरि निराशा, गुम्यो अवसर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला फुटबलले एसिया कपमा छनोट हुन नसक्दा तीन मुख्य प्रतियोगिताको अवसर गुमाएको छ।
  • खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भयो।
  • सावित्रा र अन्जना राना मगर पेनाल्टीमा चुके।

२१ असार, काठमाडौं । निकै नजिक, तर अझै टाढा । नेपाली महिला फुटबलमा यस्तो अवसर आउने जाने धेरै भइसक्यो ।

एक पटक महिला फुटबलमा नेपाली समर्थक फेरि निराश बनेका छन् । महत्वपूर्ण तथा निर्णायक खेलमा जित नजिक पुगेर पनि नेपालले सफलता हात पार्न सकेन ।

नेपाली महिला फुटबलकै भविष्य जोडिएको खेलमा उज्वेकिस्तानसँग उत्कृष्ट पुनरागमन गर्नका बाबजुत पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपाल महिला एसिया कपमा छनोट हुन असफल भएको छ ।

निर्धारित समयमा दुई गोलले पछि परेको नेपालले कप्तान सावित्राको प्रेरणादायी प्रदर्शनमा निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरीमा पुर्‍याएको थियो ।

खेल बराबरी भएपछि अंक र गोल अन्तर सबै बराबरी हुने हुँदा समूह विजेताको टुङ्गो पेनाल्टीसुटआउटमा लगाइएको हो । जसमा कप्तान सावित्रा नै चुक्दा नेपालले अवसर गुमायो । उज्बेकिस्तानका चारै खेलाडीले पेनाल्टीमा गोल गरे ।

नेपालका लागि पहिलो पेनाल्टी नै सावित्राले गुमाएपछि गीता राना र सविता राना मगरले गोल गरिन् । तर चौथो पेनाल्टी गोलकिपर अन्जना राना मगरले मिस गरेपछि नेपाल पेनाल्टीसुटआउटमा ४-२ ले पराजित भयो ।

यो हार नेपालका लागि एउटा खेलमा मात्र हार थिएन । नेपाली महिला फुटबलले पनि धेरै कुरा गुमाउने छ । नेपाल महिला एसियन कपमा छनोट हुन सकेन भने उत्कृष्ट टिमले पनि एसियन कप खेल्ने पाएन ।

लगातार दोस्रो पटक महिला एसियन कप छनोट खेलेको नेपाल लगातार दुवै पटक एसियन कपमा पुग्न सकेन ।

यसको अर्थ नेपालले महिला एसिया कप मात्र गुमाएन, फिफा महिला विश्वकप २०२७ र लस एन्जलस ओलम्पिक २०२८ को पनि ढोका बन्द भएको छ ।

मिल्ली स्टेडियममा खेलेको दोस्रो मिनेटमै घरेलु टोली उज्वेकिस्तानले गोल गर्दै अग्रता लिएको थियो । खाबीबुल्लाएभाले गोल गर्दै अग्रता दिलाएकी थिइन् । नेपालकी गीता रानाले क्लियर गर्न नसकेको बलमा खाबिबुल्लाएभाले गोल गरेकी हुन् ।

११औं मिनेटमा उज्बेकिस्तानले दोस्रो गोल गर्‍यो । यस पटक कप्तान काराचिकले बाँया भागबाट एक्लै बक्सभित्र लगेर प्रहार गरेको बल डिफेन्डर समीक्षा घिमिरेलाई लागेर गोल भएको थियो ।

नेपालले दुई गोलले पछि परेपनि गोल फर्कायो । कप्तान साबित्रा भण्डारीले २४औं मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर ३९औं मिनेटमा उज्बेकिस्तानले पेनाल्टी पाउनु नेपालका लागि दुर्भाग्य बन्यो । शोएमोभले पेनाल्टीमा गोल गर्दै उज्बेकिस्तानलाई ३-१ को अग्रता दिलाइन् ।

पहिलो हाफको अन्तिममा खेलले अर्को नाटकिय मोड लियो । एन एर्गासेभाले पहिलो हाफको इन्जुरी टाइममा रातो कार्ड (दोहोरो पहेंलो कार्ड) सामना गर्दै मैदान बाहिरिएपछि उज्बेकिस्तान १० खेलाडीमा समेटियो ।

उज्बेकिस्तानले दोस्रो हाफ पूरा एक खेलाडी कम रहेर खेलेको थियो । यस्तफमा ११ भर्सेस १० जनाबीच प्रतिस्पर्धा भयो । तर नेपालले विपक्षी टिममा एक खेलाडी कम भएको फाइदा उठाउन सकेन ।

महिला एसियन कप र विश्वकप र ओलम्पिकको पनि छनोटको आधार भएकोले एसियन कपमै छनोट नहुँदा नेपालले एकै पटक तीन मुख्य प्रतियोगिताको अवसर गुमाएको हो ।

उज्बेकिस्तानको तास्केन्तमा भएको महिला एसिया कप छनोटको समूह एफमा रहेको नेपाल घरेलु टोलीसँग पछि पर्दै दोस्रो भयो । छनोटबाट समूह विजेता टोली मात्र अर्को वर्ष मार्चमा अष्ट्रेलियामा हुने एसियन कपमा पुग्ने थियो ।

त्यसैले दुवै टिमलाई अन्तिम दखेलमा डु अर डाईको अवस्था थियो । जित्नैपर्ने खेलमा नेपालले नतिजा आफ्नो पक्षमा पार्न नसक्दा नेपाली महिला फुटबल तत्कालका लागि पछाडि धकेलिने पक्का छ ।

नेपाल र उज्बेकिस्तान दुवैले यसअघि समूहको खेलमा लाओस र श्रीलंकामाथि फराकिलो जित हासिल गर्दै निर्णायक भिडन्त पक्का गरेका थिए ।

नेपालले लाओसलाई ९-० र श्रीलंकालाई ८-० ले पराजित गरेको थियो । उज्बेकिस्तानले श्रीलंकालाई १०-० र लाओसलाई ७-० ले पराजित गरेको थियो । दुवैले अन्तिम खेलअघि क्लिनसिट राख्दै दुई जितबाट समान ६ अंक जोडेको थियो भने समान १७ गोल नै गरेको थियो । त्यसैले अन्तिम खेल दुवैका लागि जित्नैपर्ने स्थितीमा पुगेको हो । त्यसमा घरेलु टोली उज्बेकिस्तान नै सफल भयो ।

यस पटक महिला एसियन कपमा छनोट हुन असफल भएपछि नेपाली महिला फुटबलको एउटा सुनौलो पुस्ताको एसियन कप खेल्ने सपना अधुरो हुने भएको छ ।

गोलकिपर तथा निवर्तमान कप्तान एन्जिला तुम्बापो सुब्बाले उज्बेकिस्तान जानुअघि नै यसपटक राम्रो अवसर रहेको र चार वर्षपछि खेल्न/नखेल्ने टुङ्गो नभएको बताएकी थिइन् । उनका लागि त उज्बेकिस्तान टुर बिर्सनलायक नै बन्यो । उनले यसअघि नियमित रुपमा गर्दै आएकी कप्तानी र गोलकिपर दुवै भूमिका गुमाइन् । कप्तानी आर्मब्यान्ड गुमाएसँगै उनले पहिलो रोजाइमा गोलपोष्ट सम्हाल्न समेत पाइनन् ।

यस्तै महिला फुटबलमा नयाँ प्रशिक्षक प्याट्रिक डे वाइल्ड र टिम म्यानेजमेन्टको विवाद पनि यसपटक उज्बेकिस्तानमै छताछुल्लो भयो । नेपालकी गोलमेसिन र युरोपमा व्यावसायिक फुटबल खेलेर कीर्तिमान रचेकी सावित्राले महिला फुटबलको १००औं अन्तर्राष्ट्रिय खेलमा कप्तानी गर्दै ह्याट्रिक समेत गरिन् । तर त्यो खुशी पनि लामो समय टिक्न सकेन । कप्तान परिवर्तन गर्ने विषय पनि यस पटक निकै विवादित नै बन्यो ।

दक्षिण एसियाबाट छिमेकी भारत र बंगलादेश महिला एसिया कपमा छनोट हुँदा नेपाल भने असफल बन्दा नेपालको फुटबलको अवस्था कस्तो छ र कसरी चलिरहेको छ भन्ने पनि प्रष्ट भएको छ ।

कुनै समय नेपालका लागि भारत बलियो चुनौतीको रुपमा रहेपनि पछिल्लो समय बंगलादेशले नै नेपाललाई नियमित जस्तो हराउन थालिसकेको छ । नेपालले पछिल्ला साफ च्याम्पियनसिपमा भारतलाई हराएपनि बंगलादेशसँग आफैं पराजित हुँदै आएको छ ।

बंगलादेशले ग्रासरुट फुटबल देखि नै लगानी गर्दै अन्तर्राष्ट्रिय स्तरमा फड्को मार्दा नेपाल भने जहिको त्यही छ ।

बंगलादेशले पछिल्लो चार वर्षमै नेपालमै आएर दुई पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितिसक्दा नेपाली महिला टोली १३ पटक फाइनल खेलेर पनि उपविजेतामै सिमित छ ।

अहिलेसम्म महिला फुटबलमा कुनै उपाधि जित्न नसक्नु नेपाली फुटबलको अर्को तितो सत्यको रुपमा रहेको छ ।

नेपाली महिला फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय