
News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेश प्रहरी गणलाई जनकपुरधामको साविक जनकपुर चुरोट कारखानाको सुर्ती भण्डारण गर्ने गोदाममा सारिएको छ, जहाँ पंखा र कुलर छैनन्।
- प्रहरीहरूले गर्मीमा पंखा नहुँदा असहज महसुस गरेका छन् र एसपी नारायण रञ्जितकारले तत्काल पंखा र कुलरको व्यवस्थापनका लागि आग्रह गरेका छन्।
- मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले बजेट अभावका कारण तत्काल व्यवस्थापन गर्न नसकिने बताएका छन्।
३० असार, जनकपुरधाम । मधेशमा यतिबेला उखरमाउलो गर्मी छ । पंखा र कुलर चलाउँदा पनि गर्मीले सर्वसाधारण हैरान छन् ।
यस्तो अवस्थामा मधेश सरकारको सुरक्षामा खटिएका प्रहरी भने सुर्ती भण्डारणका लागि प्रयोग भएको गोदाम, त्यो पनि पंखा र कुलरबिनै बस्न बाध्य छन् ।
मधेश भवनको पूर्वद्वारतर्फ रहेको साविक जनकपुर चुरोट कारखानाको सुर्ती भण्डारण गर्ने गोदाम घरमा मधेश प्रदेश प्रहरी गण सारिएको छ । यस आवासमा करिब २०० प्रहरी बसिरहेका छन्, जहाँ न पंखा छ, न कुलर ।
त्यहाँ सारिएपछि केही हवल्दार तथा जवानले आफ्नै खर्चमा पंखा किनेका छन् । तर पनि गर्मी कम भएको छैन । बस्न र सुत्न गाह्रो परेको छ ।
‘चर्को गर्मीमा पंखा चलाएर पनि पसिना सुक्दैन । लुगा भिज्छ । निदाउन सकिँदैन । ड्युटी गर्नैपर्यो । यस्तो अवस्थामा पंखा पनि नदिई निर्दयी रूपमा हामीलाई पुरानो गोदाममा थुनिएको छ,’ एक प्रहरी जवानले गुनासो गरे । उनको जस्तै अवस्था त्यहाँका सबै प्रहरीको छ ।
असह्य गर्मीका कारण एसपीदेखि इन्स्पेक्टरसम्मका प्रहरी अधिकृत भने त्यहाँ सुत्दैनन् । उनीहरूले बाहिर डेरा लिएर वा अन्यत्र व्यवस्थापन गरेर बस्ने गरेका छन् ।
‘अफिसरहरू एकछिनका लागि आए पनि रुखको छहारीमै बस्नुहुन्छ । तर हामी तल्लो दर्जाका प्रहरी थुनुवा जसरी भित्रै बस्नुपर्छ । सेन्ट्री कडाइ गरिएको छ । संगठनको काम परे मात्र बाहिर जान मिल्छ । हामी तल्लो दर्जाका भएकाले बोल्न पनि डर लाग्छ,’ एक हवल्दारले दुखेसो पोखे ।
मधेश सरकारको सुरक्षाका लागि खटिएका प्रहरीहरू यही १२ असारदेखि यहाँ बस्न थालेका हुन् । त्यसअघि उनीहरू धनुषा जिल्ला प्रहरी कार्यालय अगाडिको महेन्द्रनारायण निधि सांस्कृतिक कलाकेन्द्रको भवनमा बसिरहेका थिए ।
वर्षौं पुरानो जीर्ण गोदाम घरमा मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले केही समयअघि ७५ लाख रुपैयाँ खर्च गरेर आल्मुनियमको पाटेसन गरी ओछ्यानको व्यवस्था गरेको थियो । यसपछि प्रहरीलाई गोदाममा सारिएको छ ।
प्रहरीका अनुसार सुर्ती सुकाउने र भण्डारण गर्ने उद्देश्यले बनाइएको यो गोदामघरको छत विभिन्न केमिकल प्रयोग गरी बनाइएको छ । केही दिनअघि प्रहरीले छतमा रहेको अलकत्रा सफा गरेका थिए । अझै पनि पनि अलकत्राको मात्रा बाँकी नै छ ।
यो भवनमा प्रहरीहरू बिजोग अवस्थामा बसेका छन् । उनीहरू तल्लो दर्जाका भएकाले माथि गुनासो गर्न डराउँछन् ।
तल्लो दर्जाका प्रहरीलाई सरकार र अफिसरहरूले उचित व्यवस्थापन नगरी गाईगोठमा जस्तै थन्क्याएको उनीहरूको गुनासो छ ।
‘हामी मानव हौं । गर्मीमा कम्तीमा पंखा चाहिन्छ भन्ने त समान्य सुझबुझ भएकाले बुझ्छन्,’ एक अर्का हवल्दारले गुनासो गरे, ‘तर सरकार र हाम्रो बासस्थान गाईभैँसीको गोठ जस्तो छ । यस्तो अवस्था त थुनुवा कक्षको पनि छैन होला । हामीले व्यवस्थापन गरेको पंखा चलाएर पनि बस्न गाह्रो छ । समयमै उचित व्यवस्थापन नगरी बस्न बाध्य बनाइए हामी मानसिक रोगी जस्तै हुन्छौं ।’
केही दिनअघि मुख्यमन्त्री सतिशकुमार सिंहले यसको निरीक्षण गरेका थिए । प्रहरीले यस्तो गर्मीमा पंखाविना बस्न नसक्ने कुरा उठाएका थिए । तर अहिलेसम्म केही व्यवस्थापन नगरेको उनीहरूको गुनासो छ ।
गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारले प्रहरीलाई बस्न असहज भएको स्वीकार गरे । उनले तत्काल कुलर, पंखा व्यवस्थापनका लागि मधेश सरकार, प्रहरी संगठनमा आग्रह गरेको बताए ।
‘गर्मी छ । पंखाविना बस्न त गाह्रो हुन्छ । हामीले मुख्यमन्त्री, सञ्चार मन्त्री, हाम्रो संगठनको माथिल्लो निकायमा पनि यो समस्या राखेका छौं । आशा गरौं, चाँडै केही हुन्छ होला,’ उनले भने ।
मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले भने तत्काल व्यवस्थापनको लागि मन्त्रालयमा बजेट नरहेको बताए ।
‘त्यहाँ बस्न थालेपछि पंखाको बारेमा मन्त्रालयमा गुनासो आएको छ । बजेट बन्ने बेला भनेनन् । अहिले त्यसको व्यवस्थापन गर्ने बजेट छैन,’ सचिव बरालले भने ।
प्रतिक्रिया 4