News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला फुटबल टोली उज्बेकिस्तानबाट स्वदेश फर्कँदा मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्ड फर्किएनन्।
- एसियन कप छनोटमा असफल भएपछि टिमभित्र विवाद र कप्तान चयनको विषयले समस्या देखिएको छ।
- एन्फाले प्रशिक्षक वाइल्डको भविष्य र टिमको आगामी योजना बारे छलफल गर्ने जनाएको छ।
२४ असार, काठमाडौं । नेपाली महिला फुटबल टोली उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर सोमबार स्वदेश फर्कँदा मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्ड भने नेपाल आएनन् ।
उनी उज्बेकिस्तानबाट आफ्नै देश बेल्जियम नै गएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।
नेपाली महिला फुटबल टोलीलाई एसियन कपमा पुर्याउने अभियानसहित डे वाइल्ड उज्बेकिस्तान पुगेपनि घरेलु टोलीसँग निर्णायक खेलमा पेनाल्टीसुटआउटमा हारपछि नेपालको सपना अधुरै रह्यो । समूह एफमा नेपाल उज्बेकिस्तान भन्दा पछि रहेपछि एसियन कप पुग्न असफल भएको हो ।
नेपाली खेलकुदमा विदेशमा कुनै प्रतियोगिता खेलेपछि विदेशी प्रशिक्षक नेपाली टिमसँगै नफर्किएको धेरै उदाहरणहरु पनि छन् । तर अहिले प्रशिक्षक वाइल्ड टिमसँगै नेपाल नफर्कुनको अवस्था भने फरक छ ।
एक त नेपाली टिम एसियन कपमा छनोट हुन सकेन । अर्को छनोटकै दौरान कप्तान चयनको विषयलाई लिएर पनि धेरै चर्चा भयो । यसले गर्दा नेपाली टिमभित्रै प्रशिक्षक र व्यवस्थापनबीच नै ‘विवाद’ रहेको पनि देखियो । नतिजा पनि आएन, टिमको माहोल पनि राम्रो रहेन ।
नेपाली टोली स्वदेश फर्कँदा पनि एसियन कपमा छनोट हुन नसकेको पिडा स्पष्ट देखिन्थ्यो । नयाँ कप्तान सावित्रा भण्डारीबाहेक टिम प्रशिक्षक व्यवस्थापन कोहीपनि मिडियासँग बोल्न मानेनन् ।
नेपाली टिमलाई स्वागत गर्न पुगेका एन्फा महासचिव किरण राईले भने मिडियासँग कुरा गर्दै नेपालले उत्कृष्ट खेलेको तर टेक्निकल्ली मात्रै पेनाल्टीमा पराजित भएर छनोट हुन नसकेको प्रतिक्रिया दिए । यस्तै उनले अब अर्को एसियन कपको लागि योजना बनाएर तयारी गर्ने पनि दावी गरे ।
नेपाली टिमसँग प्रशिक्षक डे वाइल्ड फर्किएनन् । किन फर्केनन् त प्रशिक्षक वाइल्ड ? त्यसमा एन्फाले आधिकारिक रुपमा केही पनि भनेको छैन ।
एन्फा महासचिव किरण राईले मिडियासँगको कुराकानीमा भने प्रशिक्षक अहिले घर गएको र उज्बेकिस्तानसँगको खेलपछि कुनै कुरा हुन नपाएको जानकारी दिए ।
साथै प्रशिक्षकको भविष्य के हुन्छ भन्ने प्रश्नमा भने उनले छलफल गरेर निर्णय गर्ने जानकारी दिए । ‘कोचको भविष्यको विषयमा छलफल गर्छौं । उहाँलाई एक वर्षका लागि नियुक्त गरेको हो । तर अब यो परिणामपछि कोचको मानसिकता के छ कुरा हुन पाएको छैन’ महासचिव किरण राईले भने, ‘उहाँ अहिले घर जानुभएको छ, आउनुहुन्छ अनि त्यो विषयमा छलफल गरेर टुङ्ग्याउँछौं।’
प्रशिक्षक वाइल्डले भने एन्फा नेतृत्वलाई पत्र लेख्दै आफ्नो विषयमा जानकारी गराइसकेका छन् । त्यसमा उनले के लेखेर पठाएका छन् भन्ने कुरा सार्वजनिक भएको छैन । यति बुझ्न सकिन्छ कि एन्फाको व्यवस्थापन र व्यवहारबाट प्रशिक्षक वाइल्ड खुशी थिएनन्, छैनन् ।
यदि सबै कुरा ठिक हुन्थ्यो र राम्रो वातावरण थियो भने छनोट हुन नसकेपनि प्रशिक्षक टिमसँगै फर्कन सक्थे । तर अब यो कुरा सकिसकेको छ ।
एसियन कपमा छनोटन हुन असफल भएपछि नेपाली महिला फुटबल टिमले तत्काल खेल्ने कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता छैन ।
एसियन कप देखि विश्वकप र ओलम्पिकको ढोका बन्द भएपछि अब महिला टोली साफ च्याम्पियनसिप र केही मैत्रीपूर्ण खेलमै खुम्चिनुपर्ने हुन्छ । यस्तोमा तत्काल महिला टोलीको लागि कुनै ठोस योजनाहरु पनि छैन ।
२०२७/२०३१ मा महिला विश्वकप खेल्ने मिसन बनाएको एन्फाले बेल्जियन अनुभवी प्रशिक्षक वाइल्डलाई एक वर्षका लागि प्रशिक्षक अनुबन्ध गर्दै जिम्मेवारी दिएको थियो । तर एसियन कपमा नपुगेपछि नेपालको मिसन विश्वकप २०२७ असफल भएको छ ।

उज्बेकिस्तान जानुअघि नेपाली टिमको कप्तान घोषणा भएको थिएन । लाओससँगको पहिलो खेलअघि मात्र कप्तान तोकियो । त्यो पनि पहिलो रोजाईको टिम सार्वजनिक हुने बेला मात्र । त्यसमा पनि सुरुमा रेनुका नगरकोटेलाई कप्तान तोकिएको थियो । तर पछि सावित्रा भण्डारी साम्बाले आर्मब्याण्ड लगाइन् ।
प्रशिक्षकले खेल सुरु एक घण्टा अघिसम्म पनि कप्तानको नाम नदिएपछि व्यवस्थापनले रेनुकालाई कप्तान चयन गरेको एन्फा स्रोतले जनाएको छ । त्यसपछि एन्फाको आधिकारिक फेसबुक पेजमा पहिलो रोजाईको नाम पोष्ट हुँदा कप्तानमा रेनुकाको नाम थियो । खेल सुरु हुने बेला भने सावित्रा आर्मब्याण्ड लगाएर मैदान प्रवेश गरिन् । त्यतिबेला के भएको थियो माहोल कस्तो थियो भन्ने कुरा बाहिर आएको छैन । नेपाली टिम, प्रशिक्षक र व्यवस्थापकलाई धेरै कुरा थाहा होला । तर कसैले यो कुरा बाहिर बोलेका छैनन् ।
तनावकै माहोलको बीचमा उज्बेकिस्तानमै पुगेर नेपालले नयाँ कप्तान पायो । सावित्राले नै नेपालको तीन खेलको कप्तानी गरिन् । यसअघि कप्तान रहेकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा तीनै खेलमा बेन्चमा रहिन् । उनी पहिलो रोजाईमा खेल्ने सम्भावना कम रहेपछि नै नयाँ कप्तान तोकिएको थियो । जसले गर्दा एन्जिलाको सट्टा अन्जना राना मगरले तीनै खेलमा पोष्ट सम्हालिन् ।
एन्फाले भने कप्तान चयनको विषय, सावित्रा नै कप्तानमा निरन्तर हुने वा अरु हुने भन्ने विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन । एन्फा महासचिव करण राईले भने कप्तानकै विषयमा पनि छलफल हुने बताएका छन् ।
‘यो पनि छलफल हुन्छ । एन्जिला मुख्य कप्तान थियो । ऊ प्लेइङ ११ मा नखेलपछि सावित्रा भाइस क्याप्टेन भएकोले स्वत: कप्तानी गरेको हो’ राईले कप्तानको विषयमा यस्तो भनिरहँदा उनी आफैं गलत देखिए । यसअघि सावित्रालाई उपकप्तान भनेर तोकिएकै थिएन ।
राईले कप्तानको विषयमा टिमसँग छलफल गरेर निर्णय हुने बताए । ‘टिमसँग समीक्षा हुन्छ । छलफल हुन्छ । प्रशिक्षकसँग पनि आएपछि छलफल हुन्छ अनि निर्णय हुन्छ’ उनले भने ।
एन्फा महासचिव राईले कप्तान चयनको विषय खासै ठूलो कुरा नभएको बताए । तर स्वदेश फर्किएपछि कप्तान सावित्राले टिमभित्र विवाद भएको कुरा सार्वजनिक रुपमै भनिन् ।
‘सुरुवातमा अलि च्यालेन्ज थियो अनि त्यसमा पनि अलिकति थोरै विवादहरू आइरहेको थियो । त्यसले गर्दा खेरि पनि म मलाई लाग्छ म तीनवटै म्याच हुनुअघिको राति म सुतिनँ पनि । मलाई छुट्टै किसिमको प्रेसर थियो’ उनले भनिन् ।
यस्तै विवाद के थियो भन्ने प्रश्नमा उनले धेरै कुरा खोलिनन् तर यस्तो विवाद अब हुन नहुने प्रतिक्रिया दिइन् । ‘यो हाम्रो टिम भित्रको कुरा हो, अहिले हामीले चाहिँ जुन एउटा एज अ टिम भएर खेलेर एउटा पोजिटिभ रिजल्ट दिइसकेका छौं जस्तो लाग्छ मलाई चाहिँ । त्यसकारण भोलिको दिनमा यो खालको विवाद नहोस्’ सावित्राले भनेकी थिइन् ।
नेपाली महिला फुटबल टिममा खेलाडी, प्रशिक्षक, व्यवस्थापनको बीचमा तालमेल नमिलेको कुरामा अब कुनै शंका रहेन । अब मुख्य कुरा के रह्यो भने प्रशिक्षक वाइल्डको भविष्य के हुन्छ ? उनी नेपाल फर्केर महिला टिमसँग काम गर्लान् वा फेरि नफर्केलान्? भन्ने मुख्य प्रश्न रह्यो ।
यस्तै कप्तान र नेपाली टिमभित्र उत्पन्न भएको विवादको विषयलाई एन्फाले कसरी समाधान गर्छ । त्यो अर्को महत्वपूर्ण विषय हुन सक्नेछ ।
साथै हाल टिममा रहेका धेरै जसो खेलाडीहरु करियरको उत्तरार्धतिर पुगिसकेकोले अब एन्फाले यस्तै बलियो टिम बनाउन कस्तो योजना बनाउने, कस्तो लगानी गर्नेछ र नेपाली टिमले एसियन कप खेल्ने सपना पूरा गर्नेछ भन्ने विषय महत्वपूर्ण हुनेछ ।
प्रतिक्रिया 4