+
+
Shares

उपचार पर्खिरहेछन् लद्दाखमा एक गुमनाम नेपाली मजदुर

डा. पद्मा सम्झिन्छिन्, ‘उनी रगतमा लत्पतिएका थिए । सास फेर्न संघर्ष गरिरहेका थिए । टाउकोमा रगत जमेको थियो ।’

रोहेज खतिवडा रोहेज खतिवडा
२०८२ साउन ४ गते १५:३०
नवीन कुमार रोका मगर

४ साउन, लेह, लद्दाख । एकिदन लद्दाख अदालतकी शल्यचिकित्सक डा. पद्मा देक्सितलाई नयाँ बिरामी हेर्नुपर्ने खबर आउँछ । उनी तुरून्तै कोमा रुममा जान्छिन् । त्यहाँ एक बिरामी जीवन र मृत्यसँग संघर्ष गरिररहेको पाउँछिन् ।

शरीरमा रगत लत्पतिएको बिरामी सास फेर्न संघर्ष गरिरहेको थियो । कुनै पनि बेला सास रोकिन सक्थ्यो । यही बिरामीलाई उनले आजसम्म हेरचाह गरिरहेकी छिन् । यी बिरामी हुन् प्युठानको स्वर्गद्वारी घर भएका नवीन कुमार रोका मगर ।

नवीन सन् २००१ मा काम गर्न लद्दाख आएका थिए । सन् २००१६ को कुनै एक दिन (उनलाई तिथिमिति सम्झना छैन) उनी अचानक बेहोस् भएर ढले ।

‘म यहाँ माथि एउटा गाउँमा काम गर्थें’ उनी सुनाउँछन्’, एक दिन गोरू जोत्दै थिएँ, पिसाब लाग्यो । पिसाब गर्न लाग्दा बेहोस् भएर ढलेँ ।’

यो घटना लद्दाखको खाल्त्से नजिककैको तारगाउँमा भएको थियो । उनी ढलेपछि चोट लागेर रगत पनि बग्यो ।

गाउँले महिलाहरूले उनलाई रगतपिच्छे अवस्थामा उठाएर खाल्त्सेको स्थास्थ्य केन्द्रमा पुर्‍याए । त्यहाँ उपचार नहुने भएपछि उनीहरूले लद्दाखको केन्द्र लेहमा रहेको सोनाम नोर्बु मेमोरियल अस्पतालमा पुर्‍याइदिए र फर्किए ।

डा. पद्मा सम्झिन्छिन्, ‘उनी रगतमा लत्पतिएका थिए । सास फेर्न संघर्ष गरिरहेका थिए । टाउकोमा रगत जमेको थियो ।’

उनलाई लगभग तीन महिना अस्पताल राख्नु पर्‍यो । यसमध्ये लामो समय त कोमामा मै राख्नु पर्‍यो ।

डा. पद्माले उनलाई नयाँ कपडा दिलाइन् । श्रीमान्‌सँग मिलेर औषधीको खर्च गरिन् । र, साथीहरूसँग पैसा उठाएर उनको अस्पतालको खर्च भरिन् ।

नवीन कुमार रोका मगर

नवीनकुमारको परिवारसँग सम्पर्क हुन सकेन् । उनका आफन्त यहाँ कोही थिएनन् । त्यसैले, नवीनकुमारको रेखदेखको जिम्मा उनैले लिइन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि नवीन कुमारको जाने ठाउँ थिएन । त्यसैले पद्माले नै लद्दाखमै रहेको महाबोधी सोसाइटीको महाबोधी वृद्धाश्रममा पठाइन् ।

भिक्षु संघसेनाले स्थापना गरेको महाबोधी, लद्दाखले आफन्त नभएका वृद्धवृद्धाका लागि यो वृद्धाश्रम चलाइरहेको छ । यसमा अहिले ४० जना वृद्धवृद्धाले शरण पाइरहेका छन् । महाबोधीको वृद्धाश्रम जाँदा नवीन मात्रै ३० वर्षका थिए ।

अहिले ३८ वर्ष पुगेका नवीनकुमार आजभन्दा २५ वर्षअघि लद्दाख आएका थिए, यसपछि परिवारको सम्पर्कबाहिर छन् । उनी सन् २००१ मा लद्दाख आएका थिए ।

लद्दाख आउनुअघि पनि उनी तीन वर्ष पानीपतमा काम गरेर घर फर्किएका थिए । उनको घर प्युठानको स्वर्गद्वारी मन्दिर नजिकै पर्छ । नवीन आफ्नो ठेगाना सुनाउँछन्, ‘भिङ्ग्री-६, तामीडाँडा । त्यहाँ स्कुल नजिकै उनीहरूको पसल पनि थियो ।’

उनले सुनाए, ‘त्यसबेला नागरिकता बनाउनु पर्‍यो भनेको उमेर पुगेन, अनि इन्डिया नै फर्किएँ ।’

त्यतिबेला गाउँमा फोन थिएन । नवीनलाई लेख्न पढ्न आउँदैन, चिठी पठाएनन् । यसपछि घरमा उनको सम्पर्क भएन । उनकी आमा पहिल्यै बितिसकेकी थिइन् । बाबु यसैबेला बिते । चार दाजु र एक दिदी थिइन् । दिदीको विवाह भइसकेको थियो । कसैले उनको खोजखबरी गरेनन् वा गरे पनि ठेगाना पत्ता लगाउन सकेनन् ।

गाउँका नम बहादुर रोका मगर लद्दाख आएर नविनकुमार बने ।

यहाँ जताततै सडक बनिरहेको थियो । मजदुरी काम प्रशस्तै थियो । उनी पनि सडक बनाउने ठेकेदारका लागि मजदुरी गर्न थाले । बिस्तारै डोजर चलाउन सिके र केही वर्ष डोजर पनि चलाए । यसबीचमा केही वर्ष घरेलु कामदारका रूपमा पनि काम गरे ।

उनी स्थानीयलाई घरको काम र खेतीका लागि पनि काम गर्दिन्थे । उनी बेहोस भएको दिन तारगाउँमा एक स्थानीयको खेत जोतिदिन गएका थिए । पिसाब गर्न खोज्दा उनी बेहोस भएर ढलेका थिए ।

यसबीच कमाएको पैसा केही यहाँ रहेका नेपालीलाई सापटी दिएका थिए, केही साहुले दिन बाँकी थियो । तर, कतिपय ठेकेदारले डोजर चलाएको पैसा नदिएको उनले गुनासो गरे ।

‘पहिल्यै देको, तँ बिरामी भएर बिर्सिस् भन्छन्,’ उनले दुखेसो गरे ।

नवीन कुमार रोका मगर

उनको पेटमा पत्थरी छ । पत्थरी निकाल्न अपरेसन गर्नुपर्ने छ । तर, उनको शारीरिक अवस्थाले अपरेसन गर्न जटिल छ । दिल्लीबाट विशेषज्ञ आएको बेला मात्रै अपरेसन हुनसक्छ । उनलाई दिल्ली लगेर उपचार गरिदिने कोही छैन ।

‘हामी दिल्लीबाट आउने विशेषज्ञ कुरिरहेका छौं, उनीहरू आएपछि नवीनको स्टोनको अपरेशन हुन्छ,’ डा. पद्माले सुनाइन् ।

अब नवीन घर जान चाहँदैनन् ।

‘अवस्था यस्तो छ, घर गएर के गर्नु ! काम गर्न सक्दिनँ, परिवारमा बोझ मात्रै हुन्छ ।’

उनी यही मनोदशामा छन् ।

यसबीचमा परिवारसँग सम्पर्क गर्न उनले इच्छा नदेखाएको डा. पद्मा बताउँछिन् । परिवारका मानिसहरू पनि खोज्दै गएका छैनन्।

कुराकानीको अन्त्यमा घर नगए पनि परिवारसँग सम्पर्क गर्न चाहेको उनले बताए ।

‘अब म फर्केर त जाँदिनँ, गाडी चढ्न पनि हुँदैन’ उनले भने, ‘दाइहरूले सम्पर्क गर्छन् कि !’

उनको जेठा दाइको नाम रामबहादुर रोका मगर हो । डोमबहादुर, लीलबहादुर, डीलबहादुर अरू दाजुहरू हुन् ।

‘दाजुहरूले सम्पर्क गर्नुभयो भने वृद्धाश्रमको वार्डेनलाई फोन गर्नु अनि नवीनलाई बोलाइदिनु भन्नु,’ छुट्नेबेला उनले भने ।

लेखक
रोहेज खतिवडा

रोहेज खतिवडा सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?