+
+
Shares

चीनले भरतपुर क्यान्सर अस्पताल, सिभिल अस्पताल र रसुवागढी–केरुङ ट्रान्समिसन लाइनमा सघाउने

अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भयो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १५:०९

५ साउन, काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । द्विपक्षीय भेटवार्ता पश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)को विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । यी समझदारी पत्रमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरेका छन् ।

भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १८३४ वर्गमिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुने छ। यसबाट बोनम्यारो क्यान्सरको उपचारमा उल्लेख्य योगदान पुग्ने विश्वास छ । त्यस्तै सिभिल अस्पताल विस्तारको सम्भाव्यता अध्ययन समेत हुनेछ ।

यी दुई सम्झौताको कार्यान्वयनबाट नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यही अवसरमा नेपाल र चीनबीच मानव संशाधन विकास सम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । यसबाट १ हजार २७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरुले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ । यसबाट कर्मचारीको क्षमता अभिवृद्धिमा उल्लेख्य योगदान पुग्ने विश्वास छ ।

यही अवसरमा रसुवागढी–केरुङ्ग सिमापार ट्रान्समिसन लाइन निर्माणको निर्माणको सम्भाव्यता अध्ययन सम्बन्धी माइन्युटमा नेपाल विद्युत प्राधिकरणका एमडी हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरेका छन् ।

यसबाट रसुवागढी–केरुङ्ग ट्रान्समिसन लाइन निर्माण सम्बन्धी सम्भाव्यता अध्ययनको काम अगाडि बढ्नेछ ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल–चीन बहुआयामिक सम्बन्धको चर्चा गर्दै नेपाल भ्रमण गरेकोमा सिड्का अध्यक्षलाई धन्यवाद व्यक्त गरे । साथै उच्चस्तरीय भ्रमणले दुईपक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्याउने विचार व्यक्त गरेका थिए ।

अर्थ सचिव उपाध्यायले नेपाल–चीन सम्बन्धको महत्व उल्लेख गर्दै हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य क्षेत्र, मानव संशाधन विकास र सिमापार विद्युत व्यापारमा योगदान पुग्ने र यसबाट नेपाली जनताको लागि फाइदाजनक हुने विचार व्यक्त गरे ।

उनले आगामी दिनमा मित्रराष्ट्र चीनको तर्फबाट पूर्वाधार निर्माणमा थप सहयोग हुने विश्वास व्यक्त गरे ।

साथै चिनियाँ प्रतिनिधिमण्डलले भोटेकोशी बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?