
२९ असार, बुटवल । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई हराउँदै दुई दलका जिल्ला अध्यक्षहरुको वडामा भएको टोल विकास संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी बाजी मारेको छ ।
कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणकोसमेत वडा पर्ने तिलोत्तमा नगरपालिका-८ को चार नम्बरस्थित मिलन टोल विकास संस्थाको चुनावमा चारजना पदाधिकारीमा रास्वपाले क्लिन स्वीप गरेको छ ।
उक्त टोल नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेको घर भएको टोल हो भने कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणको घर भएको वडा जोडिएको टोल हो ।
१५ सदस्यीय कार्यसमितिमा ४ पदाधिकारीसहित ४ सदस्य रास्वपाले जितेको छ भने सदस्यहरुमा ३ जना एमाले, रास्वपाकै प्यानलबाट राप्रपाका दुई जना र २ जना कांग्रेसबाट निर्वाचित भएका छन् ।
२७२ घरधुरी मतदाता रहेको चुनावमा २३३ मत खसेको थियो । अध्यक्षमा रास्वपाका रामाकान्त भुसालले १२४ मत पाएर विजयी हुँदा एमालेका कृष्ण चापागाईंले सय मत पाए ।
उपाध्यक्षमा पर्सुराम काफ्लेले १४५ मत पाउँदा गठबन्धनका कांग्रेसकी रिना बरालले ८१ मत पाइन् । सचिवमा रास्वपाका सीता तिवारीले ११९ मत पाएर विजयी हुँदा कांग्रेसका थम्मन गुरुङले १०५ मत पाए ।
कोषाध्यक्षमा रास्वपाका प्रतिक पाण्डे १२६ मत पाएर विजयी हुँदा एमालेकी बबी चापागाईंले ९८ मत पाएकी छन् ।
तिलोत्तमामा रहेका खानेपानी संस्था, सामुदायिक वन जस्ता उपभोक्ताका संस्थामा कांग्रेस र एमालेले भागबन्डा गरेर संस्थामा राजनीतिकरण हाबी गराउँदा मतदाताहरु दुई दलप्रति रुष्ट भएको नतिजा टोल विकास संस्थाको चुनावमा देखिएको नेकपा एमाले तिलोत्तमाका एक नेताले बताए ।
रास्वपाका स्थानीय नेता बुद्धि सापकोटाले हरेक संस्थामा सत्तारुढ दुई दलको सिण्डिकेटविरुद्ध अब टोल टोलबाट विद्रोह हुन लागेको नतिजाका रुपमा यो चुनावलाई बुझ्नुपर्ने बताए ।
चुनाव भएको टोलमै रहेको करहिया खानेपानी संस्थाको अध्यक्षमा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे अध्यक्ष र कांग्रेस नेतृ शान्ता बस्याल उपाध्यक्ष छन् । सोही वडाको करहिया सामुदायिक वनमा कांग्रेस नगर सभापति हरिलाल पाण्डे अध्यक्ष र एमालेबाट उपाध्यक्ष छन् ।
प्रमुख दुई दलबीचको भागबन्डालाई नरुचाएका मतदाताले केही महिनाअघि भएको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको चुनावमा पनि कांग्रेस र एमालेका गठबन्धनलाई पराजित गर्दै नेत्रविक्रम चन्द विप्लव निकट स्वतन्त्र उम्मेदवार खिमलाल पाण्डेलाई जिताएका थिए । उक्त चुनावमा एमाले नेताहरु लिला गिरी, संघीय सांसद बासुदेव घिमिरे मतदाता थिए ।
प्रतिक्रिया 4