+
एएफसी महिला एसियन कप छनोट :

उज्बेकिस्तानसँग टाइब्रेकरमा चुक्दा नेपाल एसियन कपमा छनोट हुन असफल

२०८२ असार  २१ गते २३:३५ २०८२ असार २१ गते २३:३५
उज्बेकिस्तानसँग टाइब्रेकरमा चुक्दा नेपाल एसियन कपमा छनोट हुन असफल

२१ असार, काठमाडौं । नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार भएको खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै नेपाल नजिक पुगेर अभागी साबित भएको हो ।

छनोट खेल अन्तर्गत समूह एफको अन्तिम खेलमा निर्धारित खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो जहाँ नेपाल ४-२ ले पराजित भयो ।

साबित्रा भण्डारीको प्रहार बारमा लाग्दा गोलकिपर अन्जना रानामगरको प्रहार विपक्षी गोलरक्षकले बचाइन् । त्यसबीचमा गिता राना र सबिता रानामगरले गोल गरे ।

उज्बेकिस्तानका लागि भने ४ वटै पेनाल्टी सफल भयो । माफ्तुना शोयीमोभा, नोजिमाखोन एर्गाशेभा, मादिना खिमातोभा, सेभिन्च कुचकोरोभाले गोल गरे ।

उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो । ११औं मिनेटमा उज्बेकिस्तानले अग्रता दोब्बर पार्‍यो ।

कप्तानले बाँया भागबाट एक्लै बक्सभित्र लगेर प्रहार गरेको बल डिफेन्डर समीक्षा घिमिरेलाई लागेर गोल भएको थियो ।

२४औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरिन् । तर ३९औं मिनेटमा पेनाल्टीमार्फत शोएमोभले गोल गर्दै उज्बेकिस्तानको अग्रता फेरि बढाइन् ।

यद्यपी पहिलो हाफको इन्जुरी समयमा एन एर्गासेभाले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि उज्बेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित रहेर खेलेको थियो ।

नेपालले पहिलो हाफमै एक खेलाडी परिवर्तन गरेको थियो । डिफेन्डर निशा थोकरको स्थानमा प्रीति राई ३०औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् ।

दोस्रो हाफको ७०औं र ७१औं मिनेटमा सावित्राले लगातार गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । त्यसपछि थप गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो ।

नेपालले एसियन कपको अवसर मात्र नभएर अन्य प्रतियोगिताहरू खेल्ने अवसर पनि गुमाएको छ ।

एएफसी महिला एसियन कप छनोट नेपाली महिला फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय