+
+
Shares

टोखाको २५ करोड प्रकरण : भरिया थुनामा, मालिकलाई सुटुक्क उन्मुक्ति

प्रमाणहरूलाई अनदेखा गर्दै अदालतले मालिक नारायण पौडेललाई उन्मुक्ति दिएको छ । एक त ठूला घटनामा मालिकको पहिचान हुनै गाह्रो हुने र भइहालेर बल्लतल्ल मुद्दा चल्दा रिहाइ हुनुले आशंका गर्नेहरूलाई थप बल पुर्‍याएको देखिन्छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ साउन ८ गते २१:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ४ चैतमा टोखाबाट २५ करोडभन्दा बढी रकमसहित पक्राउ परेका भरिया कुसाङ लामालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो।
  • २५ करोडका मालिक नारायण पौडेललाई भने अदालतले ३५ लाख धरौटीमा रिहा गर्ने आदेश दियो तर उनी सुटुक्क रिहा भए।
  • पौडेलले रकम ट्रकमा राखेको सीसी क्यामेराको फुटेज भेटिए पनि उनले उन्मुक्ति पाए।

८ साउन, काठमाडौं । गत ४ चैतमा टोखाबाट २५ करोडभन्दा बढी रकमसहित पक्राउ परेका भरिया कारागार चलान हुँदा यसका मालिकले भने उन्मुक्ति पाएका छन् ।

ट्रकमा फल्स बटम बनाएर लुकाएर राखेको अवस्थामा यूरो र डलर गरी २५ करोडभन्दा बढी रकमसहित पक्राउ परेका भरिया (ट्रक चालक) फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

तर, अहिले यसका मालिक भने सुटुक्क रिहा भएको खुलेको छ । त्यतिबेला फरार रहेका २५ करोडका मालिक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ का ३५ वर्षीय नारायण पौडेल सुटुक्क अदालत उपस्थित भएर रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको ३२ असारको इजलासले पौडेललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । पौडेललाई ३५ लाख धरौटीमा रिहा गर्ने आदेश भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए । अदालतको आदेशपछि तोकिएको ३५ लाख धरौटी बुझाएर मालिक पौडेल रिहा भएका हुन् ।

जबकि, यो केसमा यसअघि भरियालाई काठमाडौं जिल्ला अदालतले नै पुर्पक्षका लागि कारागार पठाएको थियो । ३ वैशाखमा न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले भरिया सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का लामालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

एकै मुद्दामा भरिया पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान हुँदा मालिक भने सुटुक्क अदालत उपस्थित भएर धरौटी तिरेर छुटेका छन् ।

४ चैतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखास्थित झोरबाट चीनको केरुङतर्फ जान लागेको ना७ख १६५२ नम्बरको ट्रकबाट उक्त रकमसहित चालक लामालाई पक्राउ गरेको थियो । लामा उक्त रकमको भरिया रहेको खुलेको थियो ।

पौडेलकै संलग्नतामा उक्त रकम ट्रकमा राखिएको सीसी क्यामेराको फुटेज समेत भेटिएको थियो । पौडेलले करिब साँझ साढे ६ बजेतिर उक्त रकम ट्रकमा राखेको फुटेजमा देखिएको थियो ।

त्यतिबेला मालिकको भने पहिचान हुन सकेको थिएन । बरामद ५००, २००, १०० दरका जम्मा १३ लाख ७५ हजार १५० यूरो र १०० र ५० दरका ३ लाख २० हजार ८५० डलर (तत्कालीन प्रचलित मूल्यअनुसार २५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ), ट्रक र भरिया लामासहितलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन बुझाइएको थियो ।

भरिया मात्रै पक्राउ गरेर मालिकलाई चोख्याएको, मालिक खोई भन्दै यो विषयले संसद्‌सम्म चर्चा पाएको थियो । केही समयपछि विभागले यसका मालिक पनि पहिचान गरेको थियो ।

‘संसद्‍सम्म यसका मालिकबारे प्रश्न उठेको थियो । जसका कारण पनि मालिक पहिचान गर्न हामीलाई चुनौती थियो । तर सफल भयौं,’ विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले भनेका थिए ।

विभागले २० चैतमा पत्रकार सम्मलेन गर्दै यो रकमका मालिक पौडेल रहेको बताएको थियो । तर त्यतिबेलासम्म पनि उनी फरार नै थिए । पक्राउ परेका भरिया लामा र फरार मालिक पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गतको कसुरमा २ वैशाखमा मुद्दा दायर गरिएको थियो ।

उनीहरूविरुद्ध बरामद भएको रकम बराबरको बिगो र जरिवाना मागदाबी गर्नुका साथै ट्रकलाई कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐनअनुसार जफतका लागि मागदाबी गरिएको थियो ।

भरिया मात्र पक्राउ परेपछि मालिक कहाँ छन् भन्ने अनलाइनखबरको प्रश्नमा त्यतिबेला विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले भारत पुगेको भन्ने सूचना प्राप्त भएकोसम्म बताएका थिए । तर उनलाई पक्राउ परेर नेपाल ल्याउन सम्बन्धित संयन्त्र असफल भएको थियो ।

फरार रहेको करिब ४ महिनापछि सुटुक्क अदालत उपस्थित भएका पौडेल सुटुक्कै रिहा भए । भरिया पक्राउ परेर कारागार चलान हुँदा यसका मालिक सुटुक्क रिहा हुनुले अनुसन्धानको सुरुवातकर्ता प्रहरीदेखि राजस्व अनुसन्धान विभागका कर्मचारीसम्म अचम्मित भएका छन् ।

‘स्रोत बिनाको यति ठूलो मात्रामा त्यो पनि विदेशी रकम बरामद भएको छ । अर्कोतर्फ भरियासमेत यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका छन् । यति हुँदाहुँदै पनि मालिक भने धरौटीमा सुटुक्क रिहा हुँदा हामी पनि छक्क परेका छौं,’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

अनुसन्धानका क्रममा मालिक पौडेलको अन्तिम लोकेसनसमेत रकम बरामद भएनजिकै देखिएको थियो । जसका कारण यो रकम चीततर्फ लैजान उनको प्रत्यक्ष संलग्नता हुनसक्ने थप आधार तय भएको थियो ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा

तर, यी प्रमाणहरूलाई अनदेखा गर्दै अदालतले मालिकलाई उन्मुक्ति दिएको छ । एक त ठूला घटनामा मालिकको पहिचान हुनै गाह्रो हुने र भइहालेर बल्लतल्ल मुद्दा चल्दा रिहाइ हुनुले आशंका गर्नेहरूलाई थप बल पुर्‍याएको देखिन्छ ।

टोखा नगरपालिका-१० महादेवटार हाइटस्थित आफ्नै घरमा बसोबास गर्ने पौडेलकै मुख्य लगानी र योजनामा यो रकम चीन जान लागेको विभागको अनुसन्धानबाट खुलेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले काठमाडौंबाट यूरो र अमेरिकी डलर चीन लगेर उताबाट सुन लिएर आउने गरको निष्कर्ष निकालेको थियो ।

पौडेलले प्रयोग गर्ने मोबाइल र भरिया लामाको मोबाइलमा समेत सूचना आदानप्रदान भएको र फोन सम्पर्क भएकोसमेत भेटिएको थियो । प्रहरीले ११ बजे राति चालक कुसाङलाई पक्राउ गर्नुभन्दा केही समय पहिला मात्रै पौडेल र लामाबीच फोनमा कुराकानी भएको विवरण समेत भेटिएको थियो ।

पौडेलकै संलग्नतामा उक्त रकम ट्रकमा राखिएको सीसी क्यामेराको फुटेज समेत भेटिएको थियो । पौडेलले करिब साँझ साढे ६ बजेतिर उक्त रकम ट्रकमा राखेको फुटेजमा देखिएको थियो ।

यतिसम्म कि, आर्थिक अवस्था एकदमै न्यून रहेका लामालाई यो ट्रक नै तस्करी गर्नका लागि पौडेलले किनिदिएको हुनसक्ने आशंका गरिएको थियो ।

लामा यसअघि पनि १३ पुस २०७३ मा ७ किलो सुनसहित पक्राउ परेका थिए । यो प्रकरणमा उनी ५ वर्ष जेल बसेर २०७८ मा छुटेका थिए ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश तेजेन्द्र शर्मा सापकोटाको इजलासले २६ असार २०७४ मा ३ करोड १६ लाख २६ हजार रुपैयाँ जरिवाना र एक वर्ष कैदको फैसला सुनाएको थियो । तोकेको जरिबाना तिर्न नसेपछि उनले पाँच वर्ष जेल बस्नु परेको थियो ।

यिनै कमजोर आर्थिक अवस्था भएका लामालाई प्रयोग गरेर पौडेलले २५ करोडको भरिया बनाएको प्रमाण हुँदाहुँदै उनलाई भने अदालतले उन्मुक्ति दिएको छ ।

नगदसहित नियन्त्रणमा लिइएको ट्रक
लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?