
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका पाँच क्याम्पसका शिक्षकहरूले स्वायत्तताको माग गर्दै २५ असारदेखि पठनपाठन ठप्प पारेका छन्।
- शिक्षकहरूले आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामा केन्द्रले गरेको हस्तक्षेप खारेज गर्न र कार्यकारी परिषद्ले विकेन्द्रीकरण स्थापित गरेको पत्र नलेखेसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
- त्रिवि केन्द्रीय कार्यालयले विद्यार्थीको पठनपाठन प्रभावित भएकाले समस्या समाधान गर्न समिति गठन गर्ने तयारी गरेको छ।
३२ असार, काठमाडौं । त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका क्याम्पसका शिक्षकहरूले स्वायत्तताको माग गर्दै पठनपाठन ठप्प पारेका छन् ।
१९ असारदेखि आन्दोलित भएका प्राध्यापकहरूले २५ गतेदेखि पठनपाठन नै रोकेका छन् ।
केन्द्रले इन्जिनियरिङ अध्ययन संस्थानको अधिकार खोसेको भन्दै शिक्षकहरूले ५ वटा क्याम्पसको पठनपाठन रोकेका हुन् ।
पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, पश्चिमाञ्चल क्याम्पस र चितवन क्याम्पसको पठनपाठन सञ्चालन भएको छैन ।
‘थापाथली क्याम्पसका सरहरू पनि पुल्चोकमा कोणसभामा आउनु भएको छ । डेढ दुई सय जना छौं । स्वायत्तताको अधिकार नपाएसम्म आन्दोलन जारी राख्छौं,’ प्राध्यापक सघं पुल्चोकका सहसचिव रोशन कार्कीले भने ।
इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यायलको आर्थिक स्वायत्तता र विकेन्द्रीकरणको अधिकार ऐन विपरीत केन्द्रले कटौती गरेको शिक्षकहरूको भनाइ छ ।
२०५५ सालमा बनेको विकेन्द्रीकरणको नियम अनुसार संस्थान सञ्चालदन हुँदै आएकोमा २०८० सालमा त्रिविको बजेट वक्तव्यले अधिकार कटौती गरेको हो । इन्जिनियरिङ क्याम्पसका शिक्षकहरूले २०८० देखि नै आन्दोलन गर्दै आएको बताउँछन् ।
‘२०८० सालदेखि नै चरणबद्ध आन्दोलन गर्दै आएका थियौं । सुनुवाइ नभएपछि अहिले पठनपाठन नै रोक्न बाध्य भएका हौं,’ कार्कीले भने ।
संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गर्नुपर्ने माग शिक्षकहरूको छ ।
‘कार्यकारी परिषद्ले विकेन्द्रीकरण स्थापित छ भनेर पत्र नलेखेसम्म आन्दोलन रोकिदैन,’ कार्कीले भने ।
शिक्षकहरूले सामूहिक राजीनामा समेत दिएका छन् । यसरी शिक्षकहरूले क्याम्पस ठप्प पारेपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
त्रिवि केन्द्रीय कार्यालयका एक उच्च अधिकारीका अनुसार आन्दोलरत पक्षसँग वार्ता र समस्या समाधान गर्न समिति गठन गर्ने तयारी छ ।
‘विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको छ । समस्या समाधान गर्न एउटा कमिटी गठन हुन्छ,’ ती अधिकारीले भने ।
प्रतिक्रिया 4