+
+
Shares

रसुवा बाढी : चाडबाडमा बढ्ला महँगी ?

चाडबाड नजिकिँदै गरेको अवस्थामा नेपालसँगको प्रमुख व्यापारिक नाका ठप्प भएपछि उपभोक्तामा महँगी बढ्ने चिन्ता थपिएको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ असार ३२ गते ८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ सामग्री सहजै आयात गर्न सकिने रसुवागढी नाका हुँदै लसुन, अदुवा, स्याउ, ओखर, चप्पल, जुत्ता, ब्याग, बच्चाबच्चीका खेलौना, तयारी पोसाक तथा विद्युतीय सामान र विद्युतीय सवारी साधन (ईभी) आयात हुन्छ ।
  • चीन सरकारको अनुदानमा निर्माण भइरहेको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) पनि अब के हुन्छ भन्ने अन्योल रहेको छ ।
  • नेपालतर्फको बाटो पनि ६–७ ठाउँमा बिग्रिएकाले तत्कालै खुल्न सम्भव छैन ।

३२ असार, काठमाडौं । नेपाल–चीन नाका रसुवागढीमा एक साताअघि अकस्मात आएको बाढीले दुवैतर्फ सम्पर्क टुट्यो । प्रमुख व्यापारिक नाकामा भएको बाढी वितण्डाले पुर्‍याएको गम्भीर क्षतिबाट कसरी पार पाउने भन्ने चिन्ताले सरकार घेरिएको छ । तर, सरकारसँगै त्यसको प्रत्यक्ष प्रभाव आमउपभोक्तामा पनि पर्ने देखिएको छ । किन पनि देखिएको छ भने प्रमुख चाडबाडको लहरो बिस्तारै उपभोक्ताको घरआँगनमा आउन थालिसकेको छ ।

चाडबाड नजिकिँदै गरेको अवस्थामा नेपालसँगको प्रमुख व्यापारिक नाका ठप्प भएपछि उपभोक्तामा महँगी बढ्ने चिन्ता थपिएको छ । ‘चीनसँगको नाका नै ठप्प भएपछि अब हामीजस्ता उपभोक्तालाई पो धेरै नै मार पर्ने देखियो,’ मंगलबार साँझ नयाँ बानेश्वरको फुटपाथमा राखिएका चिनियाँ लत्ताकपडाका चाङमा टिसर्ट र पाइन्ट छानिरहेका चितवनका विनोद पौडेलले अनलाइनखबरसँग भने, ‘अहिले नै सामानको भाउ एक महिनाअघि भन्दा बढिसक्यो, अब दसैंतिहारमा त के छोइसकिएला र ?’

अनामनगरमा डेरा गरी बस्ने पौडेलका श्रीमती, एक छोरा र छोरी छन् । उनी एउटा निजी कम्पनीमा काम गर्छन् । तलबले महिनाभरि खान, डेराभाडा तिर्न र छोराछोरी पढाउन ठिक्क–ठिक्क मात्र हुने गरेको उनी सुनाउँछन् । ‘छोराछोरीलाई दसैंमा नयाँ लुगा किनिदिने भनेको रसुवागढीको बाढीले नाका नै ठप्प भएपछि चीनबाट लत्ताकपडा नै नआउने जस्तो देखियो, अब अरू नाकातिरबाट आयो भने पनि महँगो हुने निश्चित छ । त्यही भएर अहिले पाएको बेलामा किनिहाल्न लागेको । दसैंसम्म कुर्दा त अचाक्ली महँगो तिर्नुपर्छ जस्तो छ ।’

रसुवागढीबाट हुने व्यापार पूर्णरूपमा ठप्प भएपछि चाडपर्व लक्षित बजारमा प्रत्यक्ष असर पर्ने भएपछि पौडेल जस्तै उपभोक्तामा महँगी थपिने चिन्ता बढेको हो ।

रसुवागढी नाकाबाट हुने व्यापार पूर्ण रूपमा टुटेपछि चीनबाट हुने आयात प्रभावित हुने देखिएको छ ।

नेपाल हिमालय पार वाणिज्य संघ अध्यक्ष त्रिभुवनधर तुलाधर बाटो ‘डाइभर्ट’ गरेर सामान ल्याउनुपर्ने बताउँछन् । ‘अब चीनबाट आयात गर्ने सबै सामान बाटो घुमेर आउँछ,’ तुलाधरले भने, ‘यता खासा (तातोपानी) को बाटो खुला छ । त्यही बाटो हुँदै सामान आयात हुन्छ ।’

बाढीले मालबाहक कन्टेनर र ईभी कारसहित करिब १०० वटा गाडीहरु बगाएको छ ।

पूर्णरूपमा बाटो नबन्दासम्म बाटो घुमाएर ल्याउनुपर्दा सामान अलि महँगो पर्ने उनले बताए । ढुवानी महँगो पर्नासाथ उपभोक्तालाई पनि महँगो पर्न जाने उनको भनाइ छ । तर, व्यापारीहरूले सामान ल्याइदेऊ भनेपछि ट्रान्सपोर्टहरूले मिलाएर ल्याइदिने उनको भनाइ छ ।

उनले भत्किएको बाटो चीन सरकारले बनाइदिने सूचना प्राप्त भएको पनि बताए । ‘चीन सरकारले बेलिब्रिज बनाउने तयारी गर्दैछ,’ अध्यक्ष तुलाधरले भने, ‘यसबारे नेपाल सरकारसँग छलफल गर्दैछ भन्ने सुनेका छौं ।’

उनले दसैंअघि नै बाटो खुल्ने दाबी गरे । उनका अनुसार दसैं अगावै बाटो खोल्ने प्रयास भइरहेको छ । ‘चीनमा सामान लिन गएका केही व्यापारी तथा ड्राइभर केरुङमा फसेका छन्, उनीहरूलाई चीन सरकारले पाहुनाका रूपमा व्यवस्था गरेर राखेको छ,’ उनले भने, ‘तर, उनीहरूलाई सरकारले फिर्ता ल्याउनका लागि परराष्ट्र मन्त्रालय मार्फत चिठी आउनुपर्छ भनेको छ । हामीले गृहसचिवलाई भन्दा कोसिस गर्छु भन्नुभएको छ ।’

उनले चीनबाट सामान आयात गर्न नसकिने अवस्था नै आए पनि नेपाली बजारलाई त्यति धेरै प्रभाव नपर्ने बताए । ‘अहिले तत्कालै बिग्रिने खानेकुरा, फलफूल लगायत सामानका लागि पनि बाटो घुमाएर लैजाने भनेर व्यापारीहरू लागिराखेका छन्,’ उनले भने, ‘तत्कालका लागि बजार महँगो हुन गए पनि यो महँगी लामो समय रहँदैन ।’

रसुवागढी नाका किन महत्त्वपूर्ण ?

अर्बौं रुपैयाँको सामान आयात हुने रसुवागढी नाकालाई चीनसँगको ठूलो व्यापारिक नाका मानिन्छ । चिनियाँ सामग्री सहजै आयात गर्न सकिने यो नाका हुँदै लसुन, अदुवा, स्याउ, ओखर, चप्पल, जुत्ता, ब्याग, बच्चाबच्चीका खेलौना, तयारी पोसाक तथा विद्युतीय सामान र विद्युतीय सवारी साधन (ईभी) आयात हुन्छ ।

रसुवागढीको चीनतर्फको नाका । यी ठाउँमा बनाइएको नेपाल र चीन जोड्ने मितेरी पुल बाढीले भत्काउँदा दुई देशबीच सडक सम्पर्क विच्छेद भएको छ ।

यससँगै नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि आवश्यक उपकरण लगायत सामग्री पनि आयात गरिने व्यापारीहरू बताउँछन् ।

रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी रवीन्द्रप्रसाद प्याकुरेल पुल नै बगाएर आवतजावत नै बन्द भएको अवस्थामा सामान आयात गर्न बाटो नै परिवर्तन गर्नुपर्ने बताउँछन् । ‘यदि पुल बनेर मुभमेन्ट हुन थाल्यो भने पनि हाम्रो हिजोको पूर्वाधारहरू सबै कोल्याप्स नै भएको छ,’ उनले भने, ‘पहिलेकै संख्यामा गाडीहरू आए भने हामीलाई जाँचपासकै समस्या हुन्छ । गाडीहरूलाई फिजिकल भेरिफिकेसन गर्न पार्किङ गर्ने ठाउँ चाहियो । सामान लोड–अनलोड गर्न गोदाम पनि छैन । बाढीले क्षति पुर्‍याएका संरचना तत्काल बन्न सक्ने अवस्था छैन ।’

चीन सरकारको अनुदानमा निर्माण भइरहेको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) पनि अब के हुन्छ भन्ने अन्योल रहेको उनले बताए । ‘व्यापारीको पनि २५–२६ वटा गाडी बेपत्ता नै भएको अवस्था छ,’ उनले भने, ‘सामान पनि सँगसँगै बगाएको हुनाले उहाँहरूलाई आर्थिक समस्या पनि होला । बाटो तत्कालका लागि खुले पनि वर्षको समय भएकाले जुनसुकै बेला पनि क्षति हुन सक्छ । यो पनि एउटा जोखिम नै भयो ।’

आर्थिक अभाव नहुने र सामान आयात गर्न चाहने व्यापारीहरूलाई भने ड्राइपोर्टको विकल्पमा रेल र पानीजहाज रहेको उनको भनाइ छ । वीरगञ्ज, विराटनगर र तातोपानी नाका वैकल्पिक मार्ग हुन् । यसमा लागत खर्च बढ्ने र समय धेरै लाग्ने हुन सक्छ । तर, धेरै समस्या नै नहोला भन्ने अनुमान गरिएको उनले बताए ।

रसुवागढीबाट कति आउँथ्यो सामान ?

चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (जेठ) सम्म रसुवागढी नाकाबाट ८० अर्ब ९१ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । १ अर्ब ९६ करोड १४ लाख बराबरको वस्तु निर्यात भएको छ ।

चीनतर्फको अर्को नाका तातोपानीबाट यो अवधिसम्म ४६ अर्ब ८९ करोडको आयात भएको छ । निर्यात व्यापार भने शून्य छ । चीनतर्फ हवाईमार्गबाट हुने बाहेक व्यापार यी दुई नाकाबाट हुने गरेको छ ।

सामान आयात घट्छ : राष्ट्रिय व्यवसायी महासंघ

नेपाल राष्ट्रिय व्यवसायी महासंघ अध्यक्ष मनोजबाबु श्रेष्ठले बाढीले भत्काएको बाटो तुरुन्तै खुल्ने अवस्था नरहेको हुँदा चाडबाडमा चीनबाट आयात हुने सामान आयात घट्न सक्ने बताउँछन् । उनका अनुसार मितेरी पुल भत्किएको ठाउँमा चिनियाँ पक्षले पुल निर्माण कार्य थालेको भन्ने सूचना आएको छ ।

बाढीले सडक भत्काउँदा रसुवागढी–स्याफ्रुबेसी खण्ड अवरुद्ध छ ।

नेपालतर्फको बाटो पनि ६–७ ठाउँमा बिग्रिएकाले तत्कालै खुल्न सम्भव नरहेको उनी बताउँछन् । ‘बाढीले बाटो धेरै नै भत्काएको हुँदा तुरुन्तै खुल्ने सम्भावना छैन,’ उनले भने, ‘अब धेरै ठाउँमा चट्टानहरू काटेर बाटो बनाउनुपर्ने भएकाले नेपाल सरकारले मात्रै गरेर होइन कि चीन सरकारले पनि चासो लिएर काम गर्‍यो भने छिट्टै खुल्छ । नभए अवस्था अन्योलकै छ ।’

अझै १५–२० दिनअघि बाटो खुल्ने सम्भावना भने नभएको उनको भनाइ छ । ‘प्राप्त सूचनामा दुई सातामा केरुङ र नेपाल जोड्ने मितेरी पुलमा बेलिब्रिज बनाइसक्ने कुरा छ,’ उनले भने, ‘सडकको कुरा गर्दा नेपाल सरकारले नै निर्माण गरेर सम्भव छैन । किनभने, हामीसँग साधन छैन । पूर्वाधार पनि जटिल खालको भएकाले चट्टान काटेर तुरुन्तै बनाउने सम्भावन एकदमै न्यून छ ।’

उनले चाडबाडका बेला सामान आयात गर्न रसुवा नाका बाढीले समस्या पारेको भए पनि विकल्प मानिएको तातोपानी नाका पनि पूर्णरूपमा चल्न सक्ने अवस्थामा नरहेको बताए । ‘रसुवागढी नाकाबाट सामान नआउँदैमा चाडबाडमा हाहाकार भइहाल्ला कि भन्ने चाहिँ होइन,’ उनले भने, ‘बाढीले बगाएको सामान त बगाइहाल्यो । बाँकी भएका सामानहरू डाइर्भट गरेर पनि ल्याउन सकिन्छ । त्यसको व्यस्था पनि हुन्छ नै ।’

उनले बाँकी रहेका सामान पनि कति काम लाग्ने छन् र कति काम नलाग्ने भए भनेर तथ्यांक लिने काम भइरहेको बताए । उनका अनुसार सबै सामान गर्दा १ अर्ब बढीको क्षति भएको छ । अरू सामान चीनबाट भारत कोलकाता हुँदै पनि आइरहेको छ । केही महँगो पर्न गए पनि समस्या नै भने नहुने उनी बताउँछन् ।

तातोपानी नाकाको अवस्था के छ ?

तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्ले अहिले सामान आयात गर्न यताको बाटो पनि ठिक नभएको हुँदा अन्योल सिर्जना भएको बताउँछन् । ‘हाम्रो मुख्य नाकाभन्दा माथिपट्टि सीमानाका भन्दा दक्षिणपट्टि बीचमा पहिरो गइरहन्छ,’ भन्सार अधिकृत काफ्लेले भने, ‘अस्ति पनि ४ दिन बन्द भएर फेरि खुलेको छ बाटो । आजको दिनमा गाडी आउजाउ गर्न डिस्टर्ब छैन । पहिला रोकिएका गाडीहरू अहिले छिरिसकेका छन् ।’

सामान्य पानी पर्दा धेरै समस्या नभएको उनको भनाइ छ । ठूलो पानी पर्‍यो भने बाटो बन्द हुन सक्ने भएकाले यो नाका पनि निश्चित नभएको उनको भनाइ छ ।

उनका अनुसार खोप्लाङ भन्ने ठाउँमा पनि पहिरोले बाटो बन्द भएर अहिले मात्रै सुचारु भएको छ । कोदारीमा ३–४ पटक पहिरोले दुःख दिइसकेको छ । ‘ठूलो पहिरो नगएको अवस्थामा सानातिना पहिरो हटाउँदै सडक सुचारु हुँदै गरेको छ, अहिले गाडी रोकिएको अवस्था छैन,’ उनले भने, ‘सामान्य अवस्था रह्यो भने सहजै होला कि भन्ने अनुमान छ ।’

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?