
३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फ्ल्डलाइट र प्यारापिट हेर्न कीर्तिपुर जान आग्रह गरेका छन् ।
सोमबार प्रचण्डले संसदमा सम्बोधन गर्दै कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति भइरहेको ढिलाइप्रति प्रश्न उठाएका थिए ।
‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ- कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ?’, जवाफमा ओलीले फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन्, ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।’
प्रधानमन्त्री ओलीले थपेका छन्, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन।’
प्रधानमन्त्री ओलीले प्रचण्डलाई कुनै वाचार संकल्प नभएका नेता भनेका छन् । ‘तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम’ उनले भनेका छन्, ‘मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें ।’
ओलीले थपेका छन्, ‘तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।’
प्रचण्डले संसदको सम्बोधनमा भनेका थिए, ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो । तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौँ । त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाइको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो ।’
प्रचण्डले नयाँ सरकार बनेको एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा समेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै सरकारको प्रतिबद्धता र क्षमतामाथि गम्भीर प्रश्न उठाएका थिए ।
प्रतिक्रिया 4