News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्याण्डका ह्यारी ब्रूकले आइसीसी पुरुष टेस्ट ब्याटिङ वरियताको शीर्ष स्थान हासिल गरे।
- भारतका शुभमन गिलले ४३० रनसहित दोस्रो उच्चतम व्यक्तिगत स्कोर बनाउँदै आफ्नो स्थान सुधार गरे।
- वेस्ट इन्डिज र अस्ट्रेलियाबीचको खेलले केही खेलाडीहरूको वरियतामा सुधार ल्याएको छ।
२५ असार, काठमाडौं । इंग्ल्याण्डका ब्याटर ह्यारी ब्रूक आइसीसी पुरुष टेस्ट ब्याटिङ वरियताको शीर्ष स्थानमा पुगेका छन्। बर्मिङहममा भएको भारतविरुद्धको दोस्रो टेस्टअन्तर्गत पहिलो इनिङ्समा १५८ रनको उत्कृष्ट पारी खेलेपछि उनले ८८६ रेटिङ पोइन्ट बनाएका छन् ।
यही प्रदर्शनले उनलाई जो रुटभन्दा अगाडि लैजाँदै शीर्ष स्थानमा पुर्यायो। ब्रूकले यसअघि डिसेम्बर २०२४ मा एक साताको लागि मात्रै शीर्षस्थान पाएका थिए।
तर बर्मिङहम टेस्टमा सबैभन्दा धेरै चम्केका खेलाडी भने भारतका कप्तान शुभमन गिल हुन्। उनले पहिलो इनिङ्समा २६९ र दोस्रो इनिङ्समा १६१ रन बनाए, जुन टेस्ट इतिहासमै दुई इनिङ्समा १५० भन्दा बढी रन बनाउने दोस्रो खेलाडी हुन्।
कुल ४३० रनसहित उनले टेस्ट क्रिकेटको दोस्रो उच्चतम व्यक्तिगत स्कोरको कीर्तिमान पनि बनाएका छन्। यस प्रदर्शनले गिललाई १५ स्थान उचालेर उनको करिअरकै उत्कृष्ट छैटौं स्थानमा पुर्याएको छ। उनी यो सिरिजको सुरुवातमा २३औं स्थानमा थिए।
त्यही टेस्ट सिरिजको दोस्रो खेलपछि भारत र इंग्ल्याण्डका अन्य खेलाडीहरूको वरियता पनि सुधार भएको छ । रविन्द्र जडेजा ३९औं स्थानमा उक्लिएका छन् भने इंग्ल्याण्डका जेमी स्मिथ टेस्ट ब्याटिङको शीर्ष १० मा पहिलोपटक प्रवेश गरेका छन्।
बलिङतर्फ भारतका मोहम्मद सिराज २२औं स्थानमा उक्लिएका छन् भने अर्का बलर आकाश दीपले पहिलोपटक टेस्टमा १० विकेट लिएपछि ३९ स्थानको फड्को मार्दै ४५औं स्थानमा पुगेका छन्।
उता दक्षिण अफ्रिकाका लागि जिम्बाबेसँगको टेस्टमा कप्तानी गरिरहेका वियान मुल्डरले पनि ऐतिहासिक प्रदर्शन गरेका छन्। उनले नटआउट रहेर बनाएको ३६७ रन टेस्ट क्रिकेटमा कुनैपनि दक्षिण अफ्रिकी ब्याटरबाट बनेको कीर्तिमानी स्कोर थियो ।
त्यस्तै उनले खेलमा तीन विकेट पनि लिए जसले उनलाई ब्याटिङमा २२औं, बलिङमा ४८औं र अलराउण्डर वरियतामा तेस्रो स्थानमा पुर्याएको छ। उनी यस सिरिज सुरु हुँदा ब्याटिङमा ७३औं, बलिङमा ५८औं र अलराउण्डरमा २२औं स्थानमा थिए। उनले दुई टेस्टमा जम्मा ५३१ रन र ७ विकेट लिएका छन्।
त्यसै सिरिजबाट डेभिड बेडिङह्याम ब्याटिङमा ४३औं स्थानमा पुगेका छन् भने लुआन-ड्रे प्रिटोरियस ६०औं र कोर्बिन बोश बलिङमा ५१औं स्थानमा पुगेका छन्।
ग्रेनाडामा भएको दोस्रो टेस्टमा वेस्ट इन्डिज र अस्ट्रेलियाबीचको खेलले पनि केही खेलाडीहरूको वरियतामा सुधार ल्याएको छ। अस्ट्रेलियाका क्यामरन ग्रिन ४५औं र बियू वेब्स्टर ५०औं स्थानमा उक्लिएका छन्।
वेस्ट इन्डिजका रोस्टन चेज ८१औं र ब्रान्डन किङ ८३औं स्थानमा पुगेका छन्। बलिङतर्फ शमार जोसेफ र अल्जारी जोसेफ दुवै खेलाडीले ६ स्थान सुधार गर्दै क्रमशः २९औं र ३१औं स्थानमा छन् ।
प्रतिक्रिया 4