
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले साउन १ गतेदेखि विधान महाधिवेशनको एजेण्डामा औपचारिक छलफल सुरु गर्दैछ।
- सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधनको खाकामाथि छलफल हुनेछ।
- एमालेले ७० वर्षे उमेर हद र दुई कार्यकालभन्दा बढी उम्मेदवार नपाउने व्यवस्थालाई हटाउने प्रस्ताव आजको सचिवालय बैठकमा ल्याउने तयारी गरेको छ।
१ साउन, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पार्टीको विधान महाधिवेशनको एजेण्डामा आजदेखि औपचारिक छलफल सुरू गर्दैछ । त्यसका लागि आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्दै छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका लागि सचिवालय बैठक बोलाइएको हो ।
एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसैको तयारीका लागि सचिवालय, पोलिटव्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको गौतमको भनाइ छ ।
बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन् । राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने एमालेले जनाएको छ ।
आजको सचिवालय बैठकमा हुनेछ विधान संशोधनको खाकामाथि छलफल
आजको सचिवालय बैठकमा उपाध्यक्ष पौडेलले तयार पारेको विधान संशोधनको खाकामाथि छलफल गर्ने तयारी छ । ‘आजबाट विधान संशोधन प्रतिवेदनको खाकामाथि छलफल सुरु हुनेछ । सचिवालयका नेताहरूले आफ्ना कुरा राखेपछि उक्त खाका पोलिटब्यूरो र केन्द्रीय कमिटीमा लगिनेछ,’ प्रचार विभाग प्रमुख गौतमले भने, ‘विधानको खाका बैठकमा राखेसँगै विधान महाधिवेशनको एजेण्डामाथि औपचारिक छलफल पनि सुरू हुनेछ ।’
यो विधान महाधिवेशनमा ७० वर्षे उमेर हद र एउटै पदमा (पालिका भन्दा माथिको पदाधिकारीमा) लगातार दुईपटक बढी उम्मेदवार बन्न नपाउने एजेण्डा प्रमुख बन्ने स्रोत बताउँछ ।
स्रोतका अनुसार, पार्टी विधानको धारा ६४ अन्तर्गतको यी दुवै व्यवस्था हटाउने प्रस्ताव आजको सचिवालय बैठकमा ल्याउने तयारी छ । ‘पार्टी बैठकले यी दुवै व्यवस्था विधानबाट हटाउने निर्णय गरिसकेकाले यही प्रस्ताव लैजानु केन्द्रीय कार्यालयको दायित्व हो,’ स्रोत भन्छ, ‘अब छलफलका क्रममा नेताहरूले कस्तो कुरा राख्नुहुन्छ, विधान महाधिवेशनका प्रतिनिधिहरूले कस्ता मत राख्छन् भन्ने फरक हो ।’
१५–१७ असोज २०७८ मा सम्पन्न गोदावरी विधान महाधिवेशनबाट संशोधित पार्टी विधानको धारा ६४ (१) मा दुई कार्याकाल बढी एउटै पदमा उम्मेदवार हुन नपाउने र धारा ६४ (२) मा ७० वर्षे उमेर हद रहने व्यवस्था थियो । तर दुई महिना नबित्दै चितवनमा (१०–१४ मंसिर २०७८ मा) सम्पन्न दशौं राष्ट्रिय महाधिवेशन अघि बसेको केन्द्रीय कमिटीबाट धारा ६४ (१) को व्यवस्था हटाइएको थियो ।
नेताहरूका अनुसार १० मंसिर २०७८ साँझ बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य संख्या २२५ बाट ३०१ बनाउने, पदाधिकारी संख्या १५ बाट १९ बनाउने र केन्द्रीय आयोगहरू १५ बाट २५ बनाउने निर्णय समेत भएको थियो । महासचिव शंकर पोखरेलले दुईपटक बढी उम्मेदवार हुन नपाउने व्यवस्था खारेज गरेकैले डा.पुष्प कँडेल तेस्रोपटक लेखा परीक्षण आयोगको अध्यक्ष निर्वाचित भएको तर्क गरिरहेका छन् ।
महासचिव पोखरेल सहित ओलीतर्फका नेताहरूको यस्तो तर्कप्रति पार्टीभित्रै असहमति छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे लगायतले संस्थापन पक्षको तर्कमा असहमति जनाइरहेका छन् । एउटै पदमा दुईपटक बढी बस्न नपाइने व्यवस्थाकै कारण ईश्वर पोखरेल तेस्रोपटक महासचिव बन्न नपाएको उनीहरूको तर्क छ ।
‘लेखा परीक्षण आयोग कार्यकारी कमिटी होइन । त्यसैले दुई कार्यकालको व्यवस्था यसमा आकर्षित हुँदैन,’ यो पक्षका एक नेता भन्छन्, ‘खुसुक्क विधान संशोधन गर्ने कार्यप्रति यो विधान महाधिवेशनमा कुरा उठ्छ ।’
तेहरिने तयारीमा ओली, प्रतिवाद गर्ने तयारीमा विद्या भण्डारी पक्षका नेता
पार्टी नेतृत्व लिनेगरी एमालेको सक्रिय राजनीतिमा आएकी विद्या भण्डारी र उनी पक्षीय नेताहरुले ७० वर्षे उमेर हदको एजेण्डा पनि नछोड्ने तयारी गरिरहेका छन् । त्यसको थालनि आजको सचिवालय बैठकबाटै हुने सम्भावना छ ।
‘सचिवालयमा रहनु भएका पदाधिकारीहरूले कार्यकाल र उमेर हदको विषय सचिवालय बैठकमा उठाउने सम्भावना छ । त्यसपछि पोलिटब्यूरो, केन्द्रीय कमिटी र विधान महाधिवेशनसम्म पुग्छ,’ भण्डारी निकट अर्का एक नेताले भने ।
अर्थात् संस्थापनले जस्तो प्रस्तावको तयारी गरिरहेका छन्, त्यसको प्रतिवाद गर्ने तयारी भण्डारीतर्फका नेताहरूले अगाडि बढाएका छन् ।
११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आउने नेताको निर्धारण पनि यही एजेण्डाबाट हुने भएकाले एमालेपंक्ति महत्त्वपूर्ण छलफलमा प्रवेश गर्न लागेको छ ।
किनकि उमेर हद र दुई कार्यकालको व्यवस्थाबारे हुने निर्णयले तेस्रोपटक ओली अध्यक्ष हुने वा नहुने निर्क्यौल हुनेछ ।
यी दुवै व्यवस्था हटाउने प्रस्ताव विधान महाधिवेशनबाट पारित भयो भने ओली नेतृत्वकै प्रतिस्पर्धामा रहनेछन् ।
अर्थात् विधान महाधिवेशन नेतृत्व दौडको सेमिफाइनल हुने परिस्थिति रहेकाले पनि एमाले पंक्ति महत्त्वपूर्ण एजेण्डामा औपचारिक प्रवेश गरेको छ । ‘विधान महाधिवेशनको एक महिना अगाडि नै हामीले प्रतिवेदनको खाका तयार पारेर मातहतको कमिटीमा छलफल गर्न पठाउनुपर्नेछ । त्यो भनेको साउन २२ गतेभित्रै प्रतिवेदनको एउटा रुप तयार हुनेछ,’ प्रचार विभाग प्रमुख गौतम भन्छन् ।
मातहत कमिटीमा पठाउनुअघि राजनीतिक, संगठनात्मक र पार्टी विधानको मस्यौदा सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा छलफल हुनेछ । जसका लागि २ साउनमा पोलिटब्यूरो र ५ साउनमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
प्रतिक्रिया 4