+
+
Shares

कोशीमा ‘नेता व्यवस्थापन’का लागि मन्त्री फेर्ने कसरत

पाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार दल भित्र अनौपचारिक रुपमा सरकारका सहभागी मन्त्री परिवर्तनका विषयमा छलफल सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशमा सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्री फेर्ने अनौपचारिक छलफल सुरु भएको छ।
  • गठबन्धनले १३–१३ महिनामा मन्त्री परिवर्तन गर्ने सहमति गरेको स्रोत बताउँछ।
  • मन्त्री फेर्ने विषय कांग्रेस र एमाले दुवै दलमा छलफलमा रहेको र निकट भविष्यमा औपचारिक बैठक हुने सम्भावना रहेको छ।

२६ असार, विराटनगर । सत्तारुढ गठबन्धन दल भित्रका नेता व्यवस्थापनका लागि कोशी प्रदेशमा मन्त्री फेर्ने कसरत सुरु भएको छ ।

सरकार गठन गर्दा भएको भद्र सहमतिको नाममा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले भित्र मन्त्री फेर्ने ‘अनौपचारिक’ छलफल सुरु भएको हो ।

दुई दलका नेताहरुका अनुसार प्रक्रिया सामान्य रुपमा अघि बढे भदौमा मन्त्रिपरिषद् पुर्नगठन हुनेछ ।

हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा कांग्रेसबाट भूपेन्द्र राई, खगेनसिंह हाङगाम, सदानन्द मण्डल मन्त्री छन् । एमालेबाट रेवतीरमण भण्डारी, रामबहादुर मगर, पाँचकर्ण राई र एकराज कार्की मन्त्री छन् । कांग्रेसबाट भूमिप्रसाद राजवंशी र एमालेबाट सृजन राई राज्यमन्त्री छन् ।

दुई दलका नेताहरुका अनुसार कांग्रेस एमाले गठबन्धनको सरकार निर्माण गर्दा मन्त्रीहरु १३–१३ महिनामा फेर्ने सहमति थियो । यो सहमति नेता व्यवस्थापनका लागि हो । मुख्यमन्त्री हिक्मतकुमार कार्की नै रहने छन् ।

‘केन्द्रमा सरकार परिवर्तन हुँदा कोशीमा मुख्यमन्त्री परिवर्तन हुन्छ,’ कांग्रेस संसदीय दल स्रोत भन्छ,‘ १३–१३ महिनामा मन्त्री परिवर्तन गर्ने कुरा थियो ।’ ति सांसदका अनुसार नेता व्यवस्थापनका लागि  एक कार्यकालको बजेट खर्च गर्न दिनेगरी मन्त्रीमण्डल परिवर्तन गर्ने सहमति थियो ।

प्रदेशमा कांग्रेस एमालेको सरकार गठन गर्ने सहमति भएको साउनमा एक वर्ष पुग्दैछ । केन्द्रमा बनेको समिकरण अनुसार प्रदेशमा गत साउन १२ गते कांग्रेसले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको थियो । तर आन्तरिक किचलोका कारण निर्णय गरेको ४० दिनपछि भदौ २८ गते कांग्रेसबाट ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त भएका थिए ।

कांग्रेसका भूपेन्द्र राईले दुई वटा मन्त्रालयको नेतृत्व गरिरहेका छन् । डाक्टर शेखर कोइराला समूहले नाम नदिएपछि पार्टीको भागमा आएको दुई वटा मन्त्रालयको नेतृत्व राईले गरेका हुन् ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार दल भित्र अनौपचारिक रुपमा सरकारका सहभागी मन्त्री परिवर्तनका विषयमा छलफल सुरु भएको छ । केन्द्रीय नेतृत्वसँग छलफल गरेर अघि बढ्ने उनको भनाइ छ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा पनि मन्त्री फेर्ने विषयले प्रवेश पाएको थियो । केन्द्रीय सदस्य भीम पराजुलीले ‘पर्फोमेन्स’ राम्रो नभएका मन्त्रीलाई फिर्ता बोलाउनु पर्ने माग गरेका थिए ।

मन्त्री फिर्ता बोलाउने विषयमा नेकपा एमाले भित्र पनि छलफल भइरहेको छ । ‘कांग्रेसले छलफल सुरु गरेको छ, यसले पार्टी भित्र स्वभाविक रुपमा प्रभाव पर्छ,’ एमालेका एक सांसदले भने,‘ मन्त्रीमण्डल फेरिँदा कांग्रेस एमालेको एकै पटक फेरिन्छ ।’

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो मन्त्रिमण्डल फेरबदलको विषयमा बाहिरी हल्ला सुनिरहेको बताउँछन् । दलमा अनौपचारिक कुरा उठिरहेको बताउँदै उनले दलको बैठकमा भने छलफल नभएको बताए ।

‘मन्त्रीमण्डल हेरफेरको विषय चर्चामा छ, तर दलमा औपचारिक छलफल सुरु भएको छैन,’ उनले भने,‘ निकट भविष्यमा बस्ने बैठकमा छलफल हुनसक्छ ।’ उनले दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छलफल गरेर सरकारका विषयमा  छलफल प्रक्रिया अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?