
५ साउन, काभ्रेपलाञ्चोक । रामेछापका एक पुरुषले आफ्नै प्रेमिकाको हत्या गरेका छन् । आफूबाट टाढा हुँदै गएपछि प्रेमिकाको हत्याको गरेको ती पुरुषले स्वीकार गरेका छन् ।
रामेछापको मन्थली नगरपालिका-१३ का ३७ वर्षीय सन्तोष सुनारले ३३ वर्षकी प्रेमिका शर्मिला उप्रेतीको ३२ साउनमा बनेपा नगरपालिका-१३ साँगामा रहेको भगवान थुम्की सामुदायिक वनमा हत्या गरेका हुन् । सन्तोषलाई प्रहरीले पक्राउ गरेको छ ।
शर्मिलाको शव आइतबार दिउँसो भगवान थुम्की सामुदायिक जंगलमा कोल्टो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए ।
घलेका अनुसार घुम्न जाऊँ भन्दै जंगल लगेपछि सन्तोषले पहिले मन्दिरमा गाडिएको लठ्ठीले प्रहार गरेका थिए र त्यसपछि कुर्ताको सल घाँटीमा बाँधेर हत्या गरेका थिए।
प्रारम्भिक बयानमा सन्तोषले विवाह गर्न प्रस्ताव गर्दा शर्मिलाले नमानेको र त्यसकै रिसमा हत्या गरेको बताएका छन्।
अनुसन्धानपश्चात् घटनामा संलग्न भएको आरोपमा बनेपा नगरपालिका-१० इँटाभट्टास्थित कोठाबाट सन्तोषलाई प्रहरीले पक्राउ गरेको हो। प्रारम्भिक बयानमा अभियुक्तले प्रेमिकालाई कर्तव्य गरी मारेको स्वीकारेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बनेपाबाट डीएसपी रामेश्वर त्वातीको कमान्डमा १५ जनाको टोली र धुलिखेल अस्पतालको फरेन्सिक डाक्टर सहितको टोली खटिई प्रारम्भिक अनुसन्धान गरिएको थियो । मृतकका बुबा कमलबहादुर उप्रेतीले सनाखत गरेका थिए । गत ३२ असारदेखि हराएकी शर्मिलाको सोही दिन हत्या भएको प्रहरीले जनाएको छ ।
आरोपी सन्तोषलाई थप अनुसन्धानका लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ४ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।
हत्यापछि पश्चाताप
शर्मिलाको हत्यापछि सन्तोषले आफूलाई पश्चाताप भएको बताएका छन ।
सँगै ज्यामी काम गर्ने उनीहरू दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । केही महिनादेखि विवाहको कुरा चल्न थालेपछि शर्मिला टाढिएको सन्तोषको भनाइ छ ।
लठ्ठी प्रहारपछि शर्मिलाकै सलले घाँटीमा बेरेर कसेर ज्यान लिएको सन्तोषले स्वीकारेका छन् । हत्यापछि पश्चाताप भएर निकैबेर रोएको उनले प्रहरीसमक्ष बयानमा भनेका छन् ।
प्रतिक्रिया 4