
News Summary
Generated by OK AI. Editorially reviewed.- पर्वतारोही निर्मल पुर्जाले पाकिस्तानको नांगा पर्वत आरोहण गर्दै ८ हजार मिटरभन्दा अग्ला हिमालमा ५० पटक सफल आरोहण गर्ने पहिलो व्यक्ति बने।
- निर्मलले नांगा पर्वत आरोहणलाई हालसम्म सामना गरेका सबैभन्दा खतरनाकमध्ये एक भने र ६५ किमी प्रतिघण्टाभन्दा तीव्र हावाहुरी र निरन्तर चट्टान खस्ने अवस्थाले चरम परीक्षा दिएको बताए।
- निर्मलले चेक पर्वतारोही क्लारा कोलोउचोभाको निधनमा दुःख व्यक्त गर्दै उनलाई दयालु र वफादार साथी भने र उनको सम्झना रहिरहने बताए।
काठमाडौं । पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाले पाकिस्तानको नांगा पर्वतको आरोहण गर्दै विश्व पर्वतारोहण क्षेत्रमा नयाँ इतिहास रचेका छन् । यो आरोहणसँगै उनी ८ हजार मिटरभन्दा अग्ला हिमालमा ५० पटक सफल आरोहण गर्ने पहिलो व्यक्ति बने ।
२२ वटा आरोहण उनले अक्सिजनको सहयोगबिना गरेका हुन् । नांगा पर्वतको शिखरमा पुग्दा पुर्जाले गोरखा र बेलायतको विशेष फौजमा सेवाको सम्मान स्वरूप झण्डा बोकेका थिए ।
‘किलर माउन्टेन’ भनेर चिनिने नांगा पर्वत यो सिजनमा पनि उत्तिकै जोखिमपूर्ण थियो । एलिट एक्सपेडका संस्थापक तथा सीईओ पुर्जाले यो अभियानलाई ‘हालसम्म सामना गरेका सबैभन्दा खतरनाकमध्ये एक’ भनेर उल्लेख गरेका छन् ।
६५ किमी प्रतिघण्टाभन्दा तीव्र हावाहुरी र निरन्तर चट्टान खस्ने अवस्थाले आफ्नो अनुभव र सहनशीलताको चरम परीक्षा लिएको उनले बताएका छन् ।
‘म यो कोसेढुंगा पार गर्न पाउँदा भाग्यमानी महसुस गर्छु’ उनले भने । उनको लागि यो सिजन विजयसँगै शोकको क्षण पनि बन्यो । नांगा पर्वत आरोहणको क्रममा यसअघि सगरमाथा, केटु र कञ्चनजंघा आरोहण गरिसकेकी चेक पर्वतारोही क्लारा कोलोउचोभाको निधन भयो ।
उनको निधनमा दुःख व्यक्त गर्दै निर्मलले भने, ‘क्लारा सधैँ अग्रगामी उपलब्धिका लागि सम्झिइनेछिन् । तर, मेरो लागि उनी एक दयालु र वफादार साथी पनि थिइन् । उनको गहिरो सम्झना रहिरहनेछ ।’
क्लारा निर्मलबारे बनेको नेटफ्लिक्स डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’मा देखिएकी थिइन् । निर्मलले सन् २०१९ मा पृथ्वीका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला शिखर केवल ६ महिना ६ दिनमा चढेर पर्वतारोहण इतिहासमै अभूतपूर्व कीर्तिमान राखेका थिए ।
उनीमाथि बनेको उक्त नेट्फिल्क्स डकुमेन्ट्रीले शेर्पा र भरियाको योगदानको चित्रण गर्दै नेपालका हिमालको पर्यटन प्रवर्धनमा उल्लेख्य भूमिका खेल्यो । सन् २०२१ मा उनले नेपाली टोलीसँग केटुको पहिलो ‘विन्टर समिट’ अक्सिजनबिना सम्पन्न गर्दै अर्को ऐतिहासिक सफलता हासिल गरेका थिए ।
प्रतिक्रिया 4