
News Summary
Generated by OK AI. Editorially reviewed.- नेप्से परिसूचक आइतबार ३०१३ अंकसम्म पुगे पनि ३ हजार अंकमाथि बन्द हुन सकेन र बजारमा उतारचढाव देखियो।
- कारोबार रकम २६ अर्ब ५७ करोड पुगेको छ जुन गत वर्षको भदौ २ को उच्चतम कारोबारभन्दा कम हो।
- बजारमा पूँजीकरण ४९ खर्ब ७७ अर्ब पुगेको छ र हाइड्रोपावर समूह सूचकले नयाँ रेकर्ड ३९४१ अंक बनाएको छ।
११ साउन, काठमाडौं । एक वर्षअघि गत साउन ३० को उच्चतम बिन्दु ३ हजार आज आइतबार तोडिने धेरैको अनुमान थियो । कारोबार सुरु भएपछि मध्य समयसम्म बजारले त्यही संकेत दिइरहेको थियो ।
१२ : ५१ बजे नेप्से परिसूचक ३०१३ अंकसम्म पुगेको थियो । बजार बढ्दै जाँदा सुरुदेखि नै कारोबार रकमले पनि रफ्तार समातेको थियो । कारोबार रकमले साथ दिएकाले बजार बन्द हुँदा ३ हजार अंकमाथि नै हुने अनुमान रह्यो । बीचबीचमा उतारचढाव भए पनि अन्तिम केही मिनेटमा बजार बढ्ने अनुमान आइतबार गलत सावित भयो ।
बजारमा ३ हजार अंकको विशेष महत्व छ । गत वर्षको साउन ३० गते नेप्से ३ हजार अंकमै बन्द भएको थियो । त्यसपछि बजार घटेर अहिलेसम्म ३ हजार तल रहँदै आएको छ ।
त्यति मात्रै होइन, गत वर्ष त्यतिबेलै नेप्सेले अघिल्लो उच्चतम रेकर्ड ३१९८ को रेकर्ड तोड्ने चर्चा चुलिएको थियो । तर बजार त्यहीं ३ हजार अंकभन्दा माथि जान सकेन, एक वर्षसम्म त्योभन्दा मुनि रहिरह्यो ।
त्यसैले ३ हजार अंकलाई प्राविधिक जानकारले पनि ठूलो प्रतिरोधका रुपमा बुझेका छन् । गत वर्षजस्तै ३ हजार अंकबाट झरेको बजार फेरि एक वर्षसम्म ३ हजार मुनि नै अल्मलिने पो हो कि भन्ने लगानीकर्ताको डर आज देखियो ।
जसले गर्दा खरिद गर्नेले मागेको मूल्यमै बिक्रीकर्ताले बेचे र कारोबार रकम बढ्यो । बिहीबार १८ अर्ब ४९ करोडको कारोबार भएकोमा आज २६ अर्ब ५७ करोडको भयो ।
कारोबार रकम गत वर्षको भदौ २ यताकै उच्च हो । सो दिन २८ अर्ब ८३ करोडको कारोबार भएको थियो । गत वर्षको साउन ३० गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको कारोबार रेकर्ड छ ।
प्राविधिक जानकार सुवासचन्द्र ढुंगाना गत वर्ष ३ हजार अंकबाटै बजार झरेकाले लगानीकर्तामा अहिले मनोवैज्ञानिक प्रभाव परेको बताउँछन् ।
‘बजार प्रतिरोधकै विन्दुबाट घटेको हो, दैनिक क्यान्डिलस्टिक चार्टअनुसार बजार घटेर २८५० अंकसम्म झर्छ भने सामान्य हो’ ढुंगानाले भने ‘यदि त्योभन्दा धेरै घट्यो भने बजारको साइडवेज लामो हुन सक्छ ।’
विगत ८ दिनसम्म लगातार बढेको बजारमा अहिले देखिएको सुरुवाती करेक्सन सामान्य रहेको उनले बताए । ‘बजार लगातार बढ्ने कहिलै पनि हुँदैन, अहिले नाफा बुक भएको मात्रै हो, केही दिनमै फेरि गति लिने आशा छ’ उनले भने । कारोबार गर्नेलाई नाफा बुक गरेर फेरि घटेका बेला किन्ने मौका बजारले दिने उनले बताए ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट गत वर्ष र अहिले अर्थतन्त्रका सूचक, नीतिगत व्यवस्था तथा ब्याजदर समेत धेरै परिवर्तन भइसकेकाले त्यो बजारका सूचकमा देखिने बताउँछन् । गत वर्षको ३ हजारको अंक तोड्ने आधार नै यी परिवर्तित विषय रहेको उनको भनाइ छ ।
‘गत वर्षभन्दा अहिले नीतिगत सहजता धेरै छ, ब्याजदर पनि गत वर्षभन्दा झन् घटेको छ, अर्थतन्त्रका सूचक पनि थप मजबुत भएका छन्’ उनले भने ‘त्यसकारण बजारले सधैं उस्तै प्रवृत्ति देखाउँछ भन्नु गलत हो ।’
लामो समय बजार बढेर घट्नुलाई सामान्य रुपमा नै बुझ्ने गरिएको उनले बताए । गत वर्ष यहीं बेला दुई ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसको शक्तिशाली सरकार बन्नु तथा अर्थमन्त्रीप्रति पनि बजारले केही विश्वास गरेकाले नै ३ हजार विन्दु पुगेको उनले बताए ।
‘गत वर्ष राजनीतिक माहोलले बजारलाई बढी प्रभाव पारेर ३ हजार अंक पुर्यायो, तर अहिले मजबुत बन्दै गरेका सूचक, अति न्यून ब्याजदर, थुप्रिएको तरलता र सहज गराइएका नीतिगत व्यवस्थाले सपोर्ट गरेको छ, यी विषयले बजारलाई क्षणिक होइन, लामो प्रभाव पार्छ’ उनले भने ।
गत वर्ष ठूलो सेयर कर्जाको जोखिम भार १२५ प्रतिशत थियो, अहिले १०० प्रतिशत छ । व्यक्तिगत सेयर कर्जाको सीमा १५ करोड थियो, अहिले २५ करोड बनाइएको छ, सेयर कर्जा बढेको छ ।
वाणिज्य बैंकहरुको औसत आधार दर २०८१ जेठमा ८.१७ प्रतिशत रहेकोमा अहिले ६.०९ प्रतिशतमा झरेको छ । त्यस्तै गत वर्ष राष्ट्र बैंकसँग बैंकहरुको ३ खर्ब हाराहारी अधिक तरलता संकलन भएकोमा अहिले त्यो बढेर ६ खर्ब ७० अर्ब हाराहारीमा पुगेको छ ।
यीबाहेक अर्थतन्त्रका वाह्य र आन्तरिक सूचक समेत सुधारिएका छन् । जसले गर्दा तत्काल ब्याजदर बढ्ने आधार समेत कमजोर देखिएको छ । यसले बजारलाई नयाँ गति दिन सक्ने रानाभाट बताउँछन् ।
यो वर्ष धेरै नयाँ कम्पनी थपिइसकेका कारण पनि पहिलेको ३ हजारलाई अहिलेको ३ हजार अंक तुलना गर्नु जायज नहुने लगानीकर्ताको भनाइ छ । त्यसैले गत साउनको ३ हजार अंकभन्दा अहिलेको ३ हजार अंक सैद्धान्तिक रुपमा सानो मानिन्छ ।
बजारमा बनिसकेका छन् तीन नयाँ रेकर्ड
यो वर्ष बजारमा तीन वटा नयाँ रेकर्ड बनिसकेका छन् । पहिलो रेकर्ड हो बजारको पूँजीकरण । बिहीबार बजार पूँजीकरण ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । यो पूँजीकरण हालसम्मकै उच्च हो ।
त्यस्तै गत बुधबार अन्य समूहले नयाँ रेकर्ड बनाएको छ । यो समूह सूचक बुधबार हालसम्मकै उच्च २७२७ अंकमा पुग्यो ।
बिहीबार फेरि हाइड्रोपावर समूह सूचकले नयाँ रेकर्ड बनाएको छ । हाइड्रोपावर ३९४१ अंकमा पुगेको छ । हाइड्रोपावरमा नयाँ कम्पनी थपिने क्रम बढ्नु र लगानीकर्ता पनि आशावादी भएकाले यो सेक्टरले उचाइ लिएको छ । बैंकलाई तिर्नुपर्ने ब्याज घट्दा वित्तीय लागत घट्न गई कम्पनीहरुको नाफामा सुधार भइरहेको छ ।
चौथो त्रैमासमा हाइड्रोपावर कम्पनीको रिपोर्ट तुलनात्मक रुपमा राम्रो आउने लगानीकर्ताको विश्वासले यो समूह सूचकले नयाँ रेकर्ड बनाएको छ ।
प्रतिक्रिया 4