News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्री तेजुलाल चौधरीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता मौसम र पूर्वाधारको अभावले स्थगित भएको बताए।
- उहाँले प्रतियोगिता आगामी आर्थिक वर्षमा सञ्चालन हुने र बजेट छुट्याइएको जानकारी दिए।
- सरकारले खेल विकासका लागि भौतिक पूर्वाधार र प्रशिक्षण कार्यक्रमहरूमा ध्यान दिइरहेको छ।
२४ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल सञ्चालनका लागि उपयुक्त मौसम नभएको र भौतिक पूर्वाधारको अवस्था कमजोर भएकाले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले सरोकारवालाहरूबाट प्राप्त सुझाव र जानकारीलाई समेत ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिए।
उनले प्रतियोगिता सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटसमेत विनियोजन भइसकेको उल्लेख गर्दै प्रतियोगिता आगामी वर्षमा गरिने जानकारी दिए।
उनले भने, ‘गण्डकी प्रदेश, सुर्खेत र अन्य ठाउँमा भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ। खेल सञ्चालन गर्न उपयुक्त मौसम नभएको र सरोकारवालाहरूको सुझाव तथा जानकारीलाई ध्यानमा राख्दै हाल प्रतियोगिता स्थगित गरिएको हो। हामीले उक्त प्रतियोगिताका लागि आगामी आर्थिक वर्षका लागि बजेट छुट्याएका छौं, त्यसैले प्रतियोगिता अब अर्को वर्ष हुनेछ।’
देशभरका विभिन्न क्रिकेट रंगशालाको विकास र स्तरोन्नतिका लागि पनि सरकार गम्भीर रहेको उनले बताए। साथै, खेलको वृहत्तर विकासका लागि भौतिक पूर्वाधार निर्माण, खेलाडीलाई प्रशिक्षण लगायतका कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिएको जानकारी पनि उनले दिए।
प्रतिक्रिया 4