+
+
Shares

चन्द्रकोटमा ठडियो आधुनिक भवन, अस्पतालको छैन टुंगो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते ७:५७

११ साउन, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा निर्माण सम्पन्न भएको आधारभूत अस्पताल एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको अस्पताल सञ्चालनमा नआउदा नागरिकले भोगेको समस्या उस्तै छ ।

गाउँपालिकाको वडानम्बर–४ शान्तिपुरमा निर्माण गरिएको १५ शैयाको अस्पताल भवन हालसम्म प्रयोगविहीन अवस्थामा रहँदै आएको छ ।

२०७८ साल असार २५ गते अस्पताल भवन निर्माणका लागि सम्झौता भएको थियो । भवनको तोकिएको समयमै २०८१ साल असारमा निर्माण कार्य सम्पन्न गरिएको थियो ।

निर्माणको जिम्मा लिएको तुलसीदत्त अर्जुन बिल्डर्स प्रालि, तम्घासले १२ करोड ७२ लाख रुपैयाँको लागतमा भवन निर्माण गरेको हो ।

निर्माण सम्पन्न भएको एक वर्ष पुगिसक्दा पनि अस्पताल सञ्चालन नहुँदा स्थानीय बासिन्दाहरू असन्तुष्ट छन् । स्थानीका अनुसार सामान्यदेखि आकस्मिक सेवा लिन पनि टाढासम्म धाउनुपर्ने बाध्यता छ ।

सेवा सञ्चालन नहुँदा करोडौं रुपैयाँ खर्चेर बनाइएको अस्पताल भवन खेर जाने अवस्थामा पुग्न थालेको गुल्मी उद्योग वाणिज्य संघ शान्तिपुर शाखा अध्यक्ष तेजेन्द्र थापाले बताए ।

गाउँमा अस्पताल बनाउने निर्णयले खुसी बनाए पनि समयमै सञ्चालनमा नआउँदा विभिन्न खाले प्रश्न जन्माएको उनको भनाइ छ ।

स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार भएपनि यसमा सरकारले ढिलाइ गर्नु गम्भीर लापरबाही भएको थापाको तर्क छ ।

अस्पताल सञ्चाालनमा नआउदा नागरिकले सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम तम्घास र पाल्पा, बुटवल जानुपर्ने बाध्यता रहेको छ ।

धेरै गाउँपालिकाहरुमा अस्पताल निर्माणका लागि अत्याधुनिक भवन निर्माण भए पनि सेवा सञ्चालनमा समस्या हुने गरेको छ ।

खासगरी ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मी जान नमान्ने भएकोले सेवा सञ्चालनमा समस्या आएको हो । यस्ता ठाउँमा विशेषज्ञ चिकित्सक जान मान्दैनन् ।

गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको चन्द्रकोट गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले बताए ।

कार्यपालिकाबाट अस्पताल सञ्चालनका लागि विभिन्न खाले प्रक्रिया अगाडि बढेको ज्ञवालीको भनाइ छ ।

पछिल्लो समय संघीय सरकारले आधारभूत अस्पताल पालिकाले चलाउने भनेकाले डाक्टरलगायत स्वास्थ्यकर्मीहरु राख्न पालिकासँग आन्तरिक स्रोत नहुँदा समस्या छ ।

अस्पताल सञ्चालन हुने टुंगो नभए पनि नवनिर्मित भवन भने लिफ्ट सिस्टमसँगै अत्याधुनिक छ ।

सरकारले २०७७ साल मंसिर १५ गते देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यास गरेको थियो ।

त्यसबेला शिलान्यास भएअनुसा गुल्मीमा गुल्मीदबार गाउँपालिकाले गत वैशाखदेखि अस्पताल सञ्चालनमा ल्याएको छ ।

पालिकाले एकजना चिकित्सकसहित नर्स, स्वास्थ्यकर्मीहरु राखेर अस्पताल सञ्चालनमा ल्याएको हो । तर, जिल्लाका अन्य स्थानीय तहमा भने अस्पताल निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ ।

जिल्लाका अन्य पालिकामा १५ शैय्याका र जिल्ला सदरमुकाम तम्घासमा पनि ५५ शैय्याको अत्याधुनिक भवन निर्माणको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?