
News Summary
Generated by OK AI. Editorially reviewed.- होटल संघ नेपालले मानव संशाधन सम्मेलन २०२५ सम्पन्न गरी होटल क्षेत्रमा दक्ष जनशक्ति आवश्यक रहेको निष्कर्ष निकालेको छ।
- सम्मेलनमा नेपाल सरकार, इन्स्योर परियोजना र निजी क्षेत्रले दक्ष जनशक्ति उत्पादनका लागि सहकार्य गर्नुपर्ने विषयमा छलफल भएको थियो।
- हानले आतिथ्य उद्योगको मानव संशाधन क्षेत्रमा कार्यरत व्यवस्थापकहरूको \'हान एचआर क्लब\' स्थापना गर्ने निर्णय गरेको छ।
३१ असार, काठमाडौं । होटल क्षेत्रमा दक्ष जनशक्ति आवश्यक रहेको निष्कर्ष निकाल्दै होटल संघ नेपाल (हान) को मानव संशाधन सम्मेलन (एचआर मिट) २०२५ सम्पन्न भएको छ ।
मंगलबार हानले नेपाल सरकार, इन्स्योर परियोजनाको आयोजनामा एचआर मिट आयोजना गरेको छ । कार्यक्रममा मुलुकमा बढ्दै गएको तारे होटल संख्या, भारतीय र चिनियाँ लगायत बढ्दो पर्यटक आगमनलाई स्तरीय सेवा प्रदान गर्ने परिप्रेक्ष्यमा विद्यमान नियम कानुन, अवस्था र वैदेशिक रोजगारीमा श्रम बजारमा बढ्दो आकर्षणले सिर्जना गरेको परिस्थितिबाट दक्ष जनशक्ति र उत्पादकत्व बढाउन राज्य र निजी क्षेत्रले गर्नुपर्ने सहकार्यबारे छलफल भएको हो ।
उक्त कार्यक्रममा हानका अध्यक्ष विनायक शाहले मुलुकले भोगिरहेको दक्ष जनशक्ति अभावबारे चर्चा गर्दै होटल एक तिहाइमात्र सञ्चालनमा रहँदा पनि जनशक्ति अभाव हुनु विडम्बना नै रहेको बताए ।
यही विषयवस्तुलाई उजार गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको बताए । दक्ष जनशक्ति उत्पादनका लागि सीटीईभीटीका सदस्यसचिव महेश भट्टराईले समय सापेक्ष पाठ्यक्रमका साथै आवश्यकता अनुसार पाठ्यक्रम निर्माणमा निजी क्षेत्रको सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा आतिथ्यता क्षेत्रमा भए/गरेका नीतिनियम, कानुन, प्रक्रिया र औद्योगिक सम्बन्धबारे हानका कानुनी सल्लाहकार गान्धी पण्डितले प्रस्तुतीकरण गरे । कार्यक्रममा औद्योगिक प्रशिक्षार्थीबारे इन्स्योर परियोजनाका टिम लिडर रविन्द्रबहादुर सिंहले प्रस्तुतीकरण दिए ।
प्यानल सेसन मध्यस्थकर्ता हानका कोषाध्यक्ष युवराज श्रेष्ठले नाथमका कार्यकारी निर्देशक संगिता ओझा, शिक्षा मन्त्रालयका उपसचिव सुरेशकुमार जोशी, श्रम मन्त्रालयका उपसचिव डम्बर सुनुवार, सीटीईभीटीका निर्देशक विनोद बडाल र निजी क्षेत्रका तर्फबाट मानव संशाधन निर्देशक खेम पौडेललाई मुलुकमा दक्ष जनशक्ति अभाव, वैदेशिक रोजगारी, वैदेशिक इन्टर्नसिप, समय सापेक्ष पाठ्यक्रम अभावबारे छुट्टाछुट्टै चर्चा गरी छलफल गरे ।
भेलाले आतिथ्य उद्योगको मानव संशाधन क्षेत्रमा कार्यरत व्यवस्थापकहरूको ‘हान एचआर क्लब’ स्थापना गरी यस क्षेत्रको विकास र विस्तारमा एकीकृत ढंगमा कार्य गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया 4