
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले सर्वोच्च अदालतको फैसलाप्रति संशय व्यक्त गरे।
- उनले सत्ता गठबन्धन र संवैधानिक पदाधिकारीको नियुक्तिमा चलखेलको आशंका गरे।
२२ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले संवैधानिक पदाधिकारीको नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति संशय व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको नियुक्तिविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले तत्कालीन सरकारले गरेको निर्णयलाई सदर गरेको थियो ।
सर्वोच्चले गरेको फैसला एमालेकै चालअनुसार भएको हो कि भनी वाग्लेले आशंका व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा वाग्लेले भने, ‘सत्ता गठबन्धनमै रहेको अर्को दलले अज्ञात रूपमा रहस्यमय चलखेल गरिरहेको छ कि, त्यसप्रति नेतृत्व तहलाई सचेत गराउन चाहन्छु ।’
केन्द्रीय सदस्य वाग्लेले सत्ताको नेतृत्व गरिरहेको दल एमालेको नाम नलिई निजामती विधेयकमा पनि चलखेल भएको हुनसक्ने आशंका गरे ।
‘निजामती विधेयक जो विशेषगरी कांग्रेसको पहलमा संसद्मा पेस गरियो, त्यसमाथि गरिएको छेडखानी होस् या हालै मात्र सर्वोच्चले गरेको फैसला होस्,’ वाग्लेले भने, ‘हाम्रो संवैधानिक पद्धतिलाई लज्जित बनाएको छ, बेइज्जत गरेको छ । आज अध्यादेशमार्फत मुलुकको आधारभूत संवैधानिक प्रावधानहरूमाथि संशोधन गर्न सकिन्छ ?’
सर्वोच्चको फैसलाले कतै अज्ञात कोठाबाट अदालतलाई प्रभावित पारेर संवैधानिक अंगहरूमा कब्जा जमाउन खोजिएको त होइन भन्दै उनले आशंका गरे ।
नेतृत्वको ध्यानाकर्षण गराउँदै वाग्लेले भने, ‘आज यो आशंकालाई पनि सतर्कतापूर्वक अध्ययन गर्नुहुन म नेतृत्व समक्ष आग्रह गर्छु ।’
सत्ता गठबन्धन बाध्यात्मक व्यवस्था भए पनि यसको प्रभावकारिता, जनतामा देखिएको उद्विग्न, बेचैनी र छट्पटी हटाएर सरकारको प्रभावकारिताको मूल्यांकन हुनुपर्ने उनले बताए ।
प्रतिक्रिया 4