+
+
Shares

मनोहराको बाढीबाट सुकुम्बासी बस्ती जोगाउन जुट्यो वाईसीएल

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते ८:१९

६ साउन, काठमाडौं । मनोहराको बाढी सुकुम्बासी बस्तीमा पस्न नदिने उद्देश्यले नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले अस्थायी तटबन्ध सुरु गरेको छ ।

वाईसीएल बागमती प्रदेश र सम्पर्क विदेश प्रदेश कमिटीको आयोजनामा आज बिहानदेखि मनोहरा खोला पुलबाट करिब एक किलोमिटर उत्तरतर्फ बाँध बाँध्ने काम भइरहेको छ ।

‘स्थानीयले यसअघि ग्याबिन तारजाली लगाउनु भएको रहेछ, त्यसलाई बाढीले बगाएर खोलातिरै लगेको रहेछ । अनि अर्कोतिर अस्थायी तटबन्ध नभएको ठाउँबाट बाढी बस्तीमा पस्दो रहेछ । तिनै ठाउँमा आज अस्थायी तटबन्ध गर्न जुटेका छौं,’ वाईसीएल केन्द्रीय अध्यक्ष पुष्प ओलीले भने ।

उनका अनुसार बाँसका भाटाले बार लगाउने र त्योभन्दा पछाडि बालुवा–गिट्टी बोरामा भरेर बाँध बनाउने काम भइरहेको छ ।

यो काममा बागमती प्रदेशका माओवादी केन्द्रका नेताहरु, वाईसीएल फ्र्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा) लगायत सहभागी छन् ।

वाईसीएलले यही साउन १ गतेदेखि ‘श्रम तथा उत्पादन अभियान’ सुरु गरेको थियो । अभियानको उदघाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । सोही अभियान अन्तर्गत मनोहरा खोलामा बाँध बाध्न लागिएको वाईसीएलले जनाएको छ ।

‘आफैं स्रोतसाधन जुटाएर आज मनोहरामा बाँध बाँध्ने काम भइरहेको छ । यो अभियान श्रमबाट टुटेको कम्युनिष्ट कार्यकर्तालाई पुनः जोड्ने कडी पनि हो,’ वाईसीएल अध्यक्ष ओलीले भने, ‘श्रम तथा उत्पादनको हाम्रो अभियान दुई महिनासम्म जारी रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?