
News Summary
Generated by OK AI. Editorially reviewed.- नाटक ‘द मिसिङ डग’ काठमाडौंको मण्डला थिएटरमा मञ्चित हुँदैछ।
- यसले राज्य संरचनामा व्याप्त अन्याय र नागरिक आवाजमाथिको दमनलाई उजागर गर्छ।
काठमाडौं । यतिबेला थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘द मिसिङ डग’ अर्थात हराएको कुकुर मञ्चन भइरहेको छ । मणि कुलुङ राईको परिकल्पना/निर्देशनमा तयार नाटकले राज्य संरचनामा व्याप्त अन्याय, अनुसन्धान प्रणालीको पक्षपात र नागरिक आवाजमाथिको दमनलाई उजागर गर्छ । कुकुर हराएको सामान्य घटनाबाट सुरू हुने यो कथा क्रमशः एउटा गम्भीर सामाजिक–राजनीतिक विमर्शमा रूपान्तरण हुन्छ ।
नाटकको सुरुवातमा एक कुकुर हराउँछ । ‘सानो माछा ढडियामा, ठूलो माछा बढिएमा’ भन्ने जनकथन यहाँ कानुनी प्रणालीको वास्तविक अनुहार बनेर प्रस्तुत हुन्छ । निर्दोष जनताले अन्यायको विरोध गर्दा उनीहरूलाई नै अपराधी ठहर गरिन्छ। अनुसन्धान गर्ने निकायहरू निष्पक्षता गुमाएर शक्तिशाली पात्रहरूका आज्ञाकारी बन्न पुग्छन् ।
प्रमाणहरू हराइन्छन्, घटना ढाकछोप गरिन्छ र सत्यको स्वर दबाइन्छ । नाटकको उत्कर्षमा हराएको कुकुर भेटिन्छ, जुन दृश्यले एउटा समाधान प्रस्तुत गरेजस्तो देखिए पनि नाटकका मूल प्रश्नहरू अझै अनुत्तरित रहन्छन् ।
‘हराएको कुकुर’ वास्तवमा राज्यद्वारा हराइएको सत्यको प्रतीक हो । नाटकले दर्शकहरूलाई चुनौती दिन्छ-के साँचो न्याय कहिल्यै भेटिन्छ त ? के नागरिक आवाजको दमनलाई राज्यद्वारा वैधता दिन सकिन्छ ? ‘हराएको कुकुर’ एउटा सरल खोजीको कथा मात्र होइन, यो सत्ताको आलोचना गर्ने, नागरिक चेतनालाई झकझक्याउने र संरचनागत अन्यायलाई प्रश्न गर्ने एक गहिरो नाट्य प्रस्तुति हो ।
नटकमा किरण नेपाली, स्मृति कल्पर, रेज्मी राई, इन्द्रेणी राई, रमा कुलुङ, अविनास डीएम, मिना श्रेष्ण, मणि कुलुङ, सुनिल वाहिग राईले अभिनय गरेका छन् । अमिर ताम्राकार र नविन काफ्लेको ध्वानी परिकल्पना, उमेश तामाङको प्रकाश परिकल्पना छ भने आकाश मगर र मन्जिल मगरले मन्च निर्माण गरेका हुन् । नाट्य रुपान्तरण गरेका हुन् रबिन तामाङले ।
नाटक गत २१ गतेदेखि सुरु साउन चार गतेसम्म चल्नेछ । सोमबारबाहेक प्रत्येक दिन ४ बजेबाट नाटक मञ्चन भइरहेको छ । सुक्रबार, शनिवार र आइतबार अतिरिक्त शो राखिएको छ ।
प्रतिक्रिया 4