
२३ असार, काठमाडौं । मधेस केन्द्रित दलहरुको संघीय लोकतान्त्रिक मोर्चाको बैठक बोलाइएको छ । मंगलबार (भोलि) का लागि बैठक आव्हान गरिएको छ ।
बैठकको एजेन्डामा रुपन्देही क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचन, निजामती विधेयक, संवैधानिक नियुक्ति र विविध रहेका छन् ।
भोलिको बैठक आह्वान तराई–मधेस लोकतान्त्रिक पार्टीले गरेको छ । मोर्चामा आलोपालो बैठक बोलाउने र बैठक आह्वान गर्ने दलले अध्यक्षता गर्ने सहमति बनेको छ । भोलिको बैठक संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समितिको बैठक हुने जानकारी गराइएको छ ।
रुपन्देही–३ को उपनिर्वाचनलाई छलफलको प्रमुख एजेण्डा बनाएर यसअघि पनि दुईपटक बैठक भएको थियो । तर, ती दलहरुमा सहमति हुन सकेको थिएन । मधेसवादी अन्य दल रुपन्देही–३ मा साझा उम्मेदवार नागरिक उन्मुक्तिबाट बनाउन तयार रहेपनि जनमतले सहमति भइसकेको छैन ।
मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत, नाउपा, लोसपा, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी छन् ।
प्रतिक्रिया 4