
News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगारीको कथामा आधारित फिल्म 'रियाल रिंगेट'को ट्रेलर सार्वजनिक भएको छ।
- निर्देशक विभोर पोखरेलले भने, ‘यस फिल्मले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीले भोग्नुपर्ने यथार्थ र जीवनशैलीलाई नजिकबाट चित्रण गर्नेछ।’
- फिल्म साउन १६ गतेदेखि प्रदर्शनमा आउनेछ र काफिया फिल्म्सले वितरण गर्नेछ।
काठमाडौं । वैदेशिक रोजगारीको मर्मस्पर्शी कथामा आधारित फिल्म ‘रियाल रिंगेट’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कथावस्तु र चरित्र चित्रणलाई संक्षिप्तरुपमा दर्शाइएको छ ।
खाडी मुलुकमा श्रम गर्दा आतंकवादीको कब्जामा परेर मारिएका दृश्य र कथा पनि ट्रेलरमा छ । शीर्ष अभिनेता प्रमोद चौलागाईँले कब्जामा रहेकै बेला नेपालमा पठाएको भिडियो सन्देश टेलिभिजनमा प्रसारण समेत भइरहेको देखिन्छ ।
ट्रेलर सार्वजनिक भएपछि निर्देशक विभोर पोखरेलले यो फिल्मलाई हरेक नेपालीको कथाको रुपमा चर्चा गरे । उनले भने, ‘यस फिल्मले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गर्नेछ ।’
फिल्मको नाम पनि आफैमा प्रतीकात्मक छ । ‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको हो । यी दुवै नामको संयोजनले नेपाली श्रमिकको लागि मुख्य गन्तव्य मुलुकलाई सङ्केत गर्छ ।
फिल्मको शीर्ष भूमिकामा चौलागाईंले अभिनय गरेकाछन् । नीता ढुंगानासहित छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरीको अभिनय छ ।
पटकथा प्रदीप भारद्वाजको छ । रोशन श्रेष्ठको एक्सन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको नृत्य छ ।
छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको छ । यो चलचित्रलाई काफिया फिल्म्स ले वितरण गर्नेछ ।
‘रियाल रिंगेट’ साउन १६ गतेदेखि प्रदर्शनमा आउनेछ ।
प्रतिक्रिया 4