
News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री डा. आरजु राणाले अवैतनिक वाणिज्यदूतहरूको भूमिका आर्थिक कूटनीति र जनस्तरमा सम्बन्ध विस्तारका लागि अत्यन्तै महत्त्वपूर्ण भएको बताइन्।
- एचसीसी–एनका डिन चन्द्रप्रसाद ढकालले अवैतनिक वाणिज्यदूतहरू नेपालका आर्थिक कूटनीतिको सक्रिय साझेदार भएको उल्लेख गरे।
- ढकालले एचसीसी–एनले परराष्ट्र मन्त्रालयसँग सहकार्यमा पहिलोपटक नेपालमा आर्थिक सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिए।
७ साउन, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएकी छन् ।
काठमाडौंमा बुधबार आयोजित ‘अनररी कन्सुलर कोर नेपाल’ (एचसीसी–एन) को १८औं वार्षिक साधारणसभा तथा चार्टर डे समारोहमा मन्त्री राणाले नेपाल र अवैतनिक वाणिज्यदूतहरुूले प्रतिनिधित्व गरेका राष्ट्रबीचको सम्बन्ध थप मजबुत बनाउनुका साथै सम्बन्धित राष्ट्रसँग आर्थिक, शैक्षिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताइन् ।
‘वर्तमान विश्वमा द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउनुपर्ने आवश्यकता छ । व्यापार प्रवर्द्धन, वैदेशिक लगानी आर्कषण, बजारसम्मको पहुँचको सुनिश्चितता, अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि प्रवर्द्धन तथा परस्पर लाभ र चासोका विषयमा यहाँहरूको योगदान अनिवार्य र महत्त्वपूर्ण छ,’ मन्त्री राणाले भनिन् ।
कार्यक्रममा एचसीसी–एनका डिन चन्द्रप्रसाद ढकालले अवैतनिक वाणिज्यदूतहरू केवल औपचारिक प्रतिनिधि नभई नेपालको आर्थिक कूटनीतिका सक्रिय साझेदार भएको बताए ।
‘हामी सेरेमोनियलबाट माथि उठेर सक्षम, सक्रिय र समर्पित ढंगले नेपालको कूटनीति र विकासमा योगदान दिइरहेका छौं,’ ढकालले भने, ‘वर्तमान विश्व पारस्परिक रूपमा जोडिएको परिस्थितिमा आर्थिक कूटनीतिको महत्त्व झन् तीव्र गतिमा बढिरहेको छ । आजको विश्वव्यापी युगमा आर्थिक कूटनीति विकल्प होइन, आवश्यकता हो ।’
आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष समेत रहेका ढकालले राष्ट्रिय हितका पक्षमा एचसीसी–एनको प्रतिबद्धता दोहोर्याए ।
‘नेपाल अल्पविकसित राष्ट्र (एलडीसी) को श्रेणीबाट स्तरोन्नति हुने तयारीमा रहेकाले अवैतनिक वाणिज्यदूतहरूले आर्थिक रूपान्तरणमा स्वयंसेवकका रूपमा काम गर्न सक्नेछन्,’ उनले भने ।
ढकालले एचसीसी–एन राष्ट्रिय प्राथमिकताप्रति समर्पित रहेको बताउँदै परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा महासंघ र एचसीसी–एनले पहिलोपटक नेपालमा आर्थिक सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको बताए ।
हालै काठमाडौंको चन्द्रगिरिमा परराष्ट्र मन्त्रालयसँग संयुक्त रूपमा आयोजित कार्यशाला स्मरण गर्दै उनले त्यस अवसरमा अवैतनिक वाणिज्यदूतहरूले वैदेशिक लगानी, नवप्रवर्तन, व्यापार, पर्यटन र गैरआवासीय नेपालीसँगको सहकार्यमा योगदान पुर्याउन सक्ने बताए ।
सोही अवसरमा संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्यले आफ्नो विशेष मन्तव्यमा कूटनीति र अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको युनिक उपस्थिति र बदलिँदो विकासलाई समन्वय गरेर अघि बढ्न अवैतनिक वाणिज्यदूतहरूको भूमिका प्रष्ट पारे ।
कार्यक्रममा ढकालले आजैका दिनदेखि एचसीसी–एनको डिन पद नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापालाई हस्तान्तरण गरे ।
प्रतिक्रिया 4