+
+
Shares

महालेखापरीक्षक रायाको आग्रह- राजनीतिक हस्तक्षेप हुँदैन, अडिटमा शंका नगर्नू

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १८:४९

११ साउन, काठमाडौं । महालेखापरीक्षक तोयम रायाले अडिट प्रक्रियामा राजनीतिक हस्तक्षेप हुने सांसदहरूको आशंका अस्वीकार गर्दै कार्यालय पूर्णत: स्वतन्त्र रहेको स्पष्ट पारेका छन् ।

आइतबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले महालेखापरीक्षकको कार्यालय राजनीतिक हस्तक्षेपमुक्त रहेको स्पष्ट पारेका हुन् ।

अडिट प्रक्रियामा निष्पक्षता कायम गर्न कार्यालयले कुनै राजनीतिक आग्रह वा दबाब नस्वीकार्ने उनको भनाइ छ ।

‘समपरीक्षण गर्दाखेरी राजनीतिक हस्तक्षेप भयो कि भन्ने कुरा उठेको छ यस्तो हुँदैन । होइन । किन होइन भने समपरीक्षण गर्दाखेरी महालेखापरीक्षकको कार्यालयमा ती कुनैपनि प्रतिवेदनहरू आउँदैनन्,’ उनले भने, ‘महालेखा परिक्षकलाई यो हटाउनुस् र यो राख्नुस् भन्ने कुरा हुँदैन । त्यसकारण यसमा शंका नगर्नको लागि म आग्रह गर्न चाहान्छु ।’

समितिका सांसदहरूले छलफलको बेला प्रश्न सोध्ने तर जवाफ नै नसुनि बैठकबाट बाहिरिने गरेको भन्दै असन्तुष्टि जनाए ।

वर्षमा एक पटक बोलाएर प्रश्नमाथि प्रश्न गर्ने तर उत्तर नसुन्ने प्रवृत्तिलाई पनि आफू बेरुजु नै भन्ने गरेको भन्दै उनले कटाक्ष गरे ।

‘हुन त हामी निजामति कर्मचारी एउटा जिल्लामा हुँदा एउटा पार्टीको हुन्छौं, अर्को जिल्लामा जाँदा अर्को पार्टीको हुन्छौं । अहिले नयाँ पार्टीहरूको बाँकी होला नभए सबैमा पुगिसक्या हुन्छन्,’ उनले भने ।

प्रत्येक पटक अडिट रिपोर्ट गएपछि तीन–तीन महिनामा छलफल गर्नुपर्ने उनको प्रस्ताव थियो ।

‘पोहोर साल जेठ १७ गते भएको छलफल अब एक वर्षपछि बोलाउनुहुन्छ । अब तीनपटक बोलाइसकेपछि त मेरो कार्यकाल नै सकिन्छ । अनि एकैपटक प्रश्न सोध्नुहुन्छ अनि हिँड्नुहुन्छ,’ उनको गुनासो थियो, ‘मेरो अनुभव के रह्यो भने धेरै प्रश्न सोध्नुभयो अनि मैले बोल्ने बेलामा हिँड्नुभयो । यहाँको चलन यस्तै हो भने त मेरो भन्नु केही छैन । नत्र हामी त यसलाई पनि बेरुजु भन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?