+
+
Shares

त्रिवि क्रिकेट मैदानको काम समयमा नसकेपछि जरिबाना तिर्दै काम गर्दै ठेकेदार कम्पनी

सम्झौता अनुसार योजनाको कुल रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक हर्जाना तिर्नुपर्छ । जुन करिब दैनिक २ लाखभन्दा बढी हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १५:०८
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहरी विकास मन्त्रालयले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति र फ्लडलाइट जडानमा ढिलाइ हुँदा ठेकेदार कम्पनीलाई दैनिक ०.०५ प्रतिशत हर्जाना लगाएको छ।
  • संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले प्यारापिट बनाउन ४९ करोड २५ लाख र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता गरेको जनाएको छ।
  • कार्यालय प्रमुख चक्रवर्ती कण्ठले असार ३० गते नै ठेकेदारलाई हर्जाना बारे जानकारी गराएको र काम नसके दैनिक हर्जाना लाग्ने बताए।

३२ असार, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसकेपछि ठेकेदार कम्पनीलाई हर्जाना लगाइएको छ ।

तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौता अनुसार हर्जाना लगाइएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।

सम्झौता अनुसार योजनाको कुल रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक हर्जाना तिर्नुपर्छ । जुन करिब दैनिक २ लाखभन्दा बढी हुन्छ ।

मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको ज्वाइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले २०८१ फागुन १९ र २२ मा मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनसँग सम्झौता गरेका थिए ।

प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख चक्रवर्ती कण्ठले असार ३० गते नै ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जाना लाग्ने जानकारी गराइसकिएको बताए ।

‘असार ३० गते नै निर्माण कम्पनीहरूलाई पूर्वनिर्धारित क्षतिपूर्ति (हर्जाना) बारे जानकारी गराइसकेका छौं, मंगलबारदेखि उहाँहरू दैनिक हर्जाना तिरेर काम गरिरहनुभएको छ, अब काम नसक्दासम्म दैनिक हर्जाना लाग्ने छ,’ उनले भने ।

यसरी हर्जाना तिरेर बढीमा २ सय दिनसम्म अर्थात् आयोजनाको कूल रकमको १० प्रतिशत हर्जाना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था रहेको पनि उनले बताए । उक्त अवधिमा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राखिने व्यवस्था छ ।

तर, निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिबद्धता जनाएको छ । ४ हजार कुर्सी फिटिङ भइसकेको छ भने ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको छ ।

प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ भने फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तीय प्रगति र ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?